महान् नेताहरुबाट सिके हुन्थ्यो

७ आश्विन २०७९, शुक्रबार मा प्रकाशित

नेपालमा गणतन्त्र शुरु भएको छ केही वर्षदेखि । गणतन्त्र भनेको परम्परागत निरंकुश तथा विभेदपूर्ण जीवन पद्धति माथि हस्तक्षेप हो । हिजोका पञ्चायत निरंकुशता र त्यसको लुटतन्त्र तथा २०४६ सालपछिको तथाकथित प्रजातन्त्रको पजेरो संस्कृतिविरुद्धमा नेपाली जनताले ठूलो त्याग र बलिदान गरेर ल्याएको गणतन्त्र नेपाली शासन सत्तामा आएको नयाँ संस्कृति पनि हो । अहिले हामी सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दैछौं । राजनीतिक प्रक्रियाको कार्यान्वयनमा विस्तारित जनसहभागितालाई जोड दिने प्रक्रिया वा पद्धतिलाई सहभागितामूलक लोकतन्त्र भनिन्छ ।

नीति–निर्माणदेखि कार्यान्वयनको विभिन्न तहसम्म जनताको प्रत्यक्ष र सक्रिय सहभागितालाई सुनिश्चित गरेर सहभागितामूलक लोकतन्त्रलाई प्रवद्र्धन गर्न सकिन्छ । तर, अहिलेसम्मको शासनशैलीलाई हेर्दा परम्परागत प्रतिनिधिमूलक लोकतन्त्रभन्दा सहभागितामूलक लोकतन्त्र पृथक देखिएन । हामीले देख्यौं निर्वाचनमा रकमको ठूलो चलखेल हुँदै आएको छ । विचारको क्षयीकरण भएको छ । माफिया र सुन्दरीहरु नेताहरुको मापदण्डमा परेका छन् । ‘पोइल जान पाम् पाम्’ भन्ने छाडा गायकहरु तथा डन दीपक मनाङ्गे निर्वाचनका मानक बनेका छन् ।
देशलाई परिवर्तन गर्न गाउँ–बस्तीतिर परिवर्तनको गीत गाउने जीवन शर्मा, रायन, रामेश तथा जे.बी.टुहुरेहरु उपेक्षामा छन् । प्रचण्डको छोरा प्रकाशको शालिक बनेको छ । तर, युगान्तकारी गीत गाउने स्व.जे.बी.टुहुरे बेवारिस भएका छन् । खोइ उनको प्रतिमा ? परिवारवाद हावी हुँदैछ र पदको लागि १६ वर्षदेखि लुछाचुढी हुँदै गइरहेको छ । विचारहीन नेताहरुको देशमा रत्यौली छ र भ्रष्टाचार चरम सीमामा पुगेको छ । यतिबेला उम्मेदवारी किन्नु पर्ने अवस्थामा छ । प्रतिनिधिसभाको उम्मेदवार बन्न एक करोड बुझाउनुपर्ने र चुनाव खर्च पाँच करोडसम्म लाग्छ– प्रचण्डले आत्माको कुरा बोलेका छन् ।

हिजो दुर्नाम चलेका ठूला तस्करहरु, माफिया, जग्गा दलालहरु, रक्तचन्दनका तस्करहरु नै यतिबेला सत्तामा छन् । विगतमा मत माग्न आउने एकजना प्रदेशका उम्मेदवारले स्वीकारोक्ति गरे– मैले पार्टीलाई ३५ लाख बुझाउनुपर्ने भयो । यसको आशय ३५ लाखको ढोहो चढाएर लिएको उम्मेदवारी विचारको उम्मेदवारी थिएन । यो उनको दलालीको प्रमाणपत्र थियो र सारमा यो सरकार नोकरशाह दलाल पुँजीपतिको हो । यसको काम नै लुटतन्त्र हो ।

प्रदेश नं. ३ का मन्त्री केशव स्थापित र सुदूरपश्चिमका मन्त्री दीर्घबहादुर सोडारीहरु लुटतन्त्र र कामुक प्रवृत्तिका प्रतिनिधि पात्रहरु हुन् र बर्खास्तीमा परेका छन् । तर, उनीहरु दण्डहीनताको कारणले बालुवाटार वरिपरि नै घुमिरहेका छन् । केशव स्थापित त यसपाली काठमाडौंको मेयरमा छनौट पनि भएका थिए । तर, विगतमा केशव स्थापित मेयर भएको समयमा आफूमाथि बारबार यौन दुराचार गर्न प्रयत्न गरेको भनेर महानगरपालिकाकी एक अधिकृत महिलाले भेद खोलिन् । तर, नेतृत्वले सुनुवाइ गरेन र मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले यौन दुराचारी स्थापितलाई कहिल्यै उठ्न नसक्ने गरी थला पारे ।

