सोह्रश्राद्धको धार्मिक तथा अर्थसामाजिक पाटो

१० आश्विन २०७९, सोमबार मा प्रकाशित

सोह्रश्राद्ध प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुन्छ । सोह्रश्राद्ध अर्थात् पितृपक्ष प्रतिपदा तिथिबाट शुरु भएर आश्विन शुक्ल प्रतिपदासम्म रहन्छ । सोह्रश्राद्धमा १६ दिनसम्म दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्ड दान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दूशास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय बचनका आधारमा श्राद्ध गर्ने गरिएको शास्त्रीय मान्यता रहेको मानिन्छ । सोह्रश्राद्धले गर्दा पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैं शुरू हुन्छ । बडा दशैं मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र ाद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । दशैं, तिहार जस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवंगत पितृलाई सम्झन सोह्रश्राद्ध गर्न थालिएको हो ।

धर्मशास्त्रका आधारमा सोह्र श्राद्धलाई फरक ढंगबाट पनि बुझ्न सकिन्छ । श्रीमद्भागवत गीताको १२औं अध्याय अन्तर्गतको २०औं श्लोक अनुसार श्रद्धा भनेको वेद, शास्त्र, महात्मा र गुरुहरुको र अनि परमेश्वरका बचनमा प्रत्यक्ष र सदृश्य विश्वास गर्नु हो भनिएको छ । श्राद्ध भनेको श्रद्धाले गरिने पिण्डदानादि पितृकर्म हो भनी उल्लेख गरेको पाइन्छ । यसैको आधारमा श्राद्ध भन्नाले शास्त्रीय बचन अनुसार पितृहरूलाई श्रद्धा गरी दिइने पिण्ड, तर्पण आदि कार्यलाई सम्झनु पर्दछ । यो समयमा आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन् । केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाह हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएका छन्, जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ ।

महाभारतकालीन समयमा भीष्म पितामहले आफ्ना बाबु शन्तनु महाराजलाई पिण्डदान गर्दा हातमा नदिई पिण्ड सेलाएको मान्यताको आधारमा कलियुगमा देवता र पितृहरू प्रत्यक्ष नदेखिने हुँदा पिण्डबाट पितृतृप्त होउन् भनी पिण्ड सेलाउने परम्परा छ । यस समयमा बाबु–आमा परलोक भएका सन्ततिहरूले सोह्रै दिन पिण्डदान आदि गर्नुपर्ने मान्यता भए पनि बाबुआमा परलोक भएको निश्चित तिथिका दिन एक दिनमात्र श्राद्ध गर्ने चलन छ । बाबु–आमा दुबै परलोक भएको अवस्थामा बाबुको तिथिको दिनमा नै श्राद्ध गर्ने चलन छ । तर, आमा मात्र परलोक भई बुवा जिवित भएको अवस्थामा मातृ नवमीको दिनमा श्राद्ध गर्ने चलन छ । यसप्रकार सम्पूर्ण चराचर जगत जहाँ पनि आफ्ना पितृहरू रहेका हुन सक्छन् भन्ने धारणा राख्दै तिनलाई रसद पानी पु¥याउने तिथि नै श्राद्ध हो ।

यस पितृकार्य गरी दिइएको पिण्ड तर्पण उनीहरूको भोजनमा परिणत भई पितृहरूले पाउँछन् भन्ने मान्यता छ । श्राद्ध सकिएपछि बाँडिने पितृप्रसाद आमन्त्रण गरिएका सबैलाई वितरण गर्नु पर्दछ, तर पिण्डमा चढाइएको पितृप्रसाद श्राद्धाधिकार पाएको सपिण्डीभित्रको दाजुभाइ र बन्धुबान्धवले मिलेर ग्रहण गर्नुपर्दछ । उक्त प्रसाद एउटै गोत्रभित्रका सगोत्री दाजुभाइलाई दिए पनि हुन्छ, तर अन्य गोत्रका व्यक्तिहरूले ग्रहण गर्न निषेध गरिएको पाइन्छ । सोह्रश्राद्ध र अन्य श्राद्धको समयमा माथिका नियमलाई पालना नगरेमा पितृहरू रिसाउने र सन्ततिका घरमा अशुभ र अशान्तिले बास गर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । तर, विधिवत् नियम र निष्ठाका साथमा पितृकर्म गरेमा तिनको सदाशय र आशीर्वादले धेरै फल प्राप्त गर्न सकिन्छ ।

पश्चिमाहरू र विशेषगरी अन्य धर्मका मानिसहरू वर्षको एउटा समय नै तोकेर पितृको श्राद्ध गरेको देख्दा अस्वाभाविक र बेअर्थको मान्छन् । यसलाई कतिले अनावश्यक ‘नाटक’ को संज्ञा पनि दिन्छन् । श्राद्ध गर्नु हिन्दूका लागि सामान्य लागे पनि उनीहरूका लागि अनौठो र अपाच्य लाग्छ । तर, सोह्रश्राद्धले आत्मसन्तुष्टि र आत्ममुग्धता दिन्छ । यसको अर्थ हो, आफैंप्रति सन्तुष्ट रहने । आत्मसन्तुष्टिले बाँच्नलाई सहजता प्रदान गर्छ । पश्चिमाको नजरमा अवैज्ञानिक ढोङ र अन्धविश्वास मानिएको सोह्रश्राद्ध हिन्दूका लागि आत्ममुग्धताको आधार र सामाजिक व्यवहारको अनिवार्य पाटो मानिन्छ । बाँचुञ्जेल आफ्ना हजुरबुबा, हजुरआमा, बुबा र आमालाई कुनै सहयोग नगर्ने, सम्मान नगर्ने, रेखदेख नगर्ने र अत्यन्तै तल्लो स्तरका बोलीबचन लगाउनेहरू पनि सोह्रश्राद्धमा लोकका लागि श्राद्ध गर्छन् । यो पाखण्ड हो, धर्मको विकृति नै हो । तमाम नकारात्मक पक्षहरू भएर पनि शान्ति, आत्ममुग्धता र आत्मसन्तुष्टि प्रदान गर्ने पितृभक्तिको अनुपम उदाहरण प्रस्तुत गर्ने सोह्रश्राद्ध मनोसामाजिक वैज्ञानिकका लागि पनि अध्ययनको विषय हुन सक्छ ।

असुरक्षाको भावनाबाट घेरिएको अवस्थामा निराशाबाट बाहिर निस्किन सोह्रश्राद्धले प्रत्यक्ष–परोक्ष सहयोग पु¥याउँछ । तर, समय धेरै बदलिएको छ । कार्यक्षेत्र र निजी जिन्दगीमा धेरै फेरबदल आएको छ । पहिले नेपालको जीविकोपार्जनको एकमात्र उपाय कृषि थियो, कृषिमा निर्भर जीविकोपार्जन भत्किएर नयाँ बाटोको रूपमा वैदेशिक रोजगारी आयो । हाल नेपालका करिब ६० प्रतिशत घरधुरीका मान्छे वैदेशिक रोजगारीमा छन् । अर्थात् झण्डै ६० प्रतिशत घरधुरीमा परिवारका सबै सदस्य एक ठाउँमा भेला हुन अप्ठेरो छ । हाल नेपालका दुई घरमध्ये एउटा घरको सदस्य वैदेशिक रोजगारीमा गएकाले जीवनशैली पनि परिवर्तन भएको छ । वैदेशिक रोजगारीसँगसँगै सडक, दूरसञ्चार, हाइड्रोपावर, शेयरबजार लगायत पनि उक्त परिवर्तनका खुद्रा हिस्सेदार भएको मान्न सकिन्छ । मध्यम वर्गको उदय भएसँगै पर्व, श्राद्ध आदिमा क्रमशः परिवर्तन सम्भव भएको निचोड निकाल्न सकिन्छ ।

शहरी, मोफसल र उदीयमान शहरहरूमा मध्यमवर्गीय परिवारको संख्या अत्यधिक बढेको कारणले पुँजीवादी अर्थराजनीतिक प्रणाली सघन बन्दै जाँदा सोह्रश्राद्धको तौरतरिकामा फेरबदल आएको छ । सबै छोराछोरी भेला भएर पितृको श्राद्ध गर्ने कुरामा सम्झौता हुने गरेको छ । आर्थिक पाटो मात्रै नभएर संयुक्त परिवारको विघटन, बसाइँसराइ र देखासिकी पनि परिवर्तनका लागि जिम्मेवार तत्त्व हुन् । पहिले एउटाले खेती गरेर सबै परिवार कृषिमै निर्भर थिए भने अहिले मान्छेले अलग–अलग काम गर्न थाले । यतिसम्म कि एउटै मान्छेले थरी–थरी काम गर्न थालेका छन् । महिलाको पनि काममा संलग्नता बढेको छ । एकातिर संयुक्त परिवारको विघटन र अर्कोतिर स्वतन्त्रताको चेतको फराकिलो अवधारणा अन्तर्गत एकातिर सोह्रश्राद्ध सम्पन्न गर्न असजिलो हुने गरेको छ भने अरु बेलामा हुन नसके पनि सोह्रश्राद्ध वा दशैं–तिहार जस्ता चाडपर्वले सम्बन्धलाई पुनर्ताजगी तथा नवीकरण गर्ने र मन राख्ने बहानाका रूपमा पनि सिद्ध भइरहेको छ ।

हिजोआज सम्बन्ध पहिले जस्तो प्रगाढ छैन । संयुक्त परिवारको अवधारणा पनि कमजोर हुँदै गएको छ । करकापले नै सही, त्यसलाई अलिकति ज्युँदो राख्ने काम नै सोह्रश्राद्ध तथा तिहार–दशैंले गरेको छ । यस अर्थमा हेर्दा सामाजिक सम्बन्ध र अन्तरघुलनलाई मलजल गर्ने सोह्रश्राद्ध तथा चाडपर्वलाई मान्न सकिन्छ । बदलिएको परिवेशले पृथक सामाजिक अन्तरघुलनका कारण हाम्रो सामाजिक सम्बन्धको ढाँचा नै परिवर्तन भएको छ । सामाजिक, राजनीतिक, आर्थिक परिवर्तन भएसँगै नेपालीको सोचाइ, चेत र आर्थिक गतिविधिमै पनि परिवर्तन आएको छ र यी सबै बदलावका प्रभाव सोह्रश्राद्धमा पनि देख्न सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here