गजाधरको चिन्तन संग्रह ‘कर्तव्य निर्देश’

८ आश्विन २०७९, शनिबार मा प्रकाशित


चिन्तनहरुको खडेरी र सुख्खापनको महामारीबीच एउटा सुन्दर चिन्तन संग्रह पाठक वर्ग समक्ष आएको छ । त्यो चिन्तन कृति हो ‘कर्तव्य निर्देश’ (चिन्तन संग्रह) जसलाई सिर्जना गरेका छन् चिन्तक ‘गजाधर कुइँकेल’ले । सर्वप्रथम विभिन्न विद्वानहरुको विचार मनन गरौँ ।

‘उनका विचित्र क्रियाकलाप, उदेकलाग्दा झाँकी, अनौठा कुराकानी, अलौकिक कार्यबाट म परिचित छु । उनलाई कतैबाट कुनै फिताले नाप्दा पनि फेरा पुग्दैन’ –चूडामणि वशिष्ठ । ‘गजाधरको उपचार पद्धति कुनै आर्थिक प्रलोभनमा नपरी बिशुद्ध सेवाभावबाट अभिपे्ररित भएकाले परोपकार पुण्याय पापाय परपीडनम्को भावना चरितार्थ गर्नु नै उनको उद्देश्य देखिन्छ’ –छत्रमणि आचार्य । ‘झुपडी नै भए पनि हामी प्रत्येक आफ्नो घरको राजा हौँ, त्यसैले पराईको नियन्त्रणमा रहनुपर्ने पराधीनतालाई समेत उहाँको लेखनीले अस्वीकार गरेको छ’ –लक्ष्मण ढकाल । ‘स्रष्टा कुइँकेलले आफ्ना रचना मार्फत् आज विज्ञान र आधुनिकताका नाउँमा मानिस प्रबिधिको दास भएको कुरा उल्लेख गरेका छन्’ –लोकनाथ पौडेल ।

‘आपसी सद्भाव र ज्ञान कर्तव्यको बोध हुनु सबैमा आवश्यक छ भन्ने यस कृतिमा जानकारी गराइएको छ’ –डा. केपी सुवेदी । ‘चिन्तक गजाधर कुइँकेलका लेखमा मानव जीवनमै आइपर्ने विविध विषयलाई यथार्थ देखाउने प्रयास गरिएको छ’ –कोमलप्रसाद पोखरेल । ‘गजाधररुपी किताब पढेर ज्ञानी बन्नु पथ्र्यो, संसारलाई बुझ्नु पथ्र्यो, पढेनन् र, पो किताब लेखिएको रहेछ’ –गङ्गाराम गड्तौला । ‘स्रष्टा गजाधर कुइँकेलले सदाचार, सत्यता, इमान्दारी, धैर्य, सहनशीलता, प्रेम, दया, श्रद्धा, स्वावलम्वन, दृढ निश्चय, सन्तोष र शान्त स्वभाव आदिमा जोड दिएका छन्’ –केशवराज खनाल । चिन्तक कुइँकेलका नयाँ चिन्तन कृतिमा उल्लेख विद्वानहरुका यी विचारबाट गजाधर कुइँकेल कस्ता गुण भएका व्यक्तित्व हुन् भन्ने प्रष्ट हुन्छन् ।

गजाधर कुइँकेलका कृतिहरु अध्ययन गर्दा उनी एक चिन्तक हुन् भन्ने पत्ता लाग्दछ । औपचारिक शिक्षाका नाममा विद्यालयको मुख मात्र देख्न पाएका चिन्तक कुइँकेलले गहिरो स्व–अध्ययन गरेका छन् । मृदुभाषी, मिजासिला बानी र सेवामुखी सोचाइका कारण उनी सबैका प्रिय बनेका छन् । वि.सं. २०३७ देखि उनी परोपकारमा लागेका छन् । किनकि उनमा मौलिक र अलौकिक उपचार ज्ञान छ । त्यसैले उनलाई मूलतः उपचारकका रुपमा समाजले चिन्दछन् ।

