संविधान मूल कानून हो

३ आश्विन २०७९, सोमबार मा प्रकाशित

राज्यसत्ता सञ्चालन गर्ने मुख्य आधार संविधान हो । संविधानले राज्यसत्ता तथा सरकारको स्वरुप संरचनागत अधिकार क्षेत्रको स्पष्ट प्रबन्ध गरेको हुन्छ । एउटा सबल र समुन्नत राज्य निर्माणमा संविधानको नै मार्गनिर्देशन रहने गर्दछ । संविधानमा जति उन्नत व्यवस्था गर्न सकिने छ त्यति नै राज्य र सरकारले सफलता प्राप्त गर्दै जानेछ । र, जनताले सरकार, सरकारी संयन्त्र तथा प्रणालीहरुबाट सुख–सुविधा र खुशी पाउने सम्भावना रहन्छ ।

जहाँ नागरिकको हकहित सुख–सुविधा भलाईलाई केन्द्रबिन्दु राखेर संविधान निर्माण गरिन्छ र सोही बमोजिम राज्यसत्ता सञ्चालन गरिन्छ । त्यही संविधान सर्वोत्कृष्ट सफल संविधान मानिन्छ । संविधान सैद्धान्तिक संरचनाबाट निर्मित हुन्छ । तत्काल कार्यान्वयनयोग्य नहुन सक्छ, तर, यसैबाट अन्य कारण तथा संरचनागत प्रबन्ध गरिने भएकोले संविधान मुलुकको दिशानिर्देशन गर्ने एकमात्र आधार हो ।

संविधान मूल कानून हो । संविधानसँग बाँझिने गरी बनेका अन्य कानूनहरु स्वतः निश्क्रिय हुन्छन् । संविधान विपरीत चल्ने राज्यसत्ताका अङ्गहरु कारवाहीको भागीदार हुन्छन् र संविधानतः बाझिने गरी गरेको कार्यहरु स्वतः बदरभागी हुने भएकाले संविधान कानूनी शासनको आधार हो । संविधान पारदर्शी शासन र सरकारको मेरुदण्ड हो ।

नेपालमा संविधान जारी गर्नेक्रम २००४ सालदेखिको अभ्यासलाई परिस्कृत गर्दै जनताको सहभागितामा संविधान जारी गर्न गठित संविधानसभाबाट पहिलो पटक २०७२ असोज ३ गते जारी भएको नेपालको संविधान नै वर्तमान संविधान हो । यो संविधान विगतको तुलनामा संघीयता, धर्म निरपेक्षता, गणतन्त्र, आमाको नाममा नागरिकता, बृहत मौलिक हक संवैधानिक अङ्गहरुमा थुप्रै आयोगहरुको प्रबन्ध, मन्त्रिपरिषदको सदस्य किटान, गैर आवासीय नेपालीहरुलाई नागरिकता दिने सम्बन्धी व्यवस्था राज्यका उपल्लो पदमा लैङ्गिक प्रतिनिधित्वको सुनिश्चितता देशमा लामो समयसम्म चलेको माओवादी सशस्त्र जनयुद्धको सम्बोधन गर्ने सन्दर्भमा जारी भएको जस्ता विशेषताहरु नवीतम् देखिन्छन् ।

जुन विगतभन्दा भिन्न देखिन्छन् । उल्लेखित नविनतम् व्यवस्थासहित जारी भएको नेपालको प्रस्तुत संविधान भारी मतका साथ विधिवत् जारी भएको भएता पनि तराई–मधेशका जनताहरुबाट जारी संविधानको विषयमा गरेका विरोध कार्यक्रमहरुले संविधान सर्वसम्मत बन्न नसकेको भने प्रष्ट देखिन्छ ।

नयाँ संविधानलाई सबै नेपाली जनताले मेरो संविधानको रुपमा अपनत्व गर्न नसकेबाट संविधान हारजीतको कारण हो कि जस्तो पनि देखिथ्यो । तर, संविधानले कोही कसैलाई काखा र पाखा नगर्ने साथै संविधानबाट सबै जनताले समान संरक्षण पाउनुपर्छ भन्ने मान्यतालाई स्वीकार गरेको देखिन्छ । विभिन्न राजनीतिक दल, समूह र नागरिकहरु बीच देखिने मत मतान्तरता आपसी छलफल गरी शीघ्र विवाद निरुपण गर्नैपर्ने देखिन्छ ।

देश र जनताको समृद्धिको लागि निकै लामो प्रक्रिया पूरा गरेर कठिनतापूवर्क जारी हुन सकेको नेपालको संविधानमा आवश्यक सहमति गरी सफल र गुणात्मक कार्यान्वयनमा जाँदै गरेको देखिएको छ । यसका लागि सबैको सकारात्मक सोचर प्रभावकारी भूमिका अनिवार्य देखिन्छ ।

अन्त्यमा नेपालको संविधानको पुर्नव्यवस्था नेपाली भाषा, अंग्रेजी भाषा र विश्लेषण, सारभूत विवेचनासहितको हाम्रो संविधान सबै पेशा, वर्ग, तह र तप्काका आमनेपाली जनमानसमा सदैव फूलिरहोस् भन्ने शुभेच्छाका साथ सबै नेपाली जनताहरुले हामी सबैले पालना गर्दै अगाडि बढ्नु छ । संविधान दिवसको सबैमा शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here