स्वाथ्यका लागि हानिकारक ‘जंक फुड’

५ आश्विन २०७९, बुधबार मा प्रकाशित

जंक फुड भन्नाले ती खाद्यपदार्थ अर्थात् सामग्रीलाई बुझाउँछ जसमा प्रचुर मात्रामा चिनी तथा चिल्लो पदार्थ हुन्छ । यस्ता खाद्य सामाग्रीमा अन्य पोषकतत्व जस्तै प्रोटिन, भिटामिन, खनिज तथा रेसाको उपलब्धता न्यून हुने गर्दछ । उदाहरणका लागि तयारी चाउचाउ, बिस्कुट, चिप्स, चकलेट, डोनट इत्यादि हुन् ।

नेपालमा गरिएको विभिन्न अध्ययन र सर्वेक्षणहरुमा नेपाली बालबालिका तथा किशोरकिशोरीहरुले विभिन्न कारणले जंक फुडको सेवन अत्यधिक गर्ने गरेको पाइन्छ । जंक फुड सेवन गर्नुको प्रमुख कारणहरुमा स्वादको लागि गरिएको पाइएको छ भने अधिकतर बालबालिकाहरुलाई यसको नियमित सेवनले निम्त्याउने असरहरु बारे जानकारी नभएको पाइएको छ ।

जंक फुड सेवन गर्दा हाम्रो मस्तिष्कले डोपामाइन नामक एउटा हर्मोन उत्पादन गर्दछ जसले हामीलाई आनन्दको अनुभूति दिन्छ । कालान्तरमा यसैले गर्दा व्यक्तिलाई त्यो वस्तुको लत लाग्दछ र उसले त्यो वस्तुको सेवन नियमित रुपमा गर्न शुरु गर्दछ ।

विश्व स्वास्थ्य सगंठन WHO का अनुसार १९ बर्षसम्म हाम्रो मस्तिष्कको विकास भइरहेको हुनाले त्यसको निम्ति उपयुक्त पोषणको अत्यन्तै आवश्यकता पर्दछ । जंक फुडको सेवनले गर्दा बालबालिकाहरु उचित पोषणबाट वञ्चित हुने गर्दछन् ।

जंक फुडले बालबालिकाको स्वास्थ्य तथा विकासमा पार्ने असरहरु मध्ये निम्न असरहरु प्रमुख मानिएको छ :

– जंगक फुडमा भएको रसायन तथा रंगहरुले हाम्रो पाचनक्रियामा नकारात्मक असरहरु पार्दछ ।

– नेपालमा गरिएको एउटा अध्ययन अनुसार (द नर्जल अफ न्यूट्रिशन) जंक फुडले नेपाली बालबालिकाहरुको शारीरिक विकासमा नकारात्मक असर पारेको छ । जसले गर्दा उनीहरु होचा हुँदै गएका छन् ।

– जंक फुडमा भएको भिटामिन्स तथा मिनिरल्स विशेष आइरनको कमीले गर्दा बालबालिकामा रक्तअल्पता Anemia को समस्या अत्यधिक संख्यामा पाइएको छ ।

– जंक फुडको अत्यधिक तथा नियमित सेवनले गर्दा सानै उमेरमा पोषणसँग सम्बन्धित दीर्घकालीन रोगहरु जस्तैः मधुमेह, उच्च रक्तचाप र मोटोपनाको जोखिम बढ्ने गर्दछ ।

हाम्रो नेपाली समाजमा परम्परागत रुपमा सेवन गरिने खाद्य सामग्रीहरुमा प्रचुर मात्रामा पोषकतत्व हुने गर्दछन् । जस्तैः गुन्द्रुकमा प्रचूर मात्रामा मिनिरल्स, भिटामिन्स हुने गर्दछ । त्यस्तै गेडागुडी र क्वाँटीमा प्रचुर मात्रामा प्रोटिन तथा भिटामिन्स हुने गर्दछ । दही, ध्यू लगायत अन्य दूग्धजन्य पर्दाथमा प्रचुर मात्रामा पोषकतत्वहरु पाइन्छ । हाम्रो करेसाबारीमा पाइने लट्टे साग, रायो तथा तोरी साग लगायत लौका, फर्सी जस्ता तरकारीहरुका प्रचुरमात्रामा पोषकतत्व पाइन्छ ।

त्यसैकारण, विज्ञापनको पछि र रंगीचंगी खोल भएका जंक फुडको सेवनलाई न्यून गरेर आजैदेखि हाम्रा वरपर रहेका खाद्यसामग्री, फलफुल तथा सागसब्जीको सेवनलाई बढाएर एउटा स्वस्थ्य जीवनतर्फ अग्रसर भएकै बेस पो हो कि ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here