उत्स्रवण आन्दोलन किन ?

१५ आश्विन २०७९, शनिबार मा प्रकाशित

वर्तमान हराएको मान्छेको आत्मविश्वास हुँदैन
आत्मविश्वास नभएको समाजको आत्मसम्मान हुँदैन
आत्मसम्मान नभएको देशको कुनै सपना हुँदैन ।।

खडेरी परेको जमिनले बिरुवा उमार्दैन । विचारको खडेरी परेको समाजले सपना जगाउँदैन । त्यसैले हामी बत्ती बालेर एउटा यात्रामा निस्कँदैछौं । विश्वविद्यालय होस् कि राजनीतिक पार्टीका मञ्च, चोक चौतारो होस् कि संसद् भवन, हामीले हाम्रो समाजमा ज्वलन्त समस्या माथि सार्थक ज्ञानको बहस नगरेको धेरै भयो । निराशा छ, आक्रोश छ, प्रश्नहरू पनि छन् । तर, लिखुरे प्रश्नलाई निराशा र आक्रोशले छोपेको छ । निराशा र आक्रोश किन यस्तो हाबी भयो त ? किनभने हाम्रा प्रश्न पनि ठीक ठाउँमा परिरहेका छैनन् । प्रश्नले समाजको चित्त पक्रिएन भने जवाफ नै नाजवाफ हुन्छ । चित्त फाटेपछि फगत निराशा र आक्रोश मात्रै बाँकी रहन्छ । चित्तमा सपना भर्ने विचारको अञ्जुलीले हो । हामी सपना नै गलत देखिरहेका छौं भने पक्कै पनि यो विचारको संकट हो । यो संकटको अँध्यारोमा हामीले नयाँ विचारको बत्ती बाल्नु परेको छ । त्यही बत्तीको नाम हो : उत्स्रवण आन्दोलन (Oozelution Movement)। ज्वालामुखीबाट लाभा निस्के जस्तो मानव समाजलाई आजको संकटबाट बाहिर निकाल्ने आन्दोलन नै उत्स्रवण आन्दोलन हो ।

दार्शनिक संकट

उत्स्रवण आन्दोलनको पहिलो निस्कर्ष के हो भने मानव संसार आज दार्शनिक संकटमा छ । आजसम्म विकास र प्रयोग भएका दार्शनिक प्रणालीहरू आजका ज्वलन्त समस्याहरू समाधान गर्न सक्षम छैनन् । संसारभर मानव समाज फगत आक्रोश र निराशामा फँसेको छ । खतरनाक वातावरणीय र मानवीय संकटको तुलनामा आर्थिक, राजनीतिक वा अरू सतहमा देखिएका संकटहरू त केवल रोगका लक्षण जस्ता मात्रै हुन् । राजनीति त्यही दार्शनिक संकटमा गाँठो परेकोे छ, समाज व्यवस्था अल्झेको छ । उत्साह हराएको छ, सपना मुर्झाएको छ । भएका दर्शन वा विचारले यो संकट बुझ्न र समाधान दिन सकिरहेका छैनन् । जनताले आत्मबोध त गरेका छन्, तर यसको गुह्य कारण बेपत्ता छ । त्यो बेपत्ता संकटको जरा हामीले पत्ता लगाएका छौं । संसारलाई जालभित्र पार्ने त्यो दार्शनिक वैचारिक चक्रव्यूहको नाम हो ः युरो (उपनिवेशी व्यूह (भ्गचय(ऋययिलष्ब िएबचबमष्नm) । पाँच सय वर्ष अगाडि रचना भएको यो राजनीतिक व्यूहले चमत्कारी वैज्ञानिक र प्राविधिक आविष्कार त ग¥यो तर साथसाथै मानव समाजलाई अन्याय, अत्याचार र असमानताको दर्दनाक चक्रव्यूहमा फँसाइ पनि दियो । अनि प्रकृतिको सन्तुलन नै खलबल्याइदियो ।