उनको अलौकिक उपचारबाट पूर्णतः निको भएका मानिसहरुले उनलाई भगवान् सरह मान्दछन् । निःस्वार्थ र निःशुल्क रुपमा कुनै किसिमको तन्त्र मन्त्र बिना उपचार गर्नु उनको विशेषता हो । गजाधर गुरुका नामले समेत परिचित कुइँकेलको उपचार पद्धति अनौठो अर्थात मौलिक किसिमको छ । बिरामीलाई स्पर्श गर्नासाथ निको पार्ने उनको उपचार पद्धतिलाई कसैले दैवी शक्ति र कसैले अलौकिक शक्ति मान्ने गरेका छन् । उनको अद्वितीय अलौकिक शक्तिको सम्मान गर्दै उनका नाममा संरक्षण समिति समेत बनेको छ । आध्यात्मिक चिन्तन, दैवी उपचारका साथै हाल उनी आयुर्वेदिक जडिबुटी अनुसन्धानमा लागि परेका छन् । अनुसन्धान पनि चिन्तन कै एक पाटो हो । चिन्तक कुइँकेलका चिन्तन कुनै एक विधामा सीमित छैनन् । बहु विषयमा उनका चिन्तन फैलिएका छन् । उनको कृतिले यही बताउँछ ।
प्रकृति अमृतको खानी हो । यसलाई चिन्न सक्ने हो भने हामीलाई अमर बनाउने सञ्जीवनी यहीँ पाइन्छ । हरेक किसिमका रोग निको पार्ने औषधीय वनस्पति हाम्रो वरिपरि रहेका छन् भन्ने विचार राख्ने चिन्तक कुइँकेल औषधीय वनस्पतिको पहिचान गरी सबैजसो बिरामीका लागि आयुर्वेद उपचार गर्ने कार्यमा प्रयासरत छन् ।

‘जहाँ सुख र स्वार्थको मात्र विकास हुन्छ, त्यहाँ अविश्वासले द्वन्द्वको शुरुवात हुन्छ । जति जति मानवमा बुद्धिको नाश हुन्छ, उति–उति धर्तीमा धनजनको विनाश हुन्छ । जब यस धराधाममा जन्म हुन्छ, मृत्युले अघि नै कब्जा जमाएको हुन्छ । मानवमा जब मानवता कायम हुन्छ, तबमात्र जीव जीवनको महत्व हुन्छ । बसुधैव कुटुम्वकम्, बश, यही भावना जागृत भयो । सीता, जनक, वेदव्यास आदिले आर्जेको आदर्श ज्ञान । यही सत्मार्ग मेरो मस्तिष्कमा घुस्यो । यसैले नेपाली हुनुमा म आफैलाई गौरव ठान्छु । म भित्र परोपकारी, सहयोगी, सेवामूलक भावना सदैव जागृत भइरहोस् ।
ठूलो महल र सुवर्ण नै किन नहोस् ऐश आराममा रमाउन चाहन्नँ । बरु निम्न र दुःखी वर्ग समूह मै रमाउन चाहन्छु । सबै मानिस महान् बनुन् । सबै कीर्तिमानी बनुन् । खुशीले बाँचुन् । शान्तिले बाँचुन् । अभावरहित भएर स्वस्थ एवम् स्वाभिमानी बनुन् । पद, प्रतिष्ठाको मात्र अपेक्षाले मानिस महान् बन्न सक्दैनन् । स्वार्थको धन, महत्वको मात्र खेतीले पनि सम्मानित बन्न कठिन नै हुन्छ । असल कामको परिणाम असल नै हुन्छ ।’ यस्ता दुर्लभ चिन्तन गर्ने परोपकारी चिन्तक कुइँकेल समाजका लागि प्रेरणाका स्रोत हुन् ।

कृतिभित्र चिन्तन खण्डमा चिन्तक गजाधर कुइँकेलका चिन्तनहरु समेटिएका छन् । प्राकृतिक जीवनः दीर्घजीवन, मानिसको महत्व, मानवको अस्तित्व, समय सन्दर्भ, आफैले आफ्नो विनाश, महामारी, सफलताको छनोट, आफ्नो साथी आफै, मानव सभ्यतामा इश्वर, रचनात्मकता नै महानता, ज्ञानीहरुको कर्तव्य, महानताको बाधक अज्ञान, अशान्तिबाट शान्तिको ढोका, हरेक नागरिक जिम्मेवार, असल संगतको फल– शीर्षकमा चिन्तनहरु छन् ।

