आसन्न निर्वाचन र झापा

१३ आश्विन २०७९, बिहीबार मा प्रकाशित

निर्वाचन आयोगले हिजोदेखि आचारसंहिता लागू गरेको छ । आउँदो मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्न आयोगले प्रत्येक निर्वाचनमा आचारसंहिता लागू गर्ने गरेको छ । आचारसंहिताले राजनीतिक दलहरु मात्र होइन उम्मेदवार, सरकार, स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारकर्मी तथा विभिन्न निकायहरुले पालना गर्नैपर्ने जिम्मेवारी निर्धारण गरिएको हुन्छ । यस हिसाबमा पनि देश निर्वाचनमय भइसकेको छ र राजनीतिक दल, उम्मेदवार तथा नेता कार्यकर्ताका लागि दशैं सरहको उत्सव आइसकेको अनुभूति हुन थालेको छ ।

अहिले झापामा पनि निर्वाचनको माहोल तातिन थालेको छ । कम्युनिष्ट आन्दोलनको आधारभूमिका रुपमा परिचित झापा यसकारण पनि बढी चासो र चर्चामा रहेको छ कि यहाँ नेपाल कम्युनिष्ट पार्टी एमाले तथा वैकल्पिक शक्तिका रुपमा उठेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरुले प्रतिनिधित्व गर्ने जिल्ला हो । बहुदल आएपछिको पहिलो आमनिर्वाचनमा सुदूर पूर्वको मेची अञ्चलका सबै जिल्लामा एकछत्र जीत हासिल गरेको एमालेका लागि त्यसयता भएका निर्वाचन त्यति सहज भएका छैनन् । नेकपा माओवादीले सात वटामध्ये पाँच वटा संसदीय क्षेत्रमा जीत हासिल गरेको झापामा पछिल्लो समय माओवादीलाई अस्तित्व जोगाउनै गाह्रो छ । यसअघि ०७४ मा भएको निर्वाचनमा झापा पाँच वटा क्षेत्रमा दिँदा एमालेले तीन वटामा जीत हासिल गरेको थियो । यही वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सबैभन्दा ठूलो दलको रुपमा स्थापित छ ।

यस वर्षको निर्वाचनको अवस्था भने फरक छ । एमाले बाहेकका ठूला दलहरु गठबन्धन यथावत राख्दै निर्वाचनमा गएका छन् । यस अर्थमा दुई प्रमुख शक्तिका बीचमा राप्रपा निर्णायक शक्तिका रुपमा उभिएको छ । राप्रपाले जसलाई सघाउँछ जीत उसकै हुने अङ्कगणितका कारण अहिले झापामा कोही पनि सुरक्षित देखिएका छैनन् । पाँच वटै निर्वाचनमा प्रमुख प्रतिपक्षका रुपमा रहेको एमालेले राप्रपासँग तालमेल गरेको खण्डमा कांग्रेस लगायत गठबन्धनको जीत सहज हुने देखिँदैन । यदि त्यसो भएन भने एमाले अध्यक्ष केपी ओली नै धरापमा पर्ने विश्लेषण गर्न थालिएको छ । त्यसैले एमालेले आफ्नो वर्चस्व कायम गर्न राप्रपासँग तालमेल गर्नैपर्ने अंकगणितको बाध्यता रहेको छ । त्यसो भएको खण्डमा कांग्रेसका हेवीवेट भनिने कृष्ण सिटौला खतरा क्षेत्रमा पुग्ने सम्भावना प्रबल छ । यद्यपि बहुदलीय प्रणालीमा सबै दलले आ–आफ्नो खुट्टामा उभिनुपर्ने हो । तर, स्थानीय र देशको आवश्यकता भन्दै दुई धु्रवका बीच हुन लागेको निर्वाचनलाई स्वतन्त्र उम्मेदवारको पनि चुनौति थपिएको छ । त्यसैले मतदाता आफैं निर्णायक शक्ति भएकाले विवेकको मत प्रयोग गर्नु चाहिँ वर्तमानको आवश्यकता हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here