गणतन्त्रको आगमनसँगै महँगा गाडीहरुको खरिद र शैर संघ, प्रदेश तथा स्थानीय प्रतिनिधिमा यतिबेला पजेरो संस्कृतिको रुपमा शुरुवात भएको छ । नयाँ चिल्ला गाडीहरु माथिको वैभवपूर्ण यात्रा जनताहरुको पेट र करङ्गमाथि अन्याय हो भन्ने सोच र सुद्धी तथाकथित नेताहरुमा देखिँदैन । उनीहरुलाई थाह हुनुपर्ने हो परम्परागत चिन्तनबाट नयाँ नेपाल बन्दैन र नयाँ संस्कृति बन्दैन । देश निर्माण गर्न आत्मत्याग र निःस्वार्थ हुनुपर्छ भन्ने केही उदाहरणहरु विश्वसामु छन् । विकसित देशमा आदर्श तथा सामान्य जीवनशैली अपनाउने नेताहरुको नामहरु हाम्रा अगाडि प्रशस्तै छन् । हाम्रै नेपालमा हाल बालेन शाह, हर्क साम्पाङ राई तथा रवि लामिछाने जस्ता स्वतन्त्र र निस्वार्थ व्यक्तित्वहरु देखापर्न थालेका छन् ।

झापाको क्षेत्र नं. २ मा स्वागत नेपाल जस्ता संवेदनशील र निःस्वार्थ व्यक्तित्वको आगमन भएको छ । प्रसिद्ध व्यक्तित्व र गायक रमेश प्रसाईंको ‘हलुङ्गेको थाल घु¥यानतिर फाल’ गीतले अहिलेको राजनीतिक अवस्थाको राम्रो चित्रण गरेको छ । भ्रष्ट तथा एम.सी.सी.÷एस.पी.पी. सन्धि गरेर देशलाई आइ.पि.एस.को भुमरीमा हाल्ने देशद्रोहीहरुलाई घु¥यानमा सधैँका लागि फाल्नु पर्ने दिन नजिकै मंसीर ४ गते आइरहेको छ ।

वाइडबडी जहाज खरिद भ्रष्टाचार र त्यससँग सम्बन्धित मन्त्रीहरुलाई बचाउ गर्ने सरकारको दुष्प्रयास र निचता विश्वका महान आदर्श नेताहरुको अगाडि कति निन्दनीय छ ? सन् १९१७ को महान् वोल्सेविक क्रान्तिपछि लेनिन नयाँ सोवयत रुस निर्माणका नयाँ कार्यक्रम बनाउने क्रममा ठण्डा रुसको एउटा चिसो कोठामा कमरेडहरुसँग योजना कोर्दै थिए । उनी जाडोले लगलगाइरहेका थिए । त्यो देखेर स्थानीय जनताले हिटर ल्याइदिए र इञ्जिनियर बोलाएर कोठामा विद्युत्तीकरण गरिदिए । यो उनीप्रतिको जनताको संवेदनशीलता र सम्मान थियो ।

भनिन्छ, १९२४ सम्ममै लेनिनले आफ्नो पुरानो कोटले काम चलाए । उनी औसत रुसी जनताहरुको जीवनशैलीमा विताउन चाहन्थे । महात्मा गान्धी, होची मिन्ह, नेल्सन मण्डेला, क्रोएशियाकी वर्तमान राष्ट्रपति कोलिन्डा ग्राभर, नेदरल्याण्डसका वर्तमान प्रधानमन्त्री मार्क रुटी, क्यानडाका वर्तमान प्रतिनिधि जस्टिन ट्युडो, पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान, मेक्सिकोका वर्तमान राष्ट्रपति आन्द्रेस म्यानुल लोपेज, अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा सरल जीवनमा रहने महान् व्यक्तित्वहरु हुन् । उनीहरु आफ्नो देशका औसत जनता सरह बाँच्न चाहन्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति रहँदा विगतमा वार्षिक एक डलरमात्र तलब लिन्थे । तर, हाम्रो देशमा भ्रष्ट नेताहरु भ्रष्टाचारमा लिप्त छन् ।

वाइडबडी खरिद तथा कोभिड औषधि खरिदमा अरबौं भ्रष्टाचार गर्ने पर्यटन मन्त्री तथा स्वास्थ्य मन्त्री भानुभक्त ढकालहरु कति नीच छन् ? जनताको भोको पेटलाई लात हानेर जनताको बीचमा नयाँ गाडी चढेर उन्मादको शिउर हल्लाउँदै हिड्ने भिउँट झैं गर्वले फुलेका बेइमान नेताहरुले यी माथिका महान् नेताहरुबाट शिक्षा लिए हुन्थ्यो कि ? नत्र आक्रोशत जनताहरुले श्रीलंङका र पाकिस्तानमा जस्तै नेताहरु माथि लाठी प्रहार गर्ने दिन नजिकै छ । देशमा नयाँ क्रान्ति नजिक–नजिक आइरहेको छ । तिमी पाखण्डीहरुलाई चेतना भया !

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here