अन्तिममा शब्दचित्रमा शान्तिनगर शीर्षकमा गाउँको नामाकरण, कामीटार, बर्ने, सुनमाई, मोदीडाँडा, जोगीडाँडा, पहरीटार, धारागोला, खनिउँ गौँडा, फेरे गौँडा, सन्तपुर, आयाबारी, चुल्ठे, खारखोला, गडिगाउँ÷गडिचउर, ढकाल गौँडा, गोलाटार, बाबरीटार, बाँझोखेत, आले गौँडा, चारभैया, कोलचउरबारे वर्णनहरु समेटिएका छन् । कृतिभित्रका चिन्तन लेखका शीर्षकहरुबाट नै थाहा पाउन सकिन्छ कि, चिन्तक कुइँकेलका चिन्तन मानव जीवनका लागि निकै मार्गदर्शक छन् ।
कृतिमा समेटिएका चिन्तन लेखहरुका केही अंशहरु यहाँ प्रस्तुत छन् ः पहिला वास्तुशास्त्रको विधानभित्र रही निर्माण गरिएका घरमा बस्नाले कुनै समस्या आउँदैन थिए, आफैले पालेका गाईवस्तुका मलमुत्रबाट पोषित हरिया तरकारीहरु खाइन्थे, स्वस्थ रहन्थे । अहिले त मानिसहरुको बानी बिग्रियो जे पायो त्यही गर्न थाले र कोरोना भाइरस जस्तो रोग लाग्यो । पहिला मानिसहरु परम्पराको नियममा बस्थे । अहिले त सबै भत्किएका छन् नियमहरु । पहिलेका मानिसहरु धनी, गरीब जे भए पनि प्रायः खेतीमै व्यस्त हुन्थे । घाँस, दाउरा, हलो, कुटो, कोदालो, खाँबा, बलाका काम दैनिक व्यवसायका रुपमा गर्दथे ।

सवारीसाधनका रुपमा घोडा प्रयोग हुन्थ्यो । मधेश पहाड गर्दा पैदल हिँड्दथे । बिहानदेखि बेलुकासम्म आफूलाई शारीरिक रुपमा व्यस्त राख्दथे । सूर्य उदाउने बेलासम्म सुत्नु हँुदैन स्वास्थ्य हानी हुन्छ भन्ने मान्यता थियो । धर्तीमा धर्मी र अधर्मी दुबैखाले मानिस हुन्छन् । अधर्मी र घमण्डीहरुकै कति खाऊँ, कति लाऊँ, कति गरौँ भन्ने उमेर हुँदाहुँदै आर्जिएका जति धन आफ्नो जीवनसँगै विनाश भएर जाने हुन्छ । संसारमा धर्मले कमाएको धन, मान मात्रै सदैव रहने गर्दछ । लोक कल्याणका निम्ति जति पनि नाम किर्ति रहिआएको छ, सबै धर्मात्माहरु कै छ । उनीहरु नै महान् छन् । विश्वमा निःस्वार्थ र धर्मसंगत कार्यले नै व्यक्तिहरु नामी र महान् बन्दछन् ।

आफ्नो सम्पूर्ण स्वार्थ त्यागेर परसेवामा लागेका चिन्तक कुइँकेलका जीवन र दर्शनलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ । यस अघि चिन्तक कुइँकेलको ‘म मेरो होइन (जीवन र चिन्तन)’ नामक कृति प्रकाशित भएको छ । यी कृतिहरु केवल प्रौढ र ज्येष्ठहरुका लागि मात्र होइनन् किशोर, युवा, वयस्क उमेरका लागि झन् उपयोगी छन् । अध्ययन, अध्यापन, विभिन्न पेशा र सेवामा रहेका पाठक वर्गहरुले चिन्तक गजाधर कुइँकेलका कृतिहरु एक पटक अवश्य पढौं र सुन्दर जीवन दर्शन हासिल गरौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here