डोजरले बिथोलेको दशैं

१५ आश्विन २०७९, शनिबार मा प्रकाशित

सानीको नाकमा नयाँ लुगाको बासना ठोक्कियो । सानीले लामो सास तानेर नयाँ लुगाको बासना लिइ र आनन्द मानी । तर, नयाँ लुगाको बासना लामो समय टिकेन किनकि त्यो बासना, लुगाको झोला बोक्ने मानिससँगै साथ लागेर गैइ गयो । त्यसैले नयाँ लुगाको त्यो मिठो बासना हराएर गएसँगै सानीको आनन्द पनि हराएर गयो ।

भनि सानीले बाबुलाई, बाबा मलाई कहिले दशैंको नयाँ नाना किनिदिने ? नयाँ नानाको बासना कस्तो मिठो हुँदो र’छ । बाबुले भन्यो– कुन नयाँ लुगाको कुरा गर्छे ? होइन बहुलाही कि क्या हो यो ? सानीले भनि– अघि नै हाम्रै अगाडिबाट एक हुल मान्छे गए नि, उनीहरुले दशैंका लागि नयाँ नाना झोलामा बोकेका र’छन् । हो त्यही नानाको झोला मेरो नाकैमा ठोकाउँदै लगे । नयाँ नानाको बासