प्रदेशमा कसले पाउला टिकट ?

१४ आश्विन २०७९, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

झापा २ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचनको ‘क’ र ‘ख’ क्षेत्रमा कुन पार्टीबाट कसले टिकट पाउला भनेर विभिन्न अड्कलबाजी हुन थालेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन तथा एमालेका उम्मेदवार लगभग निश्चित भएपछि प्रदेशको चर्चा पनि उत्तिकै बढेको छ । झापा २को ‘क’बाट गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका कुमार भट्टराईको नाम निक्कै चर्चामा छ । उनी बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश समिति सदस्य समेत हुन् । उनीसँगै दौडमा छिन् मीरा खड्का । तर, टिकट कसले पाउला भन्ने अहिले नै कसैले ठोकुवा गर्न सकेको छैन । उक्त क्षेत्रबाट गोपाल मैनाली र रोशन सुवेदीको नाम समेत कांग्रेसले सिफारिस गरेको थियो ।

माओवादीका ज्योतिसिंह दर्लामीको नाम पनि चर्चामा छ । तर, प्रतिनिधिसभामा गठबन्धनबाट माओवादीले क्षेत्र नं. २ पाएपछि प्रदेशमा कांग्रेसको उम्मेदवार हुने देखिएको छ । एमालेबाट एकराज कार्कीले टिकट पाउने लगभग निश्चित छ । उनी यसअघि समेत सो क्षेत्रबाट प्रदेशसभाका बिजयी सदस्य हुन् । एमालेसँग गठबन्धनको तयारी गरिरहेको राप्रपाका नेता भक्ति सिटौलाले समेत प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने चर्चा छ ।

उता क्षेत्र नं. २ कै ‘ख’मा कांग्रेसबाट खगेन्द्र मैनाली र मदनकुमार बुढाथोकीको नाम चर्चामा छ । टिकट हत्याउन दुबै दौडमा छन् । कांग्रेसका एक कार्यकर्ताका अनुसार बुढाथोकीले त घरदैलो अभियान नै शुरु गरिसकेका छन् ।

सो क्षेत्रमा एमालेबाट चिन्तन पाठक र हरिकुमार रानामध्ये एक जनाले टिकट पाउने निश्चित छ । पाठक एमालेका प्रदेश समिति सचिव र राना अर्जुनधारा नगरपालिकाका निवर्तमान मेयर हुन् । उनीहरुबीच पनि टिकट लिनका लागि दौडधुप भइरहेको बताइन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here