संसारलाई उपनिवेश बनाउँदै युरोपले यो व्यूह रचना गरेको थियो । यो व्यूहले हाम्रो मन, मस्तिष्क, र जीवन मात्र होइन, देश नै उपनिवेश बनाइसकेको छ । हाम्रा सपना, जपना, सुख, दुःख, खुशी, निराशा सबै यही व्यूहले उत्पादन गरिरहेको छ । हाम्रो आफ्नो स्वत्व नै छायाँमा परेको छ, विषादमा डुबेको छ । आफ्नो भूमिमा सपना नै देख्न नसक्ने अनुभूतिले ग्रस्त युवाले विदेश कै सपना सजाउन थालेको धेरै भइसक्यो । यो देशमा केही हुँदैन भन्ने त थेगो नै भइसक्यो । देशलाई आफैं बनाउने कुनै सपना नभएको देशमा भ्रष्टाचारको बिगबिगी हुनु अस्वाभाविक होइन । सिमानाले होइन, सपनाले देशको अस्तित्व बनाउँछ । जब जमिनमा टेकेको, जनताको जीवनमा जरा गाडेको र प्रकृतिसँग मितेरी गाँसेको सपना हुँदैन, तब मानचित्रमा हुँदाहुँदै पनि मान्छेले देश हुनुको अनुभूति गर्दो रहेनछ । त्यसैले सत्ता, शक्तिमा पहुँच हुनासाथ राज्यकोष दोहन गर्ने र भ्रष्टाचार गर्ने रोगले मान्छे ग्रस्त हुँदोरहेछ । मानौं, ऊ हतार–हतार भेटे जति चीज पोको पारेर कतै भाग्ने तयारी गरिरहेको छ ।

कृषि समाप्त हुने क्रममा छ । विदेशबाट ल्याएको रेमिटेन्सको पैसाले विदेशबाटै खानेकुरा आयात गरेर खानुपर्ने त्रासद् देश बनाइसकेका छौं हामीले । विचारको हिसाबले त नेपालमा लामो समयदेखि कृषि उन्मूलन कार्यक्रम नै चलिरहे जस्तो लाग्छ । हाम्रो उत्पादन नगण्य छ, आयातको अंक भयावह छ । के यस्तो देशले नयाँ पुस्ताको निम्ति सपना फुलाउन सक्छ ? सक्दैन र सकिरहेको पनि छैन । कल्पना गरेर ल्याउँदा यो देशको भविष्य खतरनाक मोडमा उभिएको छ । मानौं, युद्ध वा प्राकृतिक विपद्ले रेमिटेन्सको स्रोतमा धावा बोल्यो । हाम्रो अवस्था के होला ? आधा करोडभन्दा बढी मान्छे विदेशमा छन् । उनीहरू फर्कनु परेको घडी के होला ? उनीहरू निष्क्रिय र बूढो शरीर मात्र होइन, आक्रोशित र निराश मन पनि सँगै लिएर फर्कनेछन् । पैसाको स्रोत त सुक्छ नै, बाँझो र विषादिले जर्जर बनाएको जमिनबाट अचानक सबैलाई पुग्ने अन्न त उब्जँदैन । जहाँबाट हामी अन्न आयात गरिरहेका छौं, त्यहीँ खडेरी वा कुनै कारणले कम उत्पादन भैदियो भने ? आजको विश्व (व्यवस्था–युरो–उपनिवेशी व्यूह)ले यस्ता संकट संसारभरि उब्जाइरहेको छ । यसको सबैभन्दा पहिलो शिकार नेपाल जस्तै पराश्रित, परामुखी र परनिर्भर देश नै हुने हुन् ।

