सुखानी हत्याकाण्ड र राष्ट्रिय राजनीतिमा स्थापित झापा आन्दोलन

१३ आश्विन २०७९, बिहीबार मा प्रकाशित

सुखानी हत्याकाण्ड आफैमा एक दुःखद् तथा विभत्स घटना भए पनि नेपाली राष्ट्रिय राजनीतिमा यसलाई एउटा ऐतिहासिक कडीको रुपमा मान्न सकिन्छ । यो घटनाले झापा आन्दोलनलाई राष्ट्रिय राजनीतिमा केन्द्रको रुपमा स्थापित गरेको छ । १५ सेप्टेम्बर २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको जन्म भयो र दुई दशकसम्म टुट, फुट र विभाजनमा रहेको नेपाली वाम आन्दोलनलाई यसले क्रान्तिकारी कार्यदिशा निर्देश ग¥यो । यहीँबाट नेपाली कम्युनिष्ट आन्दोलन विगतको अवसरवाद, वैधानिकतावादी चिन्तन, दक्षिणपन्थी रुझान तथा आत्मसमर्पणवादबाट मुक्त भई कार्यनीतिक तथा रणनीतिकरुपले नेपाली सर्वहारा जनताको लडाकु तथा भरपर्दो राजनीतिक सम्पत्ति बन्न पुगेको थियो । हुन त झापा आन्दोलनले आफ्नो क्रान्तिकारी कार्यदिशा या कार्यनीतिलाई एक दशकभन्दा बढी लिएर जान सकेन । तर, पनि यसको ऐतिहासिकता भने नेपाली वाम आन्दोलनमा चिरस्थायी बन्न पुग्यो र पछिल्लो पिडीलाई यसले चलाएको वर्गसंघर्षले प्रभावित गर्दै रह्यो ।

झापा आन्दोलन या विद्रोह कुनै आकस्मिक घटना होइन । यसको शुरुवात या विष्फोटनमा देशभित्रको वस्तुगत अवस्था तथा अन्तर्राष्ट्रिय परिघटनाहरु पृष्टकारणको रुपमा लिन सकिन्छ । केन्द्रीकृत सामन्तशाही राज्यसत्ताले नेपालमा लामो समयदेखि जातीय, वर्गीय, क्षेत्रीय, लिङ्गीय विविध खाले चरम शोषण र उत्पीडन थोपर्दै आएको छ । विश्वका धेरै देशहरुमा त्यहाँका जनताले शिक्षा तथा प्रगतिको अनुभूति गरिरहेको अवस्थामा नेपाली जनता भने निरंकुश शाह र राणाको अन्धकार शासनमुनि तड्पाइरहेका थिए ।

शिक्षाको अवसर दियो भने आफ्नो राज्यसत्ता ढल्छ भन्ने राणाहरुको पाखण्डीपन कति निचपूर्ण थियो ? तर नेपाली जनताले यी निरंकुश शासकवर्ग विरुद्ध विभिन्न कालखण्डहरुमा आफ्नै ढङ्गबाट संघर्ष र विद्रोहलाई तीब्रता दिँदै आएका छन् । प्रथम विश्वयुद्धले ल्याएको प्रभाव र दोस्रो विश्वयुद्धको छेउछाउबाट अघि बढेको जनचेतना र विद्रोहको पृष्ठभूमिमा नेपाली जनताले पनि २०औं शदीको नौ को दशकबाट विद्रोहलाई संगठित रुपले उठाएको देखिन्छ । वि.सं. १९९७ मा चार शहीदहरुको हत्या क्रुर राणाहरुको जनचेतनालाई रोक्ने दुष्प्रयास थियो । तर, जनताको हत्या विरोधी आक्रोश २००७ सालमा क्रान्तिको रुपमा रुपान्तरित भएको थियो ।

