शिवसताक्षीमा पहिलो पटक सन्थाल मेला हुने

११ आश्विन २०७९, मंगलवार मा प्रकाशित

विनोद सापकोटा,
झिलझिले ।

झापाको शिवसताक्षीमा पहिलो पटक सन्थाल मेला आयोजना हुने भएको छ । मेलामा विभिन्न १८ समुहको प्रतियोगितात्मक नृत्य पनि हुने आयोजक सन्थाल मेला संचालन तथा व्यवस्थापन समितिले जनाएको छ ।

वडा दशैंको अवसरमा असोज १५ गते वडा नम्बर ३ को पाराबारी बजारमा अल्पसंख्यक सन्थाल जातिको लोपन्मुख नृत्य सहितको मेला आयोजना हुने वडा अध्यक्ष भास्कर न्यौपानेले बताए । मेलाको तयारी सुरु भएको वडा अध्यक्ष न्यौपानेले बताए ।

पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका अल्पसंख्यक सन्थाल जातिको पुर्खाैली पम्परागत सन्थाल नृत्य कोरोनाका कारण तीन वर्ष देखी स्थगित थियो । उनिहरुको नृत्य स्थगित हुनुको अर्को कारण युवा पुस्ता विदेसीएर पनि हो । कोरोनाको संक्रमण दर घटेपछि मेलाको आयोजना गरिएको वडा कार्यपालिकाले जनाएको छ ।

शिवसताक्षी नगरमा भने पहिलो पटक स्थानिय तहले सन्थाल मेला आयोजना गर्न लागेको वडा अध्यक्ष न्यौपानलेले बताए । उनले भने,‘शिवसताक्षी नगरको वडा नम्बर २, ३, ५, ८,१० लगायतका वडामा सन्थाल समुदायको बसोबास रहेको छ । पहिलो पटक वडा नम्बर ३ ले सन्थाल जातिको मेला आयोजना गरेर उनिहरुको पहिचान स्थापित गर्न लागेको हो ।’
शिवसताक्षी नगरका प्रमुख मेघाहाङ थोप्रा (रोषन)ले नगर कार्यपालिकाले विभिन्न जात जातीका भाषा, धर्म, संस्कृती, परम्परा र रितिरिवाजको संरक्षणका लागि विभिन्न कार्यक्रम ल्याएको बताएका छन् ।

संथाल समुदायको संस्कृति र पहिचान स्थापितका लागि पारावारीमा आयोजना हुन लागेको सन्थाल मेलाले वडा नम्बर ३ मा उनिहरुको पहिचान स्थापित हुने स्थानिय बासिन्दाले बताएका छन् । अल्पसंख्यक सन्थाल समुदायका लागि यो मेला पर्वका रुपमा स्थापित हुने र यस्ता कार्यक्रमले नगरमा निरन्तरता पाउने मेला आयोजक समितिका संयोजक मेघराज ओझाले बताए । उनका अनुसार जिल्ला भरका सन्थाल समुदायका मानिस पारावारीमा भेला भएर मेलामा रमाइलो गर्ने छन् ।

मेलामा भारतबाट पनि सन्थाल नृत्य लिएर आउने संयोजक ओझाले बताए । उनका अनुसार मेलामा प्रतियोगितात्मक संथाल नृत्य हुने छ । नृत्यमा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेले १० हजार र तश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् । सान्त्वना पुरस्कार पनि वडा अध्यक्ष न्यौपानलेले प्रायोजन गर्ने निधो भएको ओझाले बताए । मेलाको भव्य समारोहका बीच नगरकार्यपालिकाका प्रमुख मेघाहाङ थोप्राले उद्घाटन गर्ने कार्यलातिका बनेको आयोजक समितिले जनाएको छ ।

मेला संचालनका लागि वडाले १ लाख बजेट बिनियोजन् गरेको छ । यो वाहेकको आर्थिक श्रोत नभएको आयोजक समितिले जनाएको छ । केही दाताको पहिचान गरि मेला सम्पन्न गर्नुपर्ने चुनौती थपिएको उनले बताएका छन् ।

सन्थाल समुदायका मानिसहरु मूरली, झ्याम्टा, ढोल लगायतका बाजागाजा बजाउँदै, नाच्दै र गाउँदै मेलामा सहभागि हुने छन् । दसैँमा आयोजित हुने मेलाको प्रमुख आकर्षण नै सन्थाल नृत्य हो ।

धिमाल, राजवंशी, ताजपुरिया जस्तै सन्थाल जाति पनि फरक भेष र फरक संस्कृतिका कारण चिनिन सक्ने जाति मानिन्छ । तर, सधैं अर्काको घर खेतीमा कृषिजन्य काम गरेर जीविकोपार्जन गर्दै आएका अति लोपोन्मुख अवस्थामा पुगेको सन्थाल जाति पहिचान र संस्कृति जोगाउन एक छाक खाएर बाँचिरहेका छन् ।

सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाईजात्रे पहिरन, रङ्गीचङ्गी भावभङ्गीमा, रङ्गीन कमिज, पञ्ची, धोती जस्तो कपडा, शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिकरूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ । यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थाल हुन्छन, भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिला पनि उत्तिकै सक्रिय हुन्छन् ।

नृत्यको मध्य विन्दुमा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन भने नाचिरहेका सन्थालहरू आफूलाई बहादुर सावित गर्न बिनाहात जमीनमाथि फ्याँकिएका भुजा हावाबाटै मुखमा हालेर खाने गर्छन् ।

सन्थाल समुदायका मानिसले नृत्यमा मट्टितेल मुखमा हाली आगोको लप्का निकाल्ने, माटोमा टाउको गाड्ने, मान्छेमाथि मान्छे चढ्दै दुई, तीन तहको घेरा बनाई नृत्य गर्ने, सयौं कोर्रा सहने आदि यस जातिको नृत्यका केही डरलाग्दा रोमाञ्चक र आश्चर्यजनक दृश्यहरू देखिन्छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here