विश्व पर्यटन दिवसको सन्देश

११ आश्विन २०७९, मंगलवार मा प्रकाशित

आज अंग्रेजी सम्वत् अनुसार सेप्टेम्बर २७ तारिख । संयुक्त राष्ट्र विश्व पर्यटन संगठनले आजको दिनलाई विश्व पर्यटन दिवसका रुपमा मनाउन थालेको चार दशकभन्दा बढी भइसकेको छ । अन्तर्राष्ट्रिय समुदायमा पर्यटनको भूमिका र महत्वका बारेमा चेतना जगाउँदै यसकै माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य अनुरुप मनाउन थालिएको विश्व पर्यटन दिवस हाम्रा लागि पनि त्यत्तिकै महत्वको छ । पर्यटन शब्दले नै घुमफिर गर्ने काम भन्ने बुझाउँछ, जसका आधारमा एकअर्काको भाषा, संस्कृति, चालचलन, परम्परा, भेष–भुषा बुझ्न, जान्न र परिचित हुन सहयोग पुग्छ । पर्यटनकै माध्यमबाट मानिसमा ऊर्जा, जोश र प्रेरणा पनि प्राप्त हुन्छ । यसले रोजगारीको अवसर प्रदान गर्छ, स्थानीय उत्पादन प्रवद्र्धन गर्न, जनशक्तिलाई अवसर दिन र आम्दानीको स्रोत निर्माण गर्छ ।

त्यसो त पूर्वीय दर्शनले घुमफिर गर्ने क्रममा कतै पुगेका व्यक्तिलाई अभ्यागत, अतिथि वा पाहुना मानेको छ । बिना सूचना वा जानकारी अचानक आउने व्यक्ति नै अतिथि हुन् र ती ईश्वरको प्रतिरुप हुन्छन् भनेको छ । यस हिसाबले हामीकहाँ घुमफिर गर्ने क्रम मानव सभ्यताको विकाससँगै शुरु भएको मान्न सकिन्छ । ‘अतिथि देवो भव’को मान्यता आत्मसात गरेका नेपाली प्राचीन कालदेखि नै बन्दव्यापार, अवसर र जीवन निर्वाह खोज्न घुमफिर गरेको इतिहास छ । पछिल्लो काल भौतिक विकास भएसँगै घुमफिर गर्ने कार्य व्यापक बनियो । पर्यटन लक्षित आवास क्षेत्र, गृह तथा सेवासुविधा प्रदान गर्न थालिएको छ । आन्तरिक र बाह्य पर्यटन तथा पर्यटकको माध्यमबाट नयाँ कुरा जान्ने, देख्ने र अनुभूत गर्ने पर्यटन आज व्यावसाय तथा राष्ट्रको आयको बलियो स्रोत भएको छ ।

पर्यटनका विश्वव्यापी प्रकारहरुमध्ये हाम्रो प्रकृति पर्यटकलाई लोभ्याउने मुख्य आधार हो । यस बाहेक धार्मिक तथा सांस्कृतिक कारणले पनि लाखौं पर्यटकहरु नेपाल आउने गरेका छन् । उनीहरु जुनसुकै उद्देश्यले आएको भए पनि त्यसको प्रतिफल राष्ट्रिय हितमा हुने भएकाले देवता मानिएका हाम्रा पाहुनाहरुलाई सेवासुविधा विस्तार गर्नुपर्छ । पर्यटकहरुलाई हिमालदेखि सांस्कृतिक एवम् जैविक विविधताको अध्ययन अवलोकन गर्ने सहज र उपयुक्त वातावरण निर्माण गरिदिनु पर्दछ । उद्योग सरहको महत्व भएको पर्यटन क्षेत्रलाई राष्ट्रिय आयको स्रोत बनाउनु पर्दछ । यसले विदेशी मुद्रा आर्जन गर्न, रोजगारी तथा अवसर सृजना गर्न र हाम्रा कला–संस्कृतिको प्रचारप्रसार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसकारण पनि विकासमा पछि परेको हामी र हाम्रा जस्ता देशहरुको सम्पूर्ण विकासका लागि पर्यटन दिवसको सान्दर्भिकता र महत्व व्यापक छ । त्यसैले राज्यले पर्यटन व्यवसायको प्रवद्र्धन तथा विस्तारका लागि पर्यटकीय क्षेत्रहरुको पहिचान सँगै पर्यटक अनुकूलन सुविधा र सेवा प्रवाहमा ध्यान दिनुपर्दछ । यो व्यक्ति, पर्यटक तथा राष्ट्रको हितमा हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here