झापा २ कसैलाई सहज छैन

६ आश्विन २०७९, बिहीबार मा प्रकाशित

झापा ।

झापा क्षेत्र नम्वर २मा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । मंसीर ४मा हुने प्रतिनिधिसभाको निर्बाचनका लागि बलियो उम्मेदवारका रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ‘सेतो बाघ’ ले परिचित केशवकुमार बुढाथोकी अग्रपंक्तिमा छन् ।

एमालेबाट देवराज घिमिरे र अग्नि खरेल टिकटका लागि रस्साकस्सी गरिरहेका छन् भने दौडमा पवित्रा निरौला खरेल, बिर्तामोडका निवर्तमान मेयर धु्रवकुमार शिवाकोटी पनि छन् ।

कांग्रेस नेतृ सरिता प्रसाईले मैदान छाडेपछि पार्र्टीभित्र बुढाथोकी बलियो उम्मेदवारको रुपमा देखा परेका हुन् । निर्बाचनको मिति नजिकिँदै गर्दा टिकटको दौडधुप चलिरहेका बेला प्रसाई समानुपातिकको सूचीमा अटाएपछि बुढाथोकीलाई थप सहज भएको हो । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीचमा अहिले टिकटको रस्साकसी चलिरहेको छ । यस क्रममा बुढाथोकीलाई सहज पार्दै प्रसाईले मैदान खाली गरेपछि टिकट लगभग बुढाथोकीको हातमा पर्ने पक्का भएको कांग्रेसका एक पदाधिकारीले बताए ।

त्यसो त टिकटको लाइनमा सुधिरकुमार शिवाकोटी, छत्रबहादुर गिरी र जलकुमार गुरुङ पनि छन् । तर, त्यस मध्ये बलिया उम्मेदवारका रुपमा पार्टीले बुढाथोकीलाई अघि सारिरहेको बुझिएको छ ।

पूर्व सामान्य प्रशासनमन्त्री समेत रहेका पार्टीका केन्द्रीय सदस्य बुढाथोकी यस अघि झापा क्षेत्र नम्वर ४बाट निर्बाचित हुँदै मन्त्री बनेका थिए । उनी त्यस क्षेत्रका लागि लोकप्रिय नेताका रुपमा परिचित छन् ।

अघिल्लो निर्बाचनमा झापा क्षेत्र नम्वर २मा उद्धव थापा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिए । उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेतृ पवित्रा निरौला खरेलसँग पराजित बनेका थिए । अघिल्लो निर्वाचनमा एमाले नेतृ निरौलाले ४५ हजार ८ सय १७ मत प्राप्त गर्दा कांग्रेसका नेता थापाले ३२ हजार ५० मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका थापाले यसपटक प्रत्यक्षतर्फ उठ्ने इच्छा नराखेपछि नेपाली कांग्रेसले बुढाथोकीलाई टिकट दिन लागेको हो । प्रदेश सभापति थापा भने समानुपतिक सूचीमा रहेका छन् ।

उता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा पनि अझै टिकटको छिनोफानो हुन सकेको छैन । एमालेको सिफारिसमा पहिचो सूचीमा परेका घिमिरे पार्टीभित्र शालिन र भद्र नेताका रुपमा परिचित छन् । घिमिरेलाई प्रदेश सांसद बनाएर मुख्यमन्त्रीको दाबेदार बनाउने चर्चा पार्टीभित्र चलिरहेका बेला प्रतिनिधिसभाको निर्वाचनका लागि आफूलाई बलियो उम्मेदवारको रुपमा उभ्याएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि खरेल महान्याधिवक्ताबाट राजीनामा दिएर निर्वाचनको तयारीका लागि झापा आएका थिए । भूगोलको राजनीतिमा केन्द्रित रहने भन्दै झापा इञ्चार्जको जिम्मेवारी लिएका खरेल केही समयदेखि बिर्तामोडमा रहेर राजनीति गरिरहेका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका घिमिरे पार्टीको प्रदेश कमिटी अध्यक्ष समेत हुन् । नेकपा (एमाले) भित्र टिकट पाउने सम्भावना घिमिरेकै बलियो रहेको बताइएको छ ।

यता सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि बुढाथोकीलाई मोटामोटी उम्मेदवार तयार गरे पनि प्रदेशसभाका लागि तालमेल भइरहेको बताइएको छ । झापा क्षेत्र नम्वर २लाई नेकपा (एमाले)को पकड क्षेत्रका रुपमा हेरिने गरिएको छ । तर, २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुधिरकुमार शिवाकोटीले एमाले नेतृ पवित्रा निरौला खरेललाई पराजीत गरेका थिए । तर, २०७४ मा भएको प्रतिनिधिसभाको निर्बाचनमा निरौलाले उद्धव थापा (हाल– नेपाली कांग्रेस प्रदेश सभापति ) लाई पराजीत गरेकी थिइन् ।

प्रतिनिधिसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन दल तालमेलको कसरतमा छन् । प्रदेश र प्रतिनिधिसभाको निर्बाचन एकैपटक मंसीर ४मा हुने भएपछि सत्तारुढ दल नेपाली कांग्रेसका नेता सिट बाँडफाँडमा जुटेका छन् ।

यता नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) एक्लै मैदानमा उत्रने तयारी गरिरहेको छ । त्यसो त झापामा तेस्रो शक्तिका रुपमा देखिएको राप्रपा समेत अवसरको खोजीमा छ । झापा क्षेत्र नम्वर २मा राप्रपाले जो संग गठबन्धन ग¥यो, उसैको जित निश्चित प्रायः छ । किनकि झापा २मा राप्रपाको पनि बलियो संगठन रहेको छ ।

तर, यसपटक प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नम्वर २मा सत्तारुढ गठबन्धन दल र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच कडा प्रतिष्पर्धा निश्चित छ । साविक मेची अञ्चलको व्यापारिक केन्द्र तथा प्रायः सबै राजनीतिक दलको जिल्ला कार्यालय रहेको झापा क्षेत्र नम्बर २लाई निक्कै महत्वका साथ हेरिँदै आएको छ । यसरी हेर्दा झापा २ कांग्रेस–एमाले दुबैलाई सहज छैन । उम्मेदवारको व्यक्तित्व अनुसार कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

झापा क्षेत्र नम्वर २मा २५ वटा वडा रहेका छन् । जसमा बुद्धशान्ति गाउँपालिकाको वडा नं. १, २ र ३ नम्वर वडा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको वडा नम्बर १देखि ९ नम्वर वडा र कनकाई नगरपालिकाको वडा नं. ८ र ९ पर्छन् ।

स्थानीय तहको दोस्रो निर्वाचनलाई आधारमान्दा झापा २ मा नेकपा (एमाले) नै अगाडि छ । २५ वटा वडामा १३ वटा बडा नेकपा एमाले एक्लैले जितेको छ भने ११ वटा वडा नेपाली कांग्रेस र राप्रपाले एउटा वडा जितेको छ । झापा २मा नेकपा माओवादी केन्द्र र नेकपा एसले यहाँ एउटा पनि वडामा जित हासिल गर्न सकेनन् । स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ले झापा क्षेत्र नम्वर २ बाट ३६ हजार ४ सय ८६ मत ल्याएको छ भने गठबन्धन दल नेपाली कांग्रेसले ३२ हजार ६ सय ७२ मत प्राप्त गरेको छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ हजार ५ सय ११ र चारवटा वडामा उम्मेदवारी दिएको माओवादी केन्द्रले २ हजार ४ सय ३७ मत ल्याएको छ । सबै जोड्दा सत्तारुढ गठबन्धनका उम्मेदवारको पक्षमा झापा २मा ३५ हजार १०९ मत, नेकपा एमालेको पक्षमा ३६ हजार ४ सय ८६ र राप्रपाको पक्षमा ९ हजार ५ सय ११ मत प्राप्त छ ।

सांगठानिक हिसावले झापा क्षेत्र नम्वर २मा नेपाली कांग्रेसको वर्चश्व नै देखिन्छ । तर, पार्टीभित्रको आन्तरिक कलहका कारण नेपाली कांग्रेसको मत एकढिक्का नहुँदा परिणाम आफ्नो पक्षमा नपर्ने गरेको पार्टीका शीर्ष नेताहरुले नै बताउँदै आएका छन् । झापा क्षेत्र नम्वर २मा कूल मतदाताको संख्या एक लाख ३४ हजार ९१ रहेको छ । जसमध्ये क्षेत्र नम्वर २ को (१)मा ५९ हजार ३ सय ३ जना मतदाता रहेका छन् भने क्षेत्र नम्बर २को (२) मा ७४ हजार ७ सय ८७ जना मतदाता रहेका छन् ।

झापा क्षेत्र नं. २को १मा पुरुष मतदाताको संख्या ३९ हजार पाँच सय ३२ रहेको छ भने महिला मतदाताको संख्या २९ हजार सात सय ७० र अन्य दुई गरी ५९ हजार तीन सय चार जना मतदाता छन् । यो निर्वाचन क्षेत्रमा १९ मतदानस्थल र मतदात केन्द्र ६६ वटा रहेका छन् ।

निर्वाचन क्षेत्र २को २मा पुरुष मतदाताको संख्या ३७ हजार एक सय २५ र महिला मतदाताको संख्या ३७ हजार ६ सय ५९ तथा अन्य मतदाताको संख्या ३ गरी ७४ हजार सात सय ८७ रहेका छ । यहाँ मतदानस्थल ३० र मतदान केन्द्र ८६ रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here