आजदेखि दशैं प्रारम्भ

१० आश्विन २०७९, सोमबार मा प्रकाशित

आजदेखि नेपालीको घर–घरमा दशैं प्रवेश गरेको छ । वेदिक सनातन धर्मभित्र मनाइने चाडपर्वहरु मध्ये दशैंलाई सर्वाधिक महत्वको पर्व मानिन्छ । यद्यपि हाम्रा प्रत्येक पर्वहरुका आ–आफ्ना विशेषता छन्, मूल्य–मान्यता र महत्व छन् । तर, वर्षका चार रात्रीमध्ये शारदीय रात्री अर्थात् आश्विन शुक्ल पूर्णिमाको प्रतिपदादेखि महानवमीसम्मको रात शक्तिकी देवी दुर्गा भवानीको भक्तिपूर्वक गरिने पूजाको धार्मिक, सांस्कृतिक, पौराणिक एवम् लौंकिक रुपमै विशिष्ट महत्व छ । प्राकृतिक तथा सामाजिक दृष्टिले पनि सुरम्य, सुमधुर, रमणीय एवम् फुर्सदको यो समय कोजाग्रत पूर्णिमासम्मै विशेष ढंगले रमाइने भएकाले पनि दशैं नेपालीको जीवन पद्धतिसँग जोडिएको पर्व बनिएको छ ।

आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । आजकै दिनबाट नवरात्र प्रारम्भ हुन्छ । आजकै दिन घरको पूजा कोठामा घट अर्थात् कलश स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ । स्नानादि कर्म सकेर कुनै पवित्र स्थल, नदी, खोला, बगरबाट ल्याएको माटो पूजाकोठमा राखी जमराका लागि जौ छरिन्छ । माता भगवतीको अति प्रियवस्तु जौको जमरा उमारेर देवीलाई प्रशन्न तुल्याउन सकिन्छ भन्ने मान्यता रहेको छ । जलपूर्ण कलशका वरिपरि जमरा राखिन्छ र कलशमा पञ्च पल्लब चढाएर महाकाली, महालक्ष्मी, महासरस्वतीको आराधना गरिन्छ । यही दिनदेखि देशभरका देवीका मन्दिर तथा शक्ति पीठहरुमा दुर्गा सप्तशती, दुर्गा कवच, श्रीमद्देवी भागवत आदिको पाठ गरिन्छ । सुख, समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलशलाई मंगलकारी मानिएको छ । त्यसैले ब्रह्माण्डमा भएका शक्तिहरुलाई कलशमा आह्वान गरी विपद्जन्य तरंगहरु नष्ट भई सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ ।

वडादशैंको पहिलो दिन घटस्थापनाका दिनदेखि महानवमीसम्मका नौ दिनसम्म गरिने श्रद्धा–भक्तिको कर्मलाई व्रत मानिएको छ । महासिद्धि प्रदायक, अत्यन्त दुर्लभ, पुण्यदायक, सबै प्रकारका शत्रुको नाश गर्ने र सम्पूर्ण प्राणीको उपकार गर्ने उत्कृष्ट व्रत आजैदेखि प्रारम्भ भएको छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री आदि नामबाट गरिने भगवतीको पूजा समापन भई देवीको प्रसादका रुपमा मान्यजनबाट टीका–जमरा प्राप्त गर्ने सद्भाव, प्रेम, हार्दिकता र स्नेहको अर्को कुनै पर्व नै छैन । आफूभित्रका विकारको बलि चढाएर सत्कर्मप्रति अभिप्रेरित गर्ने वडादशैं रावण अर्थात् आसुरी प्रवृत्ति त्याग गर्न हामीमा साहस आओस् । त्यसो भएमात्र दशैं जस्ता पर्वहरुको विशिष्टतालाई व्यापक बनाउन सकिन्छ । यसैमा मात्र मानव समुदाय र सभ्यताको रक्षा हुने भएकाले यो पर्वले सबैमा सद्भाव प्रदान गरोस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here