प्रदेशसभा सदस्य समानुपातिक सूची सिफारिस ११०, सूचीमा तीन जना

१२ आश्विन २०७९, बुधबार मा प्रकाशित

झापा ।

आगामी मंसीर ४मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस झापाले प्रदेशसभा सदस्य समानुपातिकतर्फ झापाका पाँच निर्वाचन क्षेत्रबाट ११० जनाको नाम सिफारिस गरेको छ ।

सबै क्षेत्र, वर्ग, लिङ्ग र भूगोललाई समेटेर पार्टीले ११० जनाको नाम सिफारिस गरे पनि केन्द्रले सार्वजनिक गरेको सूचीमा तीन जनाको मात्रै नाम समावेश भएपछि कांग्रेस झापामा खैलाबैला मच्चिएको छ । जसमा सिटौला समूहका दुई जना र देउवा समूहका एक जनाको नाम मात्रै समावेश भएको पाइएको छ ।

सिटौला समूहबाट खस आर्यतर्फ उद्धव थापा र दलित कोटामा पम्फा विकको नाम सूचीमा अटाइएको छ भने देउवा समूहकी लक्कीदेवी गणेशको नाम मधेसी कोटामा समावेश छ । पार्टीले सिफारिस गरेका अन्य कुनै पनि नाम केन्द्रले सार्वजनिक गरेको सूचीमा नरहेपछि कांग्रेस झापामा खैलाबैला मच्चिएको हो । नेपाली कांग्रेस झापाले प्रदेश १बाट प्रदेशसभा सदस्यका लागि समानुपातिक सूचीमा नौ जनाको नाम पठाएको थियो । जसमध्ये क्षेत्र नं. १ को (१) का लागि सात जना र १ को (२) का लागि दुई जनाको नाम सिफारिस भएको थियो ।

त्यस्तै क्षेत्र नं. २को (१) मा १९ र २ को (२) मा १६ जनाको नाम सिफारिस भएको थियो । यता क्षेत्र नं. ३को (१) मा १० जना र ३ को (२) मा १२ जनाको नाम सिफारिस भएको थियो । ४ को (१) मा १४ जना र ४ को (२) मा पाँच जनाको नाम सिफारिस गरिएको थियो ।

उता क्षेत्र नं. ५को (१)मा छ जना र ५को (२) मा १९ जनाको नाम सिफारिस भए पनि नेपाली कांग्रेसले सार्वजनिक गरेको सूचीमा तीन जनाको नाम मात्रै समावेश छ । सिफारिसमा परेकामध्ये थापा नेपाली कांग्रेस प्रदेश १का सभापति हुन् । यसअघि उनी झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि २०७४मा भएको निर्वाचनमा प्रत्यक्ष चुनाव लडेका थिए । उनी नेकपा एमालेकी नेतृ पवित्रा निरौला खरेलसंग पराजीत भएका थिए । त्यस्तै सिफारिसमा परेकी विक पार्टीको जिल्ला सदस्य र गणेश महाधिवेशन प्रतिनिधि हुन् ।

नेपाली कांग्रेसले सार्वजनिक गरेको सूचीका विषयमा कुरा गर्दै नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले यो नै अन्तिम नामावली नभएको र यसलाई सच्याइने बताएका छन् । उनले १४ सार्वजनिक गरिने नाम मात्रै अन्तिम हुने बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here