चाडपर्वमा अपनाउनुपर्ने सुरक्षा

१४ आश्विन २०७९, शुक्रबार मा प्रकाशित

अपराध न्यूनीकरण तथा अनुसन्धानका लागि सम्पूर्ण नागरिकको अहम् भूमिका हुन्छ । तसर्थ, सम्पूर्ण नागरिकलाई बिना बर्दीका प्रहरी भनी बर्दीका प्रहरीद्वारा सम्मान व्यक्त गरिएको हो । नेपालीको महान् चाड बडादशैँ घरआँगनमा आइसकेको छ । नवरात्रिको पहिलो दिनलाई स्वागत गरी घर–घर, कार्यालय तथा हनुमानढोकास्थित कोतघरमा घटस्थापना गरी जमरा राख्ने कार्य सम्पन्न मात्रै भएको छैन । सम्पूर्ण जनसमुदाय चाडपर्वको अवसरमा खुसीले उद्धेलित रहेको देखिन्छ ।

विदेशमा रहेका नेपाल फर्कने, आवश्यकता अनुसार किनमेलमा सरिक हुने, गाउँस्थित घरमा जाने र खुशी साटासाटा गर्ने लगायतका कार्य भई नै रहेको छ भने शुभ दीपावली, छठ र नयाँ नेपाल संवत्सम्म निरन्तर रही नै रहनेछ । अतः मानिसको आवागमन असाध्यै बढी हुने यस अवसरमा सरकारी निकाय जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, सडक विभाग, ट्राफिक प्रहरी र जनपथ प्रहरी तथा सवारीधनी, सवारीचालक, सह–चालक लगायतबाट समूहगत सचेतनामूलक कार्यक्रम गरी सोही बमोजिम कार्यान्वयन गरिनु पर्ने टड्कारो आवश्यकता छ । लामो यात्राका लागि दुई जना सवारीचालक राख्नुपर्ने नियम कार्यान्वयन गरी सवारीधनीले आफूलाई प्राप्त जिम्मेवारी पूर्णतया पालन गरी समाजलाई गुन लगाउनुपर्ने त छँदैछ दुर्घटना न्यूनीकरणमा समेत अहम् भूमिका खेल्नुपर्नेछ ।

सरकारी संयन्त्रबाट बढीभन्दा बढी चेकजाँच गरी मादक पदार्थ सेवन (मापसे) तथा लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाएको पाइएमा हदैसम्मको कारवाही गर्ने, समयमै यान्त्रिक चेकजाँचको व्यवस्था मिलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्न निषेध गर्ने, छतमा यात्रु राख्न नदिने, अनधिकृत पार्किङ नियन्त्रण गर्ने र ट्राफिक नियमको सधैँ पालना गर्न सके र सम्बन्धित सबै निकायले समेत यथासम्भव सहकार्य गरे मात्र सवारीसाधनसहित यात्रुलाई निर्धारित गन्तव्यमा सुरक्षित तथा सुविधापूर्वक पुर्याउन मद्दत गर्छ ।

सवारीसाधनमा यात्रा गर्ने अवधिभर असाध्यै चनाखो रहनुपर्ने हुन्छ । नगद, बहुमूल्य गर–गहनाको प्रयोगले यात्रा अवधिभर सुरक्षा खतरा बढाउँछ । यात्राका क्रममा अपरिचित व्यक्तिले दिएको सामान्य चकलेट, चिया बिस्कुट खाएर लुटिएको घटना त वर्णन गरिसाध्य नै छैन । लुटिनुभन्दा अगावै चनाखो हुन सके राम्रो । पछि पछुताएर गर्न सकिने सम्भावना धेरै कम भइसकेको हुन्छ ।

साथै दैनिक रूपमा काठमाडौंको विभिन्न नाकाबाट बाहिरिने व्यक्तिहरूले आ–आफ्नो घर तथा डेरा छाड्ने क्रममा सुरक्षाका उपायसमेत अवलम्बन गरी आफू, आफन्तजन, स्वजन लगायतलाई सुरक्षित बनाउनु अपरिहार्य भइसकेको छ । अन्यथा आपराधिक कार्यमा संलग्न व्यक्तिबाट लुटिइसकेपछि लगनपछिको पोते जस्तो पछुताउनु बाहेक के नै बाँकी रहन्छ र ? तसर्थ, सम्पूर्ण घर धनीहरूले घरमा राखेको कामदार, डेरामा बस्ने व्यक्तिको नाम, थर, स्थायी, वतन, मोबाइल नम्बर र फोटोसहितको विवरण राखेमा आवश्यक परेमा अनुसन्धान कार्यमा सहजता आउने छ ।

घरमा सीसीटीभी क्यामेरा जडान गर्ने, घरबाट बाहिर जाने क्रममा सके सुरक्षा गार्डको व्यवस्था गर्ने, नसके टोल छिमेकका विश्वासिलो व्यक्तिलाई जानकारी गराउने र नजिकको प्रहरी एकाइलाई जानकारी गराई समय–समयमा गस्ती तथा निगरानी गर्न अनुरोध गर्ने कार्य गरेमा सम्भावित चोरीबाट बच्न सकिने हुन्छ । सकेसम्म नगद र बहुमूल्य गर–गहना बैङ्कमा राख्न सके र अनलाइन कारोबार गरेमा ठूलो क्षति हुनबाट जोगिन सकिन्छ । त्यस्तै प्रकारान्तरले आधुनिक युगमा अपराधीले विविध विधि र प्रविधिको व्यापक दुरुपयोग गरी आपराधिक घटना घटाउने भएकाले आफू सजग रही अरूलाई सजग गराउन हुन तथा सामाजिक सञ्जालको सदुपयोग मात्रै गर्न सके पनि अनलाइन ठगी, हनी ट्र्याप, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरबाट जोगिन सकिने छ ।

जुवा, तास, मा.प.से., ला.प.से. लगायतबाट जोगाएको रकममध्ये केही रकम समाजको हितमा लगाइ आ–आफ्नो टोलछिमेकमा सीसीटीभी क्यामेरा र साइरन जडान गर्ने सके आपत् परेको समयमा आफू जोगिन र छरछिमेक समुदाय आदिलाई जोगाउन सकिनेतर्फ पनि सबैको ध्यान जानु आवश्यक छ । फेसबुकमा नचिनेको व्यक्तिबाट फ्रेन्ड रिक्वेस्ट आएमा, तपाईंलाई चिठ्ठा प¥यो लगायतको सूचना ह्वाट्स एप्समा आएमा नखोली डिलेट गर्ने गर्दा पीडित हुने सम्भावना कम हुन्छ । सामाजिक सञ्जालको पासवर्ड कसैसँग पनि सेयर गर्ने नगरौँ ।

कुनै मित्रसँग अनलाइन भिडियो कल गर्ने क्रममा वास्तविक जीवनमा आफूले के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने तथ्यलाई हृदयङ्गम गर्न सके आफू पनि जोगिन सकिनेछ । सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा लाइभ अपडेट गर्ने बानीले पनि कतै न कतै समस्यामा पार्न सक्छ । आज त गाउँ जान लागेको सपरिवार, अहिले नागढुङ्गामा पुगियो, केही समयपश्चात् मुग्लिनमा खाना खाँदै र दिउँसोको समयमा पोखराको फेवातालमा डुङ्गा सयर आदि छिन–छिनमा अपडेट गर्ने बानीले चोरले घरमा सफाचट पारिसकेको पत्तै हुँदैन । तसर्थ, यात्रा समाप्त गरी फर्केर लेट पोष्ट राख्दा पनि बिग्रने त केही होइन । यसमा सजगता अपनाउँदा वेश हुन्छ ।

आफूले कहिल्यै पनि नकाटेको चिट्ठा प¥यो भनी कोही कसैले सूचना पठाउँदैमा त्यसैलाई पत्याइ आफू सहभागी नभएको चिट्ठाका पछि लाग्नु किमार्थ बुद्धिमानीपूर्ण कार्य हुनै सक्दैन, कदापि पछि नलागौँ । त्यस्ता प्रकारका चिट्ठाका पछि लाग्दा धेरै जनाले अनाहकमा धन गुमाएका, परिवारमा विखण्डन आएका र अन्त्यमा ज्यानैसम्म गुमाएका घट्ना समेत बढिरहेको पाइन्छ । जसरी पौडन नजानेको एउटा व्यक्तिले पौडन सिकेर मात्र गहिरो स्थानमा पौडनु उचित हुन्छ, त्यसरी नै अति उच्च सावधानी अपनाएर मात्र सामाजिक सञ्जालको प्रयोग गर्न सकेमा धन, सामाजिक प्रतिष्ठा र जनको समेत क्षति हुनबाट जोगिन सकिने हुन्छ ।

धेरै जनाको बानी सित्तैमा पायो भने जे पनि प्रयोग गर्ने हुन्छ । सित्तैमा पाइने वाइफाईमा लगइन गरी घन्टौँसम्म ह्याङआउट भइरहने बानीबाट पनि फिसिङमा पर्ने सम्भावना हुन्छ । जसरी मछुवारेले गड्यौलाको चारो हाली पानीमा बल्छी फाल्दा माछाले मुख खोलेन भने बल्छीमा पर्ने सम्भावना हुँदैन, त्यसरी नै हामीले पनि सित्तैमा उपलब्ध हुने वाइफाईमा लगइन नगरेमा फिसिङमा पर्नबाट बच्न सकिन्छ । मापसेले गर्दा लगभग ७७ प्रतिशत अपराध घट्ने गरेको पाइन्छ । तसर्थ, सके मापसे गर्दै नगरौँ र गर्नै परे पनि थोरै गरौँ । मादकपदार्थले आफूलाई कहिल्यै पनि सेवन नगरोस् भन्ने तर्फ पनि सचेत रहन सके जीवन, धन त अपराध कर्मबाट जोगिन सकिन्छ ।

पंक्तिकार जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख रहेको समयमा बिहान एउटा वृद्धको हत्या भएको भनी मातहत कार्यालयबाट प्रतिवेदन आयो । इलाका नाकाबन्दी गरी अनुसन्धान गर्ने क्रममा अघिल्लो दिन बाबुले वृद्धभत्ता ल्याएका रहेछन् । साँझ बाबुछोरा बसेर मापसे गरेछन् । बाबुले छोरालाई अब पिउने कार्य बन्द गरौंभन्दा छोराले मानेनछन् र अझै पिउने कुरा गर्दा बाबुले नमानेपछि छोराले छेउमै रहेको दाउराको चिर्पटले हिर्काउँदा बाबुको तत्कालै ज्यान गएको रहेछ । बाबुको दुःखद् निधन र छोराको कारागारको बास मापसेले नै गराएकाले यसलाई आफूले प्रयोग गर्ने बानीमा पनि आमूल सुधार गर्नु जरुरी छ ।
जसरी सम्पूर्ण व्यक्तिले का
नून जानेकै र पालना गरेकै हुनुपर्छ भन्ने विधिशास्त्रीय मान्यता छ त्यसरी नै कानून पालनाका लागि प्रहरीको परिकल्पना गरिएको हुन्छ । नेपाल प्रहरी ऐन, २०१२ ले प्रहरीको गठन गरी जन र धनको सुरक्षा गर्ने जिम्मेवारी प्रदान गरेको परिप्रेक्ष्यमा उक्त कार्यका लागि २४ सैँ घन्टा परिचालित रहेको छ ।

अपराध न्यूनीकरण तथा अनुसन्धानका लागि सम्पूर्ण नागरिकको अहम् भूमिका हुन्छ । तसर्थ, सम्पूर्ण नागरिकलाई बिना बर्दीका प्रहरी भनी बर्दीका प्रहरीद्वारा सम्मान व्यक्त गरिएको पाइन्छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत, नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था, विद्यालय, सञ्चारकर्मी लगायतको भूमिकाले गर्दा नै आपराधिक कार्यमा संलग्न व्यक्ति हतोत्साहित हुँदै गरेकाले सबैको प्रयास यसैमा केन्द्रित हुन सके सुरक्षा र विकास, सुरक्षा र प्रशासन सुदृढ हुनेछ ।

मैनाली काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here