युरो–उपनिवेशी व्यूह (Euro-Colonial Paradigm)ले संसारकै मानव–जगत्लाई भीरको डीलमा पु¥याएर छाडिदिएको छ । वातावरणीय संकट चरम छ । केही महिनाको खडेरी, तापमान वृद्धि र डढेलोले नै आज युरोप, अमेरिकालाई आच्छु– आच्छु पारिदिएका छन् । बेलायतको थेम्स नदी, जर्मनीको रायन नदी, अमेरिकाको कोलोराडो नदीहरू सुकेर भयानक संहारको संकेत गरिरहेका छन् । युक्रेन युद्ध होस् वा वातावरण्ीाय संकट, संसारकै अर्थतन्त्रमा यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । प्रकृति र मान्छेको जीवनमा आइरहेको संकट त झनै कहालीलाग्दो छ । प्रकृति बनाम मान्छे, संस्कृति बनाम संस्कृति, धर्म बनाम धर्म, देश बनाम देशको अपरिमित द्वन्द्वको सिद्धान्त युरो–उपनिवेशी दर्शनकै उपज हो । यो घर्षणको सिद्धान्तले मानव–जगत् मात्र होइन, प्रकृति नै भयानक ठूलो शोषण, दोहन र उपनिवेशको शिकार भयो ।

यसबाट बाहिर निस्कन हामीले आन्तरिक रूपमा प्रकट भएका विविध उपनिवेशी ज्ञान र राजनीतिबाट आफूलाई लाभाजस्तै बाहिर निकाल्नुपर्नेछ, अर्थात् उत्स्रवण गर्नुपर्नेछ । हामीले लामो समयदेखि निर्माण र अभ्यास गरेको राज्य–सत्ता युरो–उपनिवेशी व्यूहकै हिस्सा भएको हुनाले यसले पनि अनेक आन्तरिक उपनिवेशको रचना ग¥यो । प्रकृति, विविध समुदाय र महिलामाथि उपनिवेशी शासन चलाएर यसले परिवार, समाज र देशभित्रै अनेकन परस्पर विरोधी भिन्नताहरू सिर्जना ग¥यो । हामीले आन्तरिक उपनिवेशबाट मुक्त गरेर सबै हातहरू र सबै साथहरू नजोड्ने हो भने युरो–उपनिवेशी व्यूहबाट बाहिर निस्कने शक्ति पुग्दैन । त्यसैले यो दार्शनिक संकटबाट बाहिर निस्कनका निम्ति यो व्यूह चिन्ने नयाँ ज्ञान, नयाँ वैज्ञानिक दर्शन/विचारको आवश्यकता छ र त्यही ज्ञान/विचारको उज्यालोमा नयाँ राजनीति र नयाँ समाज स्थापना गर्नुको विकल्प छैन । अब त यो शासकीय अहंकार वा शक्तिको मात्रै कुरा रहेन, प्रत्येक व्यक्ति र प्रकृतिको अस्तित्वको सवाल हुन आयो ।

आफ्नो वर्तमान, आफ्नो स्वत्व

नक्कली राजनीतिबाट जोगिन सक्कली राजनीति चाहिन्छ । नक्कली विकासबाट जोगिन सक्कली विकास चाहिन्छ । भूत र भविष्य चिन्न, वर्तमानको बोध चाहिन्छ । नक्कली राजनीति र विकासको बोझले नेपाल थिलथिलो भएको छ । नेपाली जनता निराश छन् । यी बोझ, यी निराशाबाट बाहिर निस्कन नेपाली जनताले नयाँ विचार र नयाँ चेतनाको ज्योति खोजेका छन् । आफ्नो स्वत्वको अनुभव हुनका लागि आफ्नो माटोको सुगन्ध चाहिन्छ । हामी उत्स्रवण आन्दोलन मार्फत् त्यही ज्योति संसारभर बाल्न खोजिरहेका छौं ।

