चाडपर्व र सुरक्षा चुनौति

१२ आश्विन २०७९, बुधबार मा प्रकाशित

नेपालीको सबैभन्दा ठूलो चाड वडादशैंको दोस्रो दिन पनि बितिसकेको छ । विगतका वर्षहरुमा विश्वव्यापी महामारी कोभिड–१९ का कारण सुनसान भएको दशैं यसपटक भने भीडभाडपूर्ण हुने देखिएको छ । यद्यपि प्राकृतिक विपदा सरहको डेंगु संक्रमणले महामारीको रुप लिइरहेको छ । अहिलेसम्ममा डेंगु संक्रमणकै कारण बत्तीस जनाले ज्यान गुमाइसकेका पनि छन् । तथापि व्यक्तिबाट व्यक्तिमा सोझै नसर्ने भएका कारण डेंगु त्यति घातक मानिएको छैन । त्यसैले पनि दशैं शुरु भएदेखि नै हाट–बजारहरुमा चहलपहल बढ्दै गएको हुनसक्छ । वर्षमा एकपटक आउने र पन्ध्र दिनसम्म मनाइने यो चाडको सांस्कृतिकभन्दा पनि लौंकिक मान्यताका कारण छुट्टै महत्व छ ।

पौराणिक कथन र मान्यता अनुसार आफूसँग भएको विकारयुक्त प्रवृत्ति, दुष्टता, दुर्भावना र दुर्विचारलाई बलि चढाउनुपर्छ यो पर्वमा । शुम्भ, निशुम्भ, रावण लगायतका राक्षसी शक्तिलाई देवी भवानीको कृपा र शक्तिबाट परास्त गरी धर्म, मानवता, सद्विचार, सद्भावना आदिको स्थापना गर्ने दशैं हिजोआज रामरमाइलो गर्ने अवसरमात्रै बनिएको छ । यही समयलाई कतिपयले आपराधिक कर्मको माध्यमबाट लाभ लिने दुष्प्रयास पनि गर्न थालेका छन् । खासगरी भीडभाडको फाइदा उठाएर लुटपाट गर्ने, अवाञ्छित, असामाजिक र अमर्यादित गतिविधिहरु पनि यतिबेला तुलनात्मकरुपमा बढी हुने गरेका छन् । त्यही कारण यो पर्वको समय कुनै निकायका लागि खासगरी सुरक्षा अङ्गका लागि चुनौतिपूर्ण हुने गरेको छ ।

दशैं लगत्तै तिहार र त्यसलगत्तै छठ पर्व आउने हुँदा सुरक्षा संयन्त्रले सुरक्षा चुनौतिको सामना गर्न विशेष योजना नै बनाउने गरेको छ । नेपाल प्रहरी जनताको जिउ–धनको रक्षा गर्ने उपल्लो निकाय भएकाले यसपटकको सुरक्षा योजना उसले सार्वजनिक गरिसकेको पनि छ । यतिबेला हुनसक्ने अवाञ्छित तथा उच्छृंखल गतिविधि नियन्त्रण गर्न, सरकारी, गैरसरकारी, बैंक तथा वित्तीय संस्थाहरु, उद्योग, सडक, सवारी लगायतका क्षेत्रमा चन्दा, चिठ्ठा, चोरी, लुटपाट, ठगी लगायतका आपराधिक गतिविधि नियन्त्रण तथा निस्तेज गर्न प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयहरुलाई निर्देशन नै दिइसकेको छ । यस सन्दर्भमा आमनागरिकले समेत सचेतता, सतर्कता र सुरक्षाको आफ्नो पक्षबाट समेत प्रबन्ध गर्नुपर्छ । सबैको समन्वयात्मक र सहकार्यकाट मात्र समाजमा शान्ति, सुरक्षा, सुव्यवस्था र अमनचैन कायम गर्न सकिन्छ । दशैं लगायतका चाडबाडहरु विषादका कारण नबनियुन त्यसतर्फ सबैको चासो र अग्रसरता हुनुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here