कानेपोखरीका छ परिवारहरुलाई घर हस्तान्तरण

0
277

पथरीशनिश्चरे,

‘जनता आवास कार्यक्रम’ अन्तर्गत मोरङ कानेपोखरी गाउँपालिकाले घरविहिन ६ परिवारहरुलाई सोमबार आवास (घर) हस्तान्तरण गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा कानेपोखरी गाउँपलिका वडा नं. २ को वडा कार्यालय पश्चिम प्रधान टोलमा रुद्रबहादुर बस्नेतको १ बिग्गा १ कट्ठा १२ धुर जग्गा ५४ लाख रुपैयाँमा गाउँपालिकाले खरिद गरेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को बजेटबाट निर्माण भएको पक्की सामुहिक आवासको प्रत्येक घरमा दुईवटा कोठा सहित चर्पी र ट्युबवेल र बिजुलीको व्यवस्था रहेको छ।

संविधान दिवसको अवसर पारेर ती घरहरु कानेपोखरी- २ का बखारु राजवंशी, चेतबहादुर विष्ट, पलान ऋषिदेव र पाण्डु ऋषिदेव, ५ नं. वडाकी कोपिला सार्की र डम्बर बहादुर माझी सहित कूल ६ जना विपन्नलाई गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, निर्वतमान अध्यक्ष ताराबहादुर काफ्ले लगायतले चावी हस्तान्तरण गरेका थिए ।

प्रत्येक घर निर्माणका लागि ५ लाख १० हजार ४ सय ५ रुपैयाँ खर्च हुँदा जम्मा ६ वटा घरको भ्याट बाहेक ३० लाख ६२ हजार ४ सय ३० रुपैयाँ खर्च भएको पालिका अध्यक्ष इङ्नामले बताइन् ।

हस्तान्तरण कार्यक्रममा वडाअध्यक्षहरु खड्क बस्नेत, मोहनप्रसाद अधिकारी, सुशील बुढाथोकी, चरण गुरुङ लगायतको समेत उपस्थिति रहेको थियो ।

सोहि स्थलमा पालिकाले संविधान दिवसमा उपस्थित व्यक्तित्वहरुले नेपालको नक्सा बनाएर दीपप्रज्ज्वलन गरि भव्यताका साथ संविधान दिवस मनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here