पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित, शुक्रबारबाट झापामा सहजरुपमा पेट्रोलियम पदार्थ पाइने

0
329

झापा ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन स्थगित गरेको छ ।

देशभरका डिपोबाट पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएर आन्दोलनमा रहेको महासंघले नेपाल आयल निगमसँग तीन बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेको हो ।

बुधबार भएको सहमति र आउँदै गरेको ठूला चाडपर्वका कारण आम जनताको आवागमनलाई ध्यानमा राखेर आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष खगेश्वर बोहराले जानकारी दिए ।

नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र महासंघका अध्यक्ष बोहराले संयुक्त विज्ञप्ति जारी गर्दै सहमतिबारे जानकारी गराएका छन् ।

व्यवसायीको माग अनुरुपको भाडा वृद्धिसम्बन्धी सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी असोज ७ गतेसम्म निर्णय गरी लागु गर्ने सहमति भएको छ । त्यस्तै ढुवानी व्यवसायीको मागका सम्बन्धमा महासंघका प्रतिनिधिसहित सम्बन्धित संघ संस्था तथा संगठनका प्रतिनिधिहरुको उपस्थितिमा छलफल गरेर उचित सम्बोधन गर्ने र महासंघले ढुवानी सेवा नियमित गर्ने सहमति भएको हो ।

महासंघले लामो समयदेखि ढुवानी भाडामा समयसापेक्ष वृद्धि तथा समायोजनका लागि माग पेश गरेपनि निगमले सुनुवाइ नगरेको भन्दै पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएको थियो । असोज १ गतेबाट देशभरका सबै डिपोहरुमा लोड तथा अनलोड नगर्ने चेतावनी दिएको थियो ।

ढुवानी व्यवसायीको आन्दोलनका कारण झापासहित विभिन्न जिल्लामा पेट्रोलिमय पदार्थको अभाव शुरु भएको थियो । बुधबार झापाका अधिकांश पम्पहरुमा पेट्रोल भर्नेको लाइन थियो । यसैबीच पूर्वाञ्चल पेट्रोलियम ढुवानी संघका सल्लाहकार एवम् मेची पेट्रोलियम डिर्लस एसोशिएसनका अध्यक्ष नवीन कोइरालाले सरकार संगको सहमतिसंगै आन्दोलन फिर्ता भएको जानकारी दिए । उनले बिहीबारबाटै ट्यांकरहरु पेट्रोल लिन भारत जानेर शुक्रबारबाट भने पेट्रोलियम पदार्थको सहज आपूर्ती हुने बताए ।

मेची पेट्रोलियम डिलर्स एसोशिएसनका महासचिव विनोद बस्नेतले सरकार र पेट्रोलियम ढुवानी ब्यवसायी बीचको वार्ता मिलेको भन्दै अनावश्यक पेट्रोल नराख्न आग्रह गरेका छन् । उनले केही दिनमा नै सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध हुने भएकाले अनावश्यक भण्डारण नगर्न सबैसंग अनुरोध गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here