बिर्तामोड।
झापाको बिर्तामोडमा बडादशैँ तथा तिहारको उपलक्ष्यमा अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
बिर्तामोड फुटबल क्लबको आयोजनामा यही असोज ७ गतेदेखि १२ गतेसम्म डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता सञ्चालन हुने अध्यक्ष डिके गुरुङले जानकारी दिए । बिर्तामोडमा क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।
तेस्रो संस्करणको प्रतियोगितामा १ नम्बर प्रदेशका ४ र भारतका २ टिमको सहभागिता रहने गुरुङले बताए । नेपालबाट झापा, इलाम, मोरङ र पाँचथर भारतबाट सिक्किम र शिलगढीका टिमहरु आउने बताइएको छ ।
प्रतियोगिताको बिजेताले एक लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपबिजेताले ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । पत्रकार सम्मेलनमा क्लबका कोषाध्यक्ष भीम मुखिया, आयोजक टिमकी कप्तान मीना राईको उपस्थिति रहेको थियो ।