तीन गणित विषयविज्ञ सम्मानित

१० आश्विन २०७९, सोमबार मा प्रकाशित

संगीता उप्रेती,
सुरुङ्गा ।

गणित शिक्षाको क्षेत्रमा दीर्घ सेवा गर्ने तीन जना विषयविज्ञलाई सम्मान गरिएको छ । गणित शिक्षा परिषद् १ नं. प्रदेश समितिको आयोजनामा कनकाई मावि सुरुङ्गाको सभाहलमा गत शनिवार भएको सो अन्तरिक्रिया, सम्मान तथा जिल्ला शाखा गठन कार्यक्रममा झापाका सेवानिवृत्त गणित शिक्षकहरू टहलदास अधिकारी, दिलिप अधिकारी र पुण्यप्रसाद खरेललाई सम्मान गरिएको हो ।

त्यसै गरी, सो अवसरमा ‘ वर्तमान गणित विषयमा देखिएका र समाधानका उपायहरू’ विषयक अन्तरक्रिया सम्पन्न भएको थियो । गणित शिक्षा परिषद्का केन्द्रीय सदस्य घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, गणित विषयका पाठ्यपुस्तक लेखक अखिलकुमार कोइराला, कनकाई माविका प्रअ एवम् गणित शिक्षा परिषद् १ नं. प्रदेश समितिका सल्लाहकार कर्णबहादुर डाँगी, ढुकुरपानी मावि दमकका प्रअ कृष्णप्रसाद भण्डारी, हिमालय मावि दमकका प्रअ द्रोण श्रेष्ठ, प्रगति मावि जुरोपानीका प्रअ डिल्लीराम अधिकारी, भानु मावि अर्जुनधाराका प्रअ रूपक दाहाल, परिषद्कापूर्व केन्द्रीय सदस्य दण्डपाणि गौतम, सम्मानित व्यक्तित्वत्रयले मन्तव्य राखेका थिए ।

वक्ताहरूले इच्छाशक्ति भएका शिक्षकलाई मात्र गणित शिक्षणको जिम्मेवारी दिनुपर्ने, अन्य शिक्षकको दाँजोमा गणित शिक्षकले बढी मेहेनत गर्नुपर्ने, शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षकका लागि पनि विषयगत गणित शिक्षकका लागि दरबन्दी किटान गरी विज्ञापन गर्नुपर्ने, गणित शिक्षकले पाठ्यपुस्तकभन्दा पनि पाठ्यक्रमलाई प्राथमिकता दिएर शिक्षण गर्नुपर्ने विषयमा जाड दिएका थिए ।

सो अवसरमा सर्वसम्मत रूपमा ९ सदस्यीय परिषद्का झापा शाखा पनि गठन गरिएको थियो । सरस्वती मावि कमलका सोम बरालको अध्यक्षतामा गठन गरिएको समितिमा उपाध्यक्षमा चम्पापुर मावि कनकाईका ज्ञानबहादुर रायमाझी, सचिवमा धुलाबारी मावि मेचीनगरका टेकनाथ गौतम र कोषाध्यक्षमा बालकल्याण मावि महामाराका चन्द्रप्रसाद भट्टराई चयन भएका छन् । समितिको सदस्यमा साजनकुमार लिम्बू, चूडामणि पौडेल, मानपुर चौधरी, प्रभाखर काफ्ले र तिलक गजमेरलाई चयन गरिएको छ ।

गणित शिक्षालाई चाखलाग्दो, सरल र व्यावहारिक बनाउने, गणित विषय शिक्षणमा समयानुकूल नवीनतम् प्रविधि प्रयोग गर्न सहजीकरण गर्ने, मुलुकभरका गणित शिक्षकवीचको एकतालाई प्रबद्र्धन गर्ने लगायतका उद्देश्य राखी २०४८ सालदेखि अनौपचारिक र २०५४ सालदेखि औपचारिक रूपमा सञ्चालित गणित शिक्षा परिषद्ले यस क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ ।

१ नं. प्रदेश अध्यक्ष सन्तोष विष्टको अध्यक्षतामा भएको कार्यक्रम सचिव चिरञ्जीवी पाण्डेले सञ्चालन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here