छिमेकी देश भारत सन् १९४७ मा स्वतन्त्र हुनु, अर्को छिमेकी देश चीनमा सन् १९४९ मा नौलो जनवादी क्रान्ति सम्पन्न हुनुले नेपाली श्रमजीवी जनता बीचका सचेत बुद्धिजीवीहरूलाई पनि परिवर्तनको लागि प्रेरित ग¥यो । १५ सेप्टेम्बर १९४९ मा (वि.सं. २००६ साल) क.पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो र यसले नौलो जनवादी कार्यक्रमको उद्घोष ग¥यो । पार्टीको स्थापनाले नेपाली सर्वहारा जनताको गन्तब्यको रुपरेखा तयार भयो । नेपाली श्रमजीवी जनताले संश्लेषित विचार र दृष्टिकोणको वैज्ञानिक माक्र्सवादी हतियार प्राप्त गरे । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको एक वर्षमा भएको २००७ सालको क्रान्तिमा पार्टीको खासै पहलकदमी हुन सकेन । वि.सं. २००७ सालको क्रान्ति जनताको पक्षमा भन्दा प्रतिक्रियावादी शासकहरुको पक्षमा कांग्रेस, भारतीय विस्तारवाद र सामन्तवादका प्रतिनिधि राजाको बीच त्रिपक्षीय सम्झौतामा टुङ्गियो र क्रान्ति प्रतिक्रान्तिमा टुङ्गियो ।

नेपाल कम्युनिष्ट पार्टीको पहलकदमी नभए पनि परिवर्तनको चाहना गर्ने वामपन्थी बुद्धिजीवी तथा नेताहरुले देशका विभिन्न भागहरुमा दिल्ली सम्झौतालाई धोका मान्दै स्वतःस्फूर्त आन्दोलनहरुको उठान गरे । २००८ सालमा भएको दिल्ली सम्झौताबिरुद्ध डा.के.आइ.सिंहले वि.सं. २००९ मा सशस्त्र विद्रोह गरे । त्यस्तै २०१० सालमा पश्चिममा किसान नेता भीमदत्त पन्तको किसान विद्रोह नेपालको इतिहासमा अविस्मरणीय छ । डा. के.आइ.सिंह र किसान नेता भीमदत्त पन्त दुबैको विद्रोहलाई तत्कालीन सरकारले भारतीय फौज झिकाई निर्मम दमन गर्ने काम भयो । किसान नेता भीमदत्त पन्तलाई भारतीय सेनाले घेराउ हालेर हत्या ग¥यो र उनको टाउको बजारको बीचमा खम्वामा झुण्डाएर जनतामा आतंक सिर्जना गर्ने काम भयो । वास्तवमा यो हत्या नेपाली राष्ट्रियता माथि अतिक्रमण थियो र स्वाधीनता माथि सोझो हस्तक्षेप थियो ।

भारतीय शासकहरुलाई उकासेर वामशक्ति या चेतनालाई कुल्चिन देशभक्त भीमदत्त पन्तको हत्या गर्ने नेपाली कांग्रेस समेत प्रतिक्रियावादीहरू नेपाली जनता र परिवर्तनको विरोधीको रुपमा हिजोदेखि नै इतिहासमा कलंकित छन् । र, २०६६ सालमा आइपुग्दा नेपाली कांग्रेस भारतीय राजदूत राकेश सूदलाई अघि लगाएर नेपालको राष्ट्रियता माथि भारतीय हस्तक्षेपलाई निम्ताउने काम गरिरहेको छ । २००७ सालमा प्राप्त थोरै उपलब्धी पनि राजा महेन्द्रलाई सह्य भएन । त्रिभुवनले स्वीकारेको संविधानसभालाई राजा महेन्द्रबाट कुल्चिने काम भयो र आम निर्वाचनको नाममा जनतालाई सार्वभौम बनाउने संविधान बन्न नदिने षडयन्त्र भयो । २०१७ सालको आम निर्वाचनको प्रतिफललाई पनि महेन्द्रले सैनिक ‘कू’ द्वारा कुल्चिने काम गरे र निरंकुश पञ्चायती व्यवस्था शुरु गरे । जनता मध्ययुगीन वर्वर तथा अप्रजातान्त्रिक भुवरीभित्र रुमलिइरहेको थिए । शिक्षा परम्परावादी, अन्धविश्वासी तथा अवैज्ञानिक थियो जसले आधिभौतिक सोचहरु प्रशारित गरिरहेको थियो । तर शैक्षिक प्रतिकूलताभित्र अनुकूलताको पनि विकास भइरहेको थियो यो द्वन्द्ववादको नियम हो ।

