झापा–४ मा युक्तप्रसाद भेटवालको उमेदवारी घोषणा

१५ आश्विन २०७९, शनिबार मा प्रकाशित

सुरुङ्गा ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा झापा क्षेत्र नंं. ४ मा प्रतिनिधिसभाका लागि युक्तप्रसाद भेटवालको उमेदवारी घोषणा भएको छ ।

समाजसेवी व्यक्तित्वको छबि बनाएका शेरबहादुर थापाको संयोजकत्वमा गठित स्वतन्त्र नागरिक कार्यसम्पादन समूहको तर्फबाट भेटवालको उम्मेदवारी घोषणा गरिएको हो ।

स्वतन्त्र समूह प्रदेश नं. १ का निर्वाचन परिचालन समितिका सदस्य समेत रहेका भेटवाललाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि समूहका संयोजक थापाले समूहको तर्फबाट उमेदवार घोषणा गरेका हुन् ।

पञ्चायतकालमा नेकपा मालेको संगठकका रूपमा भूमिगत कार्यकर्ता रहेका भेटवाल कम्युनिष्ट दर्शनबाट अभिप्रेरित थिए । २०५६ सालको चुनावमा झापा क्षेत्र नं. ४ बाट एमालेबाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका भेटवाल नेपाली कांग्रेसका चक्रप्रसाद बास्तोलासँग झिनो मतान्तरले पराजित बनेका थिए ।

नेकपा एमाले परित्याग गरी केही समय स्वतन्त्र, त्यसपछि नारायणकाजी श्रेष्ठ नेतृत्वको जनमोर्चा र त्यसपछि नेकपा एमाओवादीमा आबद्ध रहेका भेटवालले केही वर्षदेखि स्वतन्त्र नागरिकको रूपमा जीवन बिताइरहेका थिए ।

उम्मेदवारी घोषणा कार्यक्रममा भेटवालले राजनीतिक दलभित्र रहेको भ्रष्ट गतिविधिको आलोचना गरे । उनले भने, ‘दल र तिनका नेताहरू सत्तामोहका कारण जनभावना लत्याइरहेका छन् ।’ दलका क्रियाकलापका कारण जनतामा निराशा र आक्रोश दुवै बढेको उनको मन्तव्यको सार थियो ।

सो कार्यक्रममा वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, झापा क्षेत्र नं. २ बाट संघीय संसदका स्वतन्त्र उमेदवार स्वागत नेपाल, नागरिक अभियन्ता अनिरुद्र तिम्सिना लगायतले मन्तव्य राख्दै स्वतन्त्र समूह जनभावना अनुरूप अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपस्थित सबैलाई स्वतन्त्र समूहका सदस्य दावा शेर्पाले स्वागत गरेका थिए । समूहका संयोजक शेरबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन दिननाथ खतिवडा (दिनेश) ले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here