पुल निर्माणमा ढिलाइः जनतालाई सास्ती कहिलेसम्म ?

६ आश्विन २०७९, बिहीबार मा प्रकाशित

छविराज ढकाल,

पथरीशनिश्चरे । मोरङको निर्वाचन क्षेत्र नं २ मा पर्ने हुलाकी राजमार्ग अन्तर्गतको रतुवा नदी माथि पक्की पुल निर्माण सम्पन्न नहुँदा त्यहाँका जनताले सास्ती भोग्नुपरेको छ ।

विगत ७/८ वर्ष शुरू भएको भारतको विशेष सहयोगमा निर्माणाधीन हुलाकी राजमार्ग मोरङको विराटनगर महानगरपालिकादेखि रतुवामाई नगरपालिकाको आमवाडी, झापाको गौरीगञ्ज हुँदै भद्रपुरसम्मको सडकखण्डमा निर्माण कार्य सुस्तगतिमा भइरहेको छ ।

विशेष गरेर मोरङको रतुवामाई नगरपालिकाको दक्षिण भेगका जनता र झापा जिल्लाका जनतालाई प्रत्यक्ष राहत र सुविधा पुग्ने उक्त सडकखण्डको निर्माण गर्ने भन्दै पटक–पटकका निर्वाचनमा राजनीतिक दलका नेताहरुले भोट बैंकको रूपमा लिने गरेका र जित्दै पनि आएका छन् । वर्तमान प्रतिनिधि सभाका सांसद डा. मिनेन्द्र रिजालले जितेको निर्वाचन क्षेत्र नं. २ हो ।

हाल सुस्तगतिमा निर्माण कार्य भइरहेकोले स्थानीय जनतामा आशा र उत्साह घटेको छ । रतुवामाई–५ आमवाडी बस्ने सिटी सफारी युवा व्यवसायी रमेशकुमार गौलीले भने– यतिका वर्ष बिते तर हुलाकी रोड पनि बनेन । भारतको सिक्टी बजार जान बाध्य छौँ । १५ किलोमिटर टाढाको उर्लाबारी बजार जानुभन्दा दक्षिणमा रहेको भारतीय बजार नै नजिक पर्ने, सजिलो र सस्तो मूल्यमा दशैँ–तिहारका लागि चाहिने आवश्यक सामानहरू किन्न पाइने उनले बताए । आमवाडीदेखि विराटनगर रंगेली बजार जान ३५ किलोमिटर पश्चिमको कच्ची सडक भएकाले यात्रामा कठिनाइ हुने उनको भनाइ थियो ।

झापाको बिर्तामोड, भद्रपुर, चन्द्रगढी जानलाई १५ किलोमिटर उत्तरमा पर्ने उर्लाबारी नगरपालिका छिचोल्दै हिँड्न रतुवामाई नगरपालिका वडा नं. १० सोमबारे र वडा नं. ८ को दाम्राभिट्टाका जनता अझै पनि विवश छन् ।

रतुवा नदीभित्र आधा खण्डमा पुल बनिसकेको छ भने पश्चिमतर्फको बाँकी पुल निर्माणको काम शुरु नै भएको छैन । रतुवामाई नगरपालिकाको आमवाडीदेखि रतुवा नदीसम्मको सडकमा ट्रयाक खोल्ने काम बाहेक अन्य कार्यहरु अघि बढाइएको छैन । निर्माण कार्यले गति नलिँदा अझै कति वर्ष बित्ने हो कुनै संकेत भेटिँदैन ।

यसैबीच केही दिनअघि मात्रै डा. मिनेन्द्र रिजालको सचिवालयले पूर्वसांसद् माननीय डा. रिजालको पहलमा गत भदौ २२ गते हुलाकी सडक अन्तर्गत पर्ने रतुवा पुलको थप स्पान र रिभर रिटेनिंगको लागि बोलपत्र आब्हान भएको जनाउँदै मोरङ र झापाका जनताको जनजीवन सहज हुने बताएको थियो ।

यता, आगामी मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि पुनः एमालेका ऋषिकेश पोख्रेल र कांग्रेसका केन्द्रीय नेता तथा पूर्व सांसद् डा. मिनेन्द्र रिजाल वा पूर्व प्रधानमन्त्री एवम् नेतृ सुजाता कोइरालाले उम्मेदवारी दिने चर्चा चुलिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here