कचनकवलमा सर्पदंशबाट थप एक जनाको मृत्यु

५ आश्विन २०७९, बुधबार मा प्रकाशित

झापा । 

दक्षिणी झापाको कचनकवलमा विषालु सर्पले डसेर एक जनाको ज्यान गएको छ ।

कचनकवल गाउँपालिका–६ बनियानीस्थित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा सोही गाउँपालिका–३ डाकुपाडा निवासी ६५ वर्षीया वृद्धा महिला कालोघात्मी राजवंशीको ज्यान गएको हो ।

गोमन सर्पले उनको देब्रे खुट्टामा डसेको थियो । सर्पले डसेर घाइते भएकी राजवंशीलाई छिमेकीले करिब ३ बजेर १० मिनेटमा सर्पदंश उपचार केन्द्र ल्याएका थिए ।

उपचार केन्द्र ल्याई पु¥याउँदासम्म उनको शरीरभरी विष फैलिसकेको थियो । उनलाई १० भाइल एन्टी स्नेक भेनम दिए पनि स्वास्थ्यमा खासै सुधार नआएपछि भेन्टिलेटर नभएकोले अन्यत्र रेफर गर्नु परेको केन्द्रका प्राविधिक ह्रदय साहले जानकारी दिए ।

‘बिरामीलाई गोमन सर्पले डसेको हो’– प्राविधिक साहले भने– ‘गोमनले डसेको एक घण्टाभित्रै बिरामीलाई उपचार केन्द्रमा ल्याइपु¥याइ सक्नुपर्ने हुन्छ, उनलाई ल्याउन ढिला भयो ।’ त्यहाँबाट रेफर गरेकी राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

एकल महिला समेत रहेकी राजवंशी घरमा एक्लै थिइन् । उनलाई कति बेला, कहाँ सर्पले डसेको छिमेकीलाई पनि थाह छैन । छिमेकीहरू भन्छन्– ‘उनले समयमै हामीलाई जानकारी गराउँदा ज्यान बचाउन सकिन्थ्यो ।’

उनका छोरा विदेशमा छन् भने बुहारी चिया बगानमा काम गर्न गएकी थिइन् । यसअघि उपचार केन्द्रमा भेन्टिलेटर अभाव हुँदा गत भदौ ४ गते पनि गोमन सर्पले डस्दा कचनकवल–५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडूको ज्यान गएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here