घरधनीले पसलको चावी खोसेको आरोप

0
523

झापा,बिगत तीन वर्षदेखि झापाको सुरुब्गामा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएका एक व्यवसायीको घरधनीले बद्नीयत पूर्ण ढंगले तालाचाबी कब्जा गरेको आरोप लागेको छ ।


समयमा भाडा नतिरेको आरोप लगाउँदै घरधनी रुद्रप्रसाद ढकालले आफूले सञ्चालन गरेको ओभी सुरुङ्गा सपिङ्ग कम्प्लेक्स नामक डिपार्टमेन्ट स्टोरको तालाचाबी कब्जा गरेको बिर्तामोडमा बुधवार पत्रकार सम्मेलन गर्दै व्यवसायी रुपन मण्डलले बताए । ढकालले गतसाउन २१ गतेदेखि सपिङ्ग कम्प्लेक्सको तालाचाबी कब्जा गरेर आफ्नो व्यवसाय नै धराप बनाएको मण्डलको आरोप छ । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी रुद्रप्रसाद ढकालको घरमा आफूले १० वर्षसम्म पसल सञ्चालन गर्ने सम्झौता गर्दै व्यवसाय शुरु गरेको उनको भनाइ छ ।

आफूले २०७६ साल असार ३१ गते घनीसँग दुई पक्षीय सम्झौता गरेको र मासिक ४८ हजार रुपैँया तिर्ने शर्त बमोजिम नियमित भाडा बुझाउँदै आएको सञ्चालक मण्डलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
आफूले मासिक भाडासँगै धरौटीबापत पनि ३६ महिनासम्ममा ११ लाख ९२ हजार घरधनीलाई दिइसकेको अवस्थामा गत असार र साउन दुई महिनाको घरभाडा बुझाउँन बाँकी रहँदा कम्प्लेक्सको चावी नै खोसेर पसल सञ्चालन गर्न नदिएको उनको आरोप छ ।

कामको सिलसिलामा आफू भारतको दिल्लीमा रहेका बेला ढकालले यस अघि पनि दुईपटकसम्म पसलको चावी कब्जा गर्दै बद्नीयत पूर्ण ढंगले दुःख दिने गरेको उनको भनाइ छ । घरधनीबाट आफूहरुले ११ लाख ९२ हजार रुपैयाँ पाउनुपर्ने अवस्थामा दुई महिनाको भाडा नबुझाएको भन्दै साउन २१ गते घरधनी रुद्रप्रसाद र उनका भाइ ओमप्रकाश ढकालले चावी खोसेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

घरधनीले नै आफूहरुलाई पटक–पटक दोषी देखाई व्यवसाय सञ्चालनमा अबरोध गर्दै आएको र लगानी समेत डुब्ने अवस्थामा पु¥याएकाले आवश्यक सहयोग पु¥याइदिन उनीहरुले अपिल गरेका छन् । ओभी सुरुङ्गा सपिङ्ग कम्प्लेक्स नामक डिपार्टमेन्ट स्टोर कनकाई–५का रुपन मण्डल र बेचन मण्डलले सञ्चालन गरेको बताइएको छ । चाबी दिन पटक–पटक आग्रह गर्दासमेत ढकालले चाबी नदिने आफैँ सटर खोलेर सामान बिक्री गरेर भएपनि भाडा असुल्ने धम्की समेत दिँदै आएको मण्डलको भनाइ छ ।

एक हप्तासम्ममा पनि घरधनीले चाबी नदिएपछि समस्या समाधानका लागि वडा कार्यालय, नगरपालिका, इलाका प्रहरी कार्यालय सुरुब्गामा गएर निवेदन दर्ता गराउन खोज्दासमेत निवेदन दर्ता नगरिदिँदा आफूहरु थप पीडित बनेको मण्डलको भनाइ छ । कनकाई उद्योग वाणिज्य संघले निवेदन
लिएको तर संघका पदाधिकारीहरुले छलफलमा घरधनीको पक्ष लिँदै सम्झौता विपरीत घरभाडा ८५ हजार भएको र सञ्चालकले बाँकी भाडा बुझाउनुपर्ने दबाब दिएको उनीहरुको गुनासो छ ।

तर, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी विमलीले आफूहरुले संघमा छलफल गराएको भएपनि कुरा नमिलेको बताएका छन् । घरधनीले व्यवसाय बन्द गर्नु आफैंमा गलत भएको तर भाडाको विषयमा कुरा नमिल्दा समस्या निम्तिएको उनको भनाइ छ । करिब ३ करोड ५० लाख लगानी रहेको कम्प्लेक्समा विभिन्न बैंक तथा वित्तीय संस्थाको २ करोड ऋण लगानी भएको सञ्चालक मण्डलले जानकारी दिए । लामो समयदेखि कम्प्लेक्स बन्द रहँदा आफूहरुले लाखौँ रुपैयाँ नोक्सान व्यहोर्नु परेको र बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलीका लागि पत्राचार गर्न थालेको उनीहरुको भनाइ छ ।

आफूहरुले हस्ताक्षर गरेका खाली चेक समेत पसलमा रहेको र चावी घरधनीसँगै भएकाले चेक दुरुपयोग हुन सक्ने भन्दै उनीहरुले चिन्ता समेत व्यक्त गरेका छन् । सञ्चालकद्वयले आफूहरुलाई आतंकित पार्दै आफ्नो र विभिन्न संघसंस्थाको लगानी डुब्ने गरी नोक्सान पु¥याउने कार्य ढकाल परिवारले गरेकोले उचित क्षतिपूर्तिसहित चार करोडभन्दा बढी घरधनीबाट क्षतिपूर्ति भराई पाउन र आफूहरु अन्यायमा परेकाले न्यायका लागि पहल गरिदिन सम्पूर्ण सञ्चारक्षेत्र, नागरिक समाज, आम उद्योगी व्यवसायी र सम्बन्धित निकायसँग मागसहितको विज्ञप्ति समेत जारी गरेका छन् । उनीहरुले आफूहरुको जीउज्यानमाथि समेत खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा सुरक्षाका लागि निवेदन समेत दिएका छन् ।

यता घरधनी रुद्रप्रसाद ढकालले आवेगमा आएर आफूले गल्ती गरेको स्वीकारेका छन् । उनले पसलमा ताला लगाउनु गल्ती भएको भन्दै उनीहरुले आएर आपसी समझदारीमा चावी मागेको खण्डमा चावी दिन तयार रहेको बताए । घरभाडा मौखिक रुपमा ८५ हजार कायम गरिए पनि बहाल कर कम होस् भन्ने उद्देश्यले ४८ हजारको मात्र लिखित सम्झौता गरेको बताएका छन् । तर, उनीहरुले विगत १ बर्षदेखि घरबहाल आफूलाई नवुझाएको र ६ महिनादेखि कम्प्लेक्स सञ्चालक सम्पर्क नआउने र कामदार मात्र पठाएर कम्प्लेक्स सञ्चालन गर्ने गरेकाले बाध्य भएर आफूले चाबी लिएर घर खाली गराइदिन भनेको ढकालको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here