संवैधानिक संस्कृतिको विकास गर

३ आश्विन २०७९, सोमबार मा प्रकाशित

संविधान अर्थात् देशको मूल कानून प्राप्त गरेको दिन आज । यही दिन वि.सं. २०७२ मा नेपालीले विगतको भन्दा भिन्न, शक्तिशाली, सार्वभौम जनताको अभिमतसहितको भनिएको संविधान लागू भएको थियो । देश र जनताको सेवाभन्दा व्यक्ति र दलको सेवालाई उच्च प्राथमिकता दिने राजनीतिक दलहरुको संकीर्ण स्वार्थले पटक–पटक संविधान मिचियो, आ–आफ्नो ढंगले व्याख्या गरियो । जसका कारण संविधानको मूल मर्म, मान्यता र भावना माथि खेलवाड भयो । कानूनी राज्य, आवधिक निर्वाचन, संघीयतासहितको गणतन्त्र वर्तमान संविधानका विशेषता हुन् । बहुमत प्राप्त राजनीतिक दलले सरकार बनाउने र चलाउने कुरा संविधानले सुनिश्चित गरेको छ । तर, त्यसरी गठन भएको सरकारले निर्धारित र जनादेश प्राप्त अवधि समेत उपयोग गर्न सकेन । झण्डै दुईतिहाईको सरकारले असमय संसद विघटन गरेर संविधानको भावना विपरीत अस्थिरताको बीजारोपण ग¥यो ।

संसद विघटनको निर्णयलाई सर्वोच्च अदालतले वदर गर्दै गठबन्धनको सरकार निर्माण हुनु जनमतको अपमान हो । प्रत्येक पछिल्ला संविधानले विगतका संविधानका त्रुटिहरुलाई सच्याएर, परिष्कृत र परिमार्जन गरेर ल्याइएको भए पनि तिनले अपेक्षित परिणाम दिन सकेनन् । यसो हुनुका पछि, बहुमत प्राप्त दल पूर्ण अवधि नटिक्नुका पछि सत्ताको खेल नै प्रमुख हो भन्ने अब सबैले बुझिसकेका छन् । देशका सबै ठूला दलहरुको प्रतिनिधिले हस्ताक्षर गरेर तयार गरेको संविधान जारी भएको यतिका वर्ष बितिसक्दा पनि तिनै दलहरुको अकर्मण्यताले संविधान माथि नै प्रश्न गर्न थालिएको छ । संविधानले कुनै दल, समुदाय र वर्गभन्दा पनि नेपाल र नेपाली भावनाको प्रतिनिधित्व गर्नुपर्छ । तर, व्यक्ति र दलीय स्वार्थको आधारमा संविधानलाई उपयोग गर्ने भएर संविधान अनुसार गठित पहिलो अवधि निरर्थक सरह बितेको छ ।

एउटै अवधिमा प्रतिपक्षद्वारा नौ महिनासम्म सर्वोच्च सार्वभौम संस्था संसद बन्धक बनाइयो । जनजिविकाका सवालहरुमा छलफल र निर्णय गर्नुपर्ने विषय अध्यादेशको जिम्मा लगाइयो । वर्तमानमा पनि गठबन्धन सरकारले संविधानलाई अनुकूलतामा प्रयोग र व्याख्या गरिरहेको छ । यही बीचमा स्वतन्त्र न्यायपालिका समेत राजनीतिक स्वार्थको दलदलमा फस्यो । प्रधान न्यायाधीशकै बिरुद्ध महाभियोग लगाएर त्यसको निरुपण नै नगरी संसद विघटन भयो । इमान्दारिता, संकल्प, निष्ठा र नियत राज्य सञ्चालकहरु सँगै रहेन । यस्तोमा संविधान दिवस जारी भएको आठौं वर्षमा प्रवेश गर्दैछ । आम जनताको परोक्ष सहभातिगामा निर्मित भनिएको संविधानको रक्षा गर्नु सरकार र त्यसका विभिन्न अङ्गमा रहेकाहरुको प्रमुख कर्तव्य हो । त्यसका लागि उनीहरुमा संविधानको अक्षरशः पालना गर्ने प्रतिबद्धतासहित संवैधानिक संस्कृतिको विकास गर्नुपर्छ । अनि मात्र संविधान र संविधान दिवसको औचित्य प्रमाणित गर्न सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here