युरोपबाट आयातित राजनीतिक विचारले धेरै परिवर्तनका निम्ति सकारात्मक योगदान ग¥यो । तर, यसले निरन्तर संसारलाई उपनिवेश बनाइराख्ने प्रपञ्च पनि सँगसँगै ग¥यो । त्यसैले संसारै संकटमा पर्दा हामीले सोच्नुपर्ने भयो, हाम्रो स्वत्व के हो ? विकासे साँढे देखाएर हामीलाई अविकसित साबित गर्ने । पुँजीवादको भूत देखाएर हामीलाई भूतकालको नागरिक तुल्याउने । हामीलाई भूतकालमा ठेगान लगाएर युरोप अमेरिकामा भविष्य देखाउने । यो दार्शनिक प्रपञ्चबाट बाहिर निस्केर हामीले आफ्नो वर्तमानमा ठेगाना खोज्नुपर्ने भएको छ । हाम्रो स्वत्व र पहिचानमा खडा भएर आफ्नो भविष्यको रेखाङ्कन आफैं गर्ने नयाँ विचार खोज्नुपर्ने भएको छ ।

भविष्य भनेको बनाउने कुरा हो । आजको युरोप अमेरिका न त हाम्रो भविष्यको चित्र हो, न त उनीहरूकै भविष्य हो । वर्तमान चिन्ने र भविष्य बनाउने कुरा त सधैँ एउटा रचनात्मक र सिर्जनात्मक प्रक्रिया हुन्छ । तर, भूतकालको नागरिकले न वर्तमान चिन्छ, न त भविष्यकै खाका कोर्न सक्छ । ऊ युरोपको ऐनामा आफ्नो अनुहार खोज्दाखोज्दै मानसिक रोगी पो हुन्छ । हाम्रो सारा विकासको नारा, वैदेशिक लगानी, ऋण र अनुदानको खेल त आफूलाई हराएर अरुको फोटोमा आफ्नो अनुहार खोज्ने भ्रमको दन्तेकथा पो रहेछ ।

त्यसैले अब सबैको शीर उठाऔं । प्रकृतिको शीर उठाऔं, जग्गा–जमिनको शीर उठाऔं, नदी–नालाको शीर उठाऔं, वनजंगलको शीर उठाऔं, जडीबुटीको शीर उठाऔं, स्थानीय ज्ञानको शीर उठाऔं, किसानको शीर उठाऔं, आदिवासी र जनजातिको शीर उठाऔं, दलित र महिलाको शीर उठाऔं, थारु र मधेशीको शीर उठाऔं, सबै–सबै उत्पीडित, अल्पसंख्यक, सीमान्तकृत, पिछडा वर्ग र समुदायको शीर उठाऔं । सबै धार्मिक समुदायको शीर उठाऔं, गरीब किसान–मजदुरको शीर उठाऔं, अर्थात् सारा देशको शीर उठाऔं । सबै समुदाय र सबै हातहरु जोड्न, सबैको श्रम र पसिना जोड्न, सबै जमिन र मन जोड्न, अब पनि हामीले पहल नगर्ने हो भने युरो–उपनिवेशी चक्रव्यूहबाट यो देश उत्स्रवण गर्न सक्दैन । ठूलो उपनिवेशी व्यूहबाट निस्कन हामीभित्रैका आन्तरिक उपनिवेशी जञ्जाल तोड्नैपर्छ । देशको वर्तमानमा जरा फैलाएर उभिने हो भने सबैको शीर उठाउनैपर्छ ।

नया विश्वदृष्टि निर्माण अभियान

पुरानो विश्वदृष्टि बदल्ने तागत नयाँ विश्वदृष्टिसँग मात्रै हुन्छ । सपना देख्ने तागत सिर्जनशील मस्तिष्कमा मात्रै हुन्छ । अरूजस्तै बन्ने सपना, सपना नै होइन । आफू जस्तै बनेर केही नयाँ सिर्जना गर्ने सपना नै वास्तविक सपना हो । सिर्जनशीलता र स्वप्नशीलतामा नै वास्तविक सुख र आनन्द हुन्छ । हामीले सिर्जनशील भएर नसोचेको कति भयो ? अरू जस्तै बन्ने होडमा आफ्नो वर्तमान गुमाएको कति भयो ? पुरानो विश्वदृष्टिको चक्रव्यूहमा परेर समाजको प्रयोगशील र स्वप्नशील चरित्र गुमाएको कति भयो ?