विद्यार्थी जगतमा चेतना विस्तार हुँदै गएको थियो र विद्यार्थीहरुले संगठितरुपले आफ्नो हकहितको लागि आवाज उठाउन शुरु गरेका थिए । उनीहरुको संगठित प्रयासले २०२२ सालमा ‘अनेरास्ववियू’को जन्म भयो । त्यस्तै २०२४ सालमा ने.वि.संघको जन्म हुन पुग्यो । त्यहीबेला वि.सं. २०२४ सालमा भारतीय विस्तारवादले सुस्ता र महेशपुरमा सीमा अतिक्रमण ग¥यो । त्यो बेला ‘अनेरास्ववियू’ पक्षधर विद्यार्थीहरू, देशभक्त तथा वामपन्थी बुद्धिजीवीहरूले देशको अतिक्रमणविरुद्ध आन्दोलन छेडे । वामपन्थी संस्कृतिककर्मीहरूले लेखन मार्फत विस्तारवादको विरोध गरे । वास्तवमा नेपालमा वामशक्तिको जन्म राष्ट्रिय मुक्ति आन्दोलन र राष्ट्रियताको सवालसँग सम्बन्धित संघर्षहरूसँग जोडिएको छ । सामन्तवाद, भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद विरोधी आन्दोलनको बीचबाट नेपाल कम्युनिष्ट पार्टी जन्मेको छ । संघर्षहरु मार्फत् नेपाल र नेपाली जनता सामन्तवाद र साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्तिको चरणमा अगाडि बढिरहेको थियो । यो नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा नभएर क्याम्पसका विद्यार्थीहरु, वाम–बुद्धिजीवीहरु तथा शिक्षकहरूको नेतृत्वमा सञ्चालित थियो ।

२०२३÷०२४ सालतिरको कुरा पार्टीहरू प्रतिबन्धित थिए र राजनीतिक गतिविधिहरु क्रियाशील थिएनन् । पञ्चायत व्यवस्था निरंकुश हुँदै गइरहेको थियो । २०२४ सालमा ‘गाउँ फर्के अभियान’ र ‘सहवरण’ मार्फत् आफ्ना तावेदारहरुलाई स्थानीय निकायदेखि माथिल्लो राष्ट्रिय पञ्चायतसम्म पु¥याएर पञ्चायत व्यवस्थालाई दीर्घजीवी बनाउने दुष्प्रयास भइरहेको थियो । अर्कोतिर २०२४ सालतिर सुस्ता तथा महेशपुर माथि भएको सीमा अतिक्रमणको विरोधमा तथा सीमा अतिक्रमण हुँदा नबोल्ने सरकारकै विरोधमा विद्यार्थी आन्दोलन उठिरहेको थियो । देशभक्त तथा वामपन्थी बुद्धिजीवीहरूले राष्ट्रियता रक्षाको लागि आवाज उठाइरहेका थिए । विद्यार्थी संगठन निर्माण तथा हकअधिकारको लागि संघर्ष उठिरहेको थियो । यसरी निरंकुशतालाई निरन्तरता दिने र परिवर्तन चाहनेहरूबीच वर्गसंघर्ष तीव्र हुँदै गइरहेको थियो । यो वस्तुगत अवस्था संघर्षको लागि वाह्य कारण थियो । वास्तवमा वर्गसंघर्ष र पार्टीको अन्तर्संघर्षबाट नै कम्युनिष्ट पार्टीले विकास गर्ने गर्छ । त्यो बेला नेपाल कम्युनिष्ट पार्टी अत्यन्त टुटफुट र विभाजनको अवस्थामा थियो र वर्ग संघर्षलाई हाक्ने अवस्थामा थिएन ।

२००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००८ सालमा राजाको वैधानिकतालाई स्वीकार्न पुग्यो र पार्टी खुल्ला भयो । पार्टीमा वैधानिकताको प्रवेशले पार्टी कमजोर बन्न पुग्यो । पार्टी स्थापनाकालमा पारित कार्यनीति व्यवहारमा आउन सकेन । २०१० सालमा पहिलो र २०१४ सालमा दोस्रो महाधिवेशन भयो र यसमा पनि राजाको वैधानिकता हाबी रह्यो । २०१४ को महाधिवेशनमा राजावादी केशरजङ्ग रायमाझी महासचिव बन्न पुगे र उनले २०१७ सालको सैनिक ‘कू’लाई वेइमानपूर्वक समर्थन गर्न पुगे । सन् १९५३ मा स्तालीनको मृत्युपछि रुसी राजनीतिको विश्वमा प्रभाव कम हुँदै गयो र रुसमै पनि नेतृत्वमा विवाद शुरु भयो । विश्वका समाजवादीहरु दुई कित्ताहरू रुस र चीनमा विभाजित भए । यो विभाजनको असर नेपाल कम्युनिष्ट पार्टीको २०१९ मा भएको तेस्रो महाधिवेशनमा देखियो । यो अरु विभिन्न चिराहरुमा विभाजन र टुटफुट हुन पुग्यो । रायमाझी रुसको समर्थनमा तर सुधारिएको पञ्चायतलाई स्वीकार गरेको अवस्था थियो । तुलसीलाल आमात्य रुसी पक्ष जस्तो देखिए पनि केही तटस्थ जस्तो । शम्भुराम, मनमोहन चिनीया पक्षमा रहेको थिए । यसरी क.पुष्पलाल, क.मोहनविक्रम, क.मनमोहन र क.शम्भुरामहरूका अलग–अलग पार्टीहरु बने । त्यो बेला वाम आन्दोलनभित्र आत्मगत अवस्था अत्यन्त कमजोर थियो ।

त्यही समयको सेरोफेरोमा चीनमा कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओत्सेतुङ्गको नेतृत्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति शुरु भयो र सन् १९६७ मा सांस्कृतिक क्रान्तिको प्रभावमा क.चारु मजुमदारको नेतृत्वमा भारतको नक्सलवाडीमा किसान विद्रोह शुरु भयो र विद्रोह सामन्तवादविरुद्ध थियो । त्यसको प्रभाव भारतसँग जोडिएको नेपालमा पनि पर्न गयो । प्रभावस्वरुप ‘मेची कोशी प्रान्तीय कमिटी’मा रहेका केही नेताहरू फुटेर झापाली समूह निर्माण गरे ।

जनज्योति कुइनेटो पुस्तकालय, पत्रिकाहरु पञ्चामृत, मुक्तिसंग्राम, झम्पल, रातो लालटिन, झुप्रो आदि मार्फत् ती युवा नेताहरू जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्देश्यसाथ क्रान्तिकारी विचारले लैस हुँदै गए । २०२८ साल जेठ २ गतेदेखि पूर्वी नेपालको झापा जिल्लामा त्यहाँका क्रान्तिकारी कम्युनिष्टहरूले सामन्तवादविरुद्ध सशस्त्र विद्रोह शुरु गरे । सामन्तवाद र साम्राज्यवादको समूल नष्ट गरी जनताको जनवादी राज्यव्यवस्था स्थापना गर्न किसान विद्रोह शुरु गरे । यो झापा विद्रोहले कम्युनिष्ट आन्दोलनभित्र रहेका निराशा, अन्यौल, आक्रोश, पलायन र गोलचक्करवादलाई चिर्दै क्रान्तिकारी धारको निर्माण ग¥यो । कम्युनिष्ट आन्दोलन भित्र रहेको दक्षिणपन्थी अवसरवादसँग झापा विद्रोहले क्रमभङ्ग ग¥यो ।

वास्तवमा झापा विद्रोह सामन्तवाद र साम्राज्यवादका विरुद्ध हतियार उठाएको नेपाल कम्युनिष्ट आन्दोलनभित्रको पहिलो ऐतिहासिक घटना थियो । यो विद्रोहले माक्र्सवादलाई व्यवहारमा प्रयोग गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई समृद्ध गरेको थियो । यसले आगामी कम्युनिष्ट आन्दोलनलाई प्रेरणा दिइरहेको थियो । नेपाली जनताका संघर्षको लामो श्रृंखलामा एउटा महत्वपूर्ण प्रकरण थियो र नेपाली जनताका मुक्तिकामी संघर्षहरूलाई विकास गरेको थियो । यसले सर्वहारा जनताहरूलाई आफूले बाँचेको जीवनप्रति आशावादी र गौरान्वित बनाएको थियो । झापा विद्रोह किसान नेता भीमदत्त पन्तको किसान विद्रोहको कडीको रुपमा स्थापित हुन पुग्यो ।

झापा विद्रोहकै सेरोफेरोमा पूर्वी तराईका सर्लाही, महोत्तरी, सिराहा, धनुषा र सिन्धुलीमा पनि सशक्त किसान विद्रोह भयो । सामन्त, जाली, फटाहा विरोधी संघर्षमा किसानहरू पंक्तिवद्ध भए । उनीहरुले नयाँ कीर्तिमान स्थापित गरे । किसानहरुको त्यस प्रकारको संघर्षले स्थानीय संघर्षको जगबाट छापामार युद्धको प्रक्रियामा जाने सम्भावना त्यतिबेलै प्रवल देखिएको थियो । पछि यो कडीलाई ने.क.पा.(माओवादी)ले सञ्चालन गरेको वि.सं.२०५२ साल फागुन १ गतेको जनयुद्धले जोडेको छ । झापामा मेची क्याम्पसका विद्यार्थीहरू, स्थानीय परिवर्तन चाहने वाम व्यक्तित्वहरू, गरामनी, घैलाडुबा, सुरुङ्गा, अनारमनी, नकलबन्दा, गौरादह आदि स्थानका शिक्षक तथा विद्यार्थीहरूले झापा आन्दोलनलाई उठाइरहेका थिए । २०२८ सालको शुरुतिर पूर्व कोसीबाट कमरेडहरू रामनाथ दाहाल, सी.पी.मैनाली, राधाकृष्ण, के.पी., वीरेन, शिव शिवाकोटी, नेत्र, डम्बर बानियाँ, मोहनचन्द्र अधिकारीले विद्रोह गरे र झापा विद्रोहलाई उनीहरुले त्यो बेला नेतृत्व गरिरहेका थिए ।

फासिष्ट पञ्चायतले झापा विद्रोहमाथि भीषण दमन ग¥यो । भारतीय ‘र’ ले नेपालको स्वाधीनता र राष्ट्रियतालाई हस्तक्षेप गर्दै नेपालभित्रै झापाली आन्दोलनका नेताहरुमाथि सुराकी गर्ने र धडपक्राउ गर्ने बेइमानी गरिरहेका थिए । झापा विद्रोहका नायकहरू प्रवास जान र भूमिगत हुन बाध्य भएका थिए । यसै क्रममा पञ्चायती जल्लादहरुले पाँच युवाहरु क.रामनाथ, क.नेत्र, क.वीरेन, क.कृष्ण र क.नारायणलाई धडपक्राउ ग¥यो । २०२९ साल मंसीर महिनादेखि फागुन २१ गतेसम्म हिरासतमा राखी निरंकुश शासकहरुले युवाहरूलाई अमानवीय यातना दियो र आत्मसमर्पणको प्रयास ग¥यो । आखिर २०२९ साल फागुन २१ गते उनीहरु माथि कुनै अभियोग लाउन नसकी पञ्चायती शासकहरूले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा हातमा हत्कडी लगाएको अवस्थामा उनीहरुको नृशंस हत्या गरे । वास्तवमा यो कायरतापूर्ण हत्या थियो । उनीहरूलाई अदालतमा उपस्थित पनि गराइएन । हिरासतमा राखिएको समयमा देशभित्रका राजनीतिक दलहरू विशेषगरी पूर्वकोशी प्रान्तीय कमिटीका नेताहरुले विरोध जनाएको भए उनीहरूको हत्या नहुन सक्थ्यो । तर, पूर्वकोशीका पुराना नेताहरूको यी विद्रोही युवाहरूसँग पार्टी विभाजनको कारणले चर्को अन्तरविरोध थियो । उनीहरू झापा विद्रोहको क्रान्तिकारी कार्यदिशाबाट आफै आतङ्कित थिए र युवाहरूलाई आतङ्ककारी सावित गरेर आफू प्रशासनिक धडपक्राउबाट बाँच्न चाहन्थे । आफ्नो दलको अस्तित्वको लागि उनीहरूको सफाया गराउन चाहन्थे ।

