दुर्घटना न्यूनीकरण अभियान एक समीक्षा

३ आश्विन २०७९, सोमबार मा प्रकाशित

बर्षेनि सवारी र सडक दुर्घटनामा परेर हजारौं मानिस र पशुहरुले अकाल मृत्युवरण गर्नु परिरहेको छ । हजारौं मानिसहरु अपाङ्ग भएर जीवन बिताउन बाध्य हुनु परेको देखिन्छ । दुर्घटनाका कारणबाट हुने मृत्यु होस या अपाङ्गता, परिवारले अझ बढी दुःख–कष्ट भोग्नुपर्ने हुन्छ । छिमेकी र समाजलाई पनि यो पिडाले अछुतो राख्दैन । यसै बिषयलाई मनन गरेर बिर्तामोडका सचेत नागरिकहरुको एउटा भेला बस्यो ।

वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत र उपभोक्ताको हकहितका लागि क्रियाशिल सामाजिक अभियन्ता मदन गोपाल सुब्बाले भेलाको अगुवाई गर्नुभयो । भेलाले दुर्घटना न्युनीकरणका लागि निरन्तर रुपमा अभियान सञ्चालन गर्नुपर्ने निचोड निकाल्यो । फलस्वरुप २०७२ साल असोज २ गतेदेखि नागरिक स्तरमा गोपाल कुमार बस्नेत र मदन गोपाल सुब्बाको अगुवाईमा यो अभियान शुरु हुन पुग्यो । दुई बर्ष नागरिक स्तरबाट अभियानलाई निरन्तरता दिन सके पनि यसलाई संस्थागत रुपमा अघि बढाउनु पर्ने आवश्यकता देखियो । त्यसैले संस्थागत अगुवाई गर्न युवाहरुको संस्था वीरता जेसीजलाई जिम्मा दिने सोच बन्यो ।

सन् २०१७ का अध्यक्ष सञ्जु भारतीको कार्यकालदेखि वीरता जेसीज बिर्तामोडले दुर्घटना न्युनीकरण अभियानलाई विभिन्न चेतनामूलक कार्यक्रम गरेर निरन्तरता दिइरहेको छ । हरेक बर्षको असोज १ गते भगवान विश्वकर्मा बाबाको पूजा गर्ने प्रचलन छ । त्यसैले विश्वकर्मा पूजाको भोलि पल्टको दिन असोज २ गते यो अभियान चलाउँदा बढी सान्दर्भिक र प्रभावकारी हुने देखिएकोले यो मिति निश्चित गरिएको हो । यस बर्षका अध्यक्ष जेसी प्रविण खड्काले यो अभियानलाई अझ महत्वपूर्ण बनाउँदै असोज २ गतेका दिन नेपाल जेसीजको स्थापनाको दिन पनि भएकोले जेसीज सप्ताहको शुभारम्भ पनि गरेका छन् ।
दुर्घटना न्युनीकरण अभियान शुरु भएको सात बर्ष नाघ्यो । यो अभियान कति प्रभावकारी बन्न सक्यो भनेर बेला–बेलामा समिक्षा गर्नु उपयुक्त हुन्छ । ट्राफिक प्रमुख अशोक जबेगुले प्रस्तुत गर्नुभएको तथ्याङ्कलाई सुन्दा दुर्घटना बढेको देखिन्छ । जरीवाना गरेको रकम बढ्नु भनेको ट्राफिक नियम उलङ्घन बढ्नु हो भन्ने बुझिन्छ । यसैले यो अभियानको प्रभावकारिता बढाउन बर्षमा एकटक कार्यक्रम गरेर मात्र नपुग्ने रहेछ भन्ने देखियो । यो अभियानलाई बर्षैभरि ट्राफिक सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमहरु गरी सञ्चालन गर्नुपर्ने देखिन्छ । त्यसैले यो अभियानलाई वीरता जेसीजले छुट्टै एक दिर्घकालीन योजनामा राख्न जरुरी छ । निश्चित अवधि तोकेर जेसीजको नेतृत्वमा एक छुट्टै समिति निर्माण गर्नु उपयुक्त हुन्छ ।

उक्त समितिमा ट्राफिक प्रहरी, यातायात सम्बद्ध संघ–संस्थाहरुमा क्रियाशिल ऊर्जाशील व्यक्तित्वका साथै सवारी दुर्घटना न्युनीकरण सम्बन्धमा विचार दिन सक्ने सक्षम युवाहरुलाई समेट्न जरुरी हुन्छ । यो समस्या बिर्तामोडको मात्र होइन । न यसको क्षेत्र सिमित छ । न निश्चित वर्ग । सबैको साझा सरोकार यसमा रहन्छ । त्यसैले यसलाई व्यापकता प्रदान गर्न पनि फराकिलो समिति बनाउनुपर्ने हुन्छ । त्यसो भएको खण्डमा जेसीजको अगुवाईमा सबैको सहभागिता रहनेछ । दुर्घटना न्युनीकरण अभियानका लागि बर्षभरी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहज पनि हुनेछ । अनि मात्र सबैले यो अभियानको महत्व र आवश्यकता बारे जानकारी पनि पाउने छन् । वास्तवमा यो अभियानको महत्व त्यस बेलासम्म रहने छ । जबसम्म सवारीचालकदेखि यात्रु र सडक उपभोक्तामा ट्राफिक ज्ञान सम्बन्धमा पर्याप्त चेतना जागेको देखिँदैन ।

सवारी दुर्घटना न्युनीकरणका लागि मुख्यरुपमा दुईवटा पक्षको सचेतता र सतर्कताको आवश्यक्ता देखिन्छ । एउटा ट्राफिक नियम बनाउने र पालना गर्न लगाउने र अर्को सडक प्रयोग गर्ने सम्पूर्ण सडक उपभोक्ताहरु । ट्राफिक प्रहरी र यातायात कार्यलयले ट्राफिक नियम समयानुकूल निर्माण, परिमार्जन, कार्यान्वयन र अनुगमन गर्नुपर्ने हुन्छ । त्यसैले ट्राफिक प्रहरीका लागि छुट्टै सेल निर्माण गर्नु उपयुक्त हुन्छ । जहाँ कन्सटेवलदेखि उच्च पदस्थ हुने व्यक्ति ट्राफिक प्रहरी मात्र होस । अहिलेको जस्तो जिल्ला प्रहरी कार्यालयबाट ट्राफिकमा वा ट्राफिकबाट इलाकामा जाने परम्पराले ट्राफिक प्रहरीले दीर्घकालीन योजना र लक्ष्य बनाएर काम गर्न कठिन हुन्छ । अनी हामी सडक उपभोक्ताहरुले पनि ट्राफिक नियमलाई हृदयदेखि नै यो हाम्रो लागि हो भनेर पालना गर्न जरुरी छ । दुर्घटना न्युनीकरणका लागि पहिलो शर्त नै सडक प्रयोग गर्ने सबैले ट्राफिक नियमबारे जानकारी र पालना गर्न जरुरी हुन्छ ।

हामी कहाँ ट्राफिक नियम केबल ठूला सवारी चालकले मात्र पालना गर्नुपर्ने भन्ने भ्रम छ । पैदलयात्री, साइकल, ठेला, ई–रिक्सा, अटो रिक्सा, मोटरसाइकल, स्कुटी चालकहरु देखि सडक उपभोग गर्ने सबैले ट्राफिक नियमको पालना कमै गरेको पाइन्छ । अहिले त ठूलोलाई मात्र दोष देख्ने अघोषित कानून छ । ठूलो सानो, निजी वा भाडाको, साइकल चालक केही नभनी अपराध अनुसार दण्ड–सजाय दिने गर्नुपर्ने हुन्छ । सबैलाई अनुशासनको दायरामा ल्याउन जरुरी हुन्छ । अटेर गर्नेलाई पैसाको जरिवाना मात्र पर्याप्त हुँदैन । लाइसेन्स केही समयको लागि ससपेन्डदेखि रद्दसम्म गर्न तयार हुनुपर्छ । छोटो समयको लागि जेल सजाय पनि दिनुपर्छ ।

दुर्घटना न्युनीकरण अभियानमा आफ्नो विचार राख्ने क्रममा बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र संग्रौलाले केही सुझावहरु दिनुभएको छ– ‘बाटोलाई बसपार्कको रुपमा प्रयोग गर्न रोक्नुपर्ने । तीन–चार मिनेटका लागि बस रोकिने ठाउँ मात्र बाटोमा बस स्टेण्ड हुनुपर्ने । निजी सवारीसाधनहरु भाडामा प्रयोग आफैंमा गलत छ । त्यसमा पनि बजारभरी पार्क गरेर सडक ओगट्नु पूर्ण गलत छ । १०–१५ मिनेट दुरी बसोबास गर्ने व्यापारीले दिनभरी दोकान अगाडि आफ्नो साधन नराख्नु राम्रो ।’ भन्ने उहाँको सुझाव छ । वास्तवमा यती गर्न सकेमात्र सडक सहज बन्ने थियो । यी सबै हाम्रा गतिविधि चेतनाको अभाव साथै हामीमा रहेको हेपाहा दलाहा प्रवृत्तिको कारणले पनि हो । यसैले दुर्घटना न्युनीकरण अभियान बिद्यालय, कलेज, गाउँघर र टोल टोलमा पु¥याउन जरुरी छ ।

किनकि आजका लागि मात्र होइन भोलिका सडक उपभोक्ता र सवारी चालकहरु पनि यिनै ठाउँबाट उत्पादन हुने हुन् । विज्ञहरुको सहयोगमा बिभिन्न श्रव्य–दृश्य, पर्चा पम्लेट र बिभिन्न चेतनामूलक सामग्रीदेखि सडक नाटकसम्म आयोजना गरेर ट्राफिक नियमबारे सचेतना जगाउने काम यो अभियानले गर्नुपर्ने हुन्छ । साथसाथै कति सचेत भए भनेर अनुगमनको काम पनि गर्नुपर्छ । जस्तो कि ट्राफिक नियम पालना गर्न चालक वा पैदलयात्री कति जानकार वा सचेत छन् भनेर प्रश्न उत्तर कार्यक्रम पनि सञ्चालन गर्नु पर्दछ । बिद्यालयमा ट्राफिक नियम सम्बन्धमा हाजिरीजवाफ प्रतियोगिता नै सञ्चालन गर्नुपर्छ । यसबाट चालकहरुदेखि सडक उपभोग गर्ने सबैलाई मनोवैज्ञानिक प्रभाव पर्नेछ । र उनीहरु ट्राफिक नियम पालना गर्न बाध्य हुने छन् । यदि सडक उपभोक्ता सबैजनामा ट्राफिक नियम जान्नुपर्नेका साथै अनिवार्य पालना गर्नुपर्छ भन्ने सोचको विकास भयो र ट्राफिक प्रहरीले पनि कडाईका साथ पालना गराउन सकेमा दुर्घटना आफैं न्युनीकरण हुन पुग्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here