तेस्रो खुदुनावारी गोल्डकपमा सहभागी हुने टिमहरुको टुङ्गो लाग्यो

१ आश्विन २०७९, शनिबार मा प्रकाशित

अर्जुनधारा ।

आसन्न असोज ९ गतेदेखि हुने तेस्रो खुदुनावारी गोल्डकप प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता–२०७९मा सहभागी हुने टिमहरुको टुङ्गो लागेको छ ।

प्रतियोगिताको तयारी अन्र्तगत हालसम्मको प्रगति विवरण बारे सार्वजनिक गर्ने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता मूल आयोजक समारोह समितिका सचिव एवम् आयोजक च्यारीटी युथ क्लबका अध्यक्ष लीलाबल्लभ खतिवडाले उक्त टिमहरुको नाम घोषणा गरेका थिए ।

प्रतियोगितामा सहभागी हुने टिमहरुमा आयोजक च्यारीटी–जुनतारा महिला फुटबल क्लबसँगै रोयल फुटबल क्लब(झापा), ताप्लेजुङ–११(ताप्लेजुङ), इलाम–११(इलाम), पथरीशनिश्चरे फुटबल क्लब(मोरङ), सुनसरी महिला फुटबल संघ(सुनसरी), उदयपुर–११ (उदयपुर) र धनकुटा–११(धनकुटा) रहेका छन् ।

त्यसैगरी प्रतियोगिताको प्रथम नगद पुरस्कार एक लाख एक हजार एक सय ११ रुपैयाँ युवा व्यवसायी कमलप्रसाद सिटौलाले प्रायोजन गरेको सचिव खतिवडाले जानकारी दिए । त्यस्तै प्रतियोगिताका विजेता, उपविजेता, प्रतियोगिताका उत्कृष्ट खेलाडी, फाइनल खेलका उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताका शिल्डहरु प्रवासी अर्जुनधारा युवा बचत समूहका गणेश दुलालको पहलमा प्राप्त भएको बताइएको छ ।

महिला फुटबल खेलाडीहरुको प्रबद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको ७५ प्रतिशत कार्य सम्पन्न भएको समितिकी अध्यक्ष हिमा मगरले जानकारी दिइन् । उनी भन्छिन्–‘सबै प्रकारको सहयोगका लागि आवश्यक पहल र समन्वय गरेको हुँदा हाम्रो प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनेमा विश्वस्त छौं ।’

समितिकी अध्यक्ष मगरको अध्यक्षता र नगर कार्यपालिका सदस्य चन्द्रकुमारी तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा खेल संयोजक याम खवास, युवराज चापागाईंले प्रतियोगिता बारे जानकारी गराएका थिए । नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेल, हेमबहादुर कार्की, संयोग सुब्बालगायतले प्रतियोगिताका विषयमा आफ्नो धारणा गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव खतिवडाले गरेका थिए ।

अर्जुनधारा–३स्थित कैदले पर्यापर्यटन केन्द्रको प्राकृतिक खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेता र उपविजेताले क्रमश एक लाख एक हजार एक सय ११ रुपैयाँ र ५५ हजार पाँच सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस अघि असोज ७ गतेबाट सञ्चालन हुने भनिएको प्रतियोगिता केही कारणवश ९ गते बाट सुरु हने भएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here