२०२९ साल पुस र माघ महिनातिर गोविन्द वियोगीको सम्पादकत्वमा काठमाडौंबाट प्रकाशित ‘मातृभूमि’ समाचारपत्रमा पूर्वकोशीका आडम्बरी तथा दक्षिणपन्थी अवसरवादी नेताहरूले हिरासतको यातनामा रहेका पाँच युवाहरूलाई आतङ्ककारी र देशद्रोही भनेर वक्तव्य प्रकाशित गरेका थिए । ‘मातृभूमि’का चार वटा अङ्गहरूमा पूर्वकोशी सम्बद्ध नेताहरुले पाखण्डपूर्ण र नीच वक्तव्य प्रकाशित गरेपछि पञ्चायती शासकहरूलाई युवाहरुको हत्या गर्न मार्गप्रशस्त भएको थियो । सुखानीमा बगेको रगतको तागतमा वि.सं. २०३२ सालमा झापाली विद्रोहीहरूले ‘नेकपा कोअर्डिनेसन कमिटी’ (को.के)को गठन हुन पुग्यो । २०३४ सालमा ‘मुक्ति मोर्चा’ (पुष्पलाल समूह) र ‘अखिल नेपाल किसान संघ’ (डि.वी.सिंह समूह)को को–अर्डिनेसन कमिटीसँग एकता भयो । २०३५ साल पुस ११ गते सी.पी.मैनालीको नेतृत्वमा क्रान्तिकारी पार्टी नेकपा (माले)को पुनर्गठन हुन गयो ।

यसरी सुखानीमा पोखिएको शहीदहरूको रगत र वलिदानले क्रान्तिकारी पार्टी ‘माले’ को गठन भयो र पछि यो एमाले बन्यो । तर, विडम्वना युवाहरूलाई देशद्रोही घोषणा गर्ने र हत्याको वातावरणलाई सहज बनाउन वक्तव्य प्रकाशित गर्ने पूर्वकोशीका केही गद्दार नेताहरू अहिले एमालेको केन्द्रीय समितिमा बसेर ती सुखानीका शहीदहरूको रगत भजाएर पजेरोमा गुडिरहेका छन् । यतिबेला राजतन्त्रको अन्त्यपछि शहीदको सपनालई बेवास्ता गर्दै गणतन्त्रको संस्थागत गर्ने कार्यनीतिबाट उनीहरू भागिरहेका छन् र कम्युनिष्टको नाममा इतिहासलाई कलङ्कित बनाइरहेका छन् । जे होस् मालेको स्थापना अवधिसम्म झापा विद्रोहले क्रान्तिकारी धार र स्पिरिटको प्रतिनिधित्व गरेको थियो । धार र स्पिरिटका दृष्टिले त्यसमा क्रान्तिकारीपन भए पनि नेतृत्वमा रहेको निम्न पुँजीवादी चिन्तन यान्त्रिकता र वामपन्थी दुस्साहसवादको गम्भीर कमजोरीले गर्दा नेकपा (माले)ले पनि घुँडा टेक्यो अन्त्यमा । तैपनि सुखानीको वलिदान र यसले स्थापित गरेको झापा विद्रोहले नेपाली कम्युनिष्ट आन्दोलनमा जनवादी क्रान्तिको निमित्त गरिने सशस्त्र संघर्षमा प्रेरकको भूमिका सधैँ खेलिरहनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here