गठबन्धनबीच सिट बाँडफाँट: झापाका ३ क्षेत्रमा कांग्रेस, २ माओवादी

१४ आश्विन २०७९, शुक्रबार मा प्रकाशित

झापा ।

झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटा निर्वाचन क्षेत्र नेपाली कांग्रेसले लिएको छ भने दुई वटा निर्वाचन क्षेत्र एकीकृत नेकपा माओवादीको भागमा परेको छ ।

सत्ता समीकरणका लागि गठबन्धन दलहरूबीच बसेको बैठकबाट झापाको १, ३ र ४ नम्वर क्षेत्र नेपाली कांग्रेसले र २ र ५ नम्वर निर्वाचन क्षेत्र माओवादीको भागमा परेको हो । आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा सत्तारुढ दलहरुबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

सिट बाँडफाँटको टुङ्गो लागेसँगै झापा क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, ३मा पार्टीका पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौला र ४मा जिल्ला सभापति देउकुमार थेवेले टिकट पाउने निश्चित भएको छ । किनकि तीन वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गर्दा नेपाली कांग्रेस झापाले एक÷एक जनाको मात्रै नाम सिफारिस गरेको थियो ।

यता झापा क्षेत्र नम्वर २ मा एकीकृत नेकपा माओवादीले उम्मेदवारको नाम टुङ्ग्याउन सकेको छैन भने झापा क्षेत्र नम्वर ५मा रञ्जित तामाङ उम्मेद्वार हुने भएका छन् । उनी पार्टीका केन्द्रीय कमिटी सदस्य हुन् ।

झापा क्षेत्र नम्वर २ मा पूर्व सञ्चारमन्त्री तथा २०७४ सालमा निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्र कार्की र पूर्वराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य धर्मशीला चापागाँईको नाम चर्चामा छ । सिट वाँडफाँटका क्रममा झापा क्षेत्र नं. १मा नेपाली कांग्रेसको भागमा परेपछि राम कार्कीलाई क्षेत्र नं. २ बाट उठाउने तयारी गरिएको हो । यस अघि कार्की झापा १बाटै सिफारिस भएका थिए ।

नेकपा माओवादी केन्द्रका झापा अध्यक्ष राजु आचार्य अग्निले झापा क्षेत्र नम्वर २मा कार्कीले टिकट पाउने बताएका छन् । तर, चापागाँईले पनि यो क्षेत्रका लागि टिकटको दावी गरिरहेकी छिन् । उनले टिकट आफूले नै पाउने दावी गरिन् । ‘म नउठेको खण्डमा मात्रै पार्थ दाईले टिकट पाउनु हुन्छ’– धर्मशीलाले भनिन्– झापा क्षेत्र नम्वर २ को गठबन्धन दलको तर्फबाट आधिकारिक उम्मेदवार म नै हुँ ।

धर्मशीला २०६३ सालमा अन्तरिम विधायिका भएकी थिइन् । त्यसपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी झापा क्षेत्र नं. ४ बाट निर्वाचित भएकी थिइन् । त्यसक्रममा उनी राज्यमन्त्री समेत भइन् ।

२०२९ सालमा जन्मिएकी बुवा डिल्लीप्रसाद चापागाँई र आमा गंगामाया चापागाँईकी छोरी धर्मशीला २०६३ सालमा अन्तरिम विधायिका भएकी थिइन् । उनका श्रीमान् शंकर घिमिरे तत्कालीन शाहीकालमा सेनाको यातनाबाट मारिएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट निर्वाचन लड्दा उनी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग पराजित भएकी थिइन् । २०७४को निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन नलडेकी उनी समानुपातिक सांसद बनेकी थिइन् ।

झापा क्षेत्र नं. २का लागि कांग्रेसबाट सिफारिस भएका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, केन्द्रीय सदस्य सरिता प्रसाई, पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, महाधिवेशन प्रतिनिधिहरु छत्रबहादुर गिरी, जलकुमार गुरुङ र विद्यार्थी नेता नवीनराज प्रसाई टिकटको लाइनमा थिए । तर, गठबन्धन दलहरुबीचको सिट वाँडफाँटको विषयमा भएको सहमतिले उनीहरुको आकांक्षा अधुरै भएको छ । पार्टीबाट सिफारिस भएका आकांक्षीमध्ये बुढाथोकी र गिरी र गुरुङ प्रवल दावेदार रहेका थिए ।

यता माओवादी केन्द्रका तर्फबाट झापा क्षेत्र नं २ मा राजु आचार्य (अग्नि) र ५ बाट रञ्जित तामाङ सिफारिस भएका थिए । गठबन्धन दलहरुले प्रतिनिधिसभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन् ।
सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चित छ । कांग्रेसले ८५ सिट लिएको छ । राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here