हामी अझै पनि स्वीटजरल्यान्ड वा सिंगापुर हेरेर दुःखी छौं । अझै पनि लि क्वान यु वा अरू कुनै हिरो सम्झेर आफैंलाई नतमस्तक तुल्याइरहेका छौं । हामी आफैंले आफैंलाई चिन्न नसकेको कति भयो ? यस्तो लाग्छ, मानौं हाम्रा हरेक बच्चा गर्भदेखि नै हातमा डिभी भिसाको निवेदन बोकेर यो धर्तीमा च्याहाँ गर्न आइरहेका छन् । जवानहरू मानौं यस्तो छाती हुर्काइरहेछन् जो फगत विदेशी सेनामा भर्ती हुन कै लागि कुनै फिता खोजिरहेछ । देश भनेको जनता हो । जनताको सपना नै जब विदेश हुन्छ, देश कहाँ हुन्छ ? यी सबै युरो–उपनिवेशी व्यूहले उत्पादन गरेको जिनिस हो । सपना जब कुनै चिनियाँ कम्पनीको उत्पादन हुन्छ, त्यो सपना जुनसुकै बेला कुनै न कुनै सिमानामा अल्झिएरै समाप्त हुन्छ ।

त्यसैले वर्तमानमा खडा हुने हिम्मत गरौं । राजनीति केही हो भने जनताको सामुहिक र संगठित आवाज हो । राजनीतिलाई जनताकै राजनीति बनाउन अब पहल गर्नैपर्छ । राजनीति कसैले ठेक्का हालेर पाउने कुनै अवसर होइन । राजनीति कसैको पैतृक सम्पत्ति पनि होइन, जो वंशजका आधारमा पाउने कुरा हो । राजनीति त वर्तमानको कर्मको कसी हो । जनताले राजनीति छाम्न, परख गर्न पाउनुपर्छ । पाएनन् भने त्यो राजनीति नै होइन । आमजनतालाई हामी आह्वान गर्न चाहन्छौं, तपाईंको भागको राजनीति तपाईं स्वयम् गर्नुहोस् । राज्यलाई आफ्नो राजनीति अनुकूल हिँडाउन सधैँ पहल गर्नुहोस् । शीर उठेको समाजले मात्र आफ्नो राजनीति आफैं गर्न सक्छ । एकजना मात्र मान्छे तपाईंको घर, समाज वा देशमा शीर झुकेको अवस्थामा छ भने तपाईंको घर, समाज वा देश कहिल्यै स्वस्थ र सबल हुँदैन ।

प्रकृति, मान्छे र ब्रम्हाण्ड सबै एक अर्कामा अन्योन्याश्रित रूपमा जोडिएका छन् । प्रत्येक चीज प्रत्येक चीजसँग जोडिएर मात्रै अस्तित्वको रचना हुन्छ (Everything is connected to everything else) । एकको विरुद्ध अर्को होइन, सबै एक अर्कासँग जोडिएर नै ब्रम्हाण्डको रचना भएको हो । त्यसैले सबैको शीर उठेको समाज बनाउन जरुरी छ । अब हामी यस्तो महान् राजनीति बनाऔं कि सबैको शीर उठेको समाज निर्माण गर्ने हाम्रो उद्देश्य होस् । अनि मात्र हामी एउटा सुखी, समृद्ध र रचनात्मक समाज बनाउन सक्छौं । एकको विरुद्ध अर्को भिडाउने युरो–उपनिवेशी विश्वदृष्टिबाट अब हामी लाभा जस्तै उम्लेर बाहिर निस्कौं र त्यसपछि लाभाजस्तै जमेर एउटा सुन्दर संसारको निर्माण गरौं ।

(पाठकले झापा ५ मा स्वतन्त्र उम्मेद्वारीको घोषणा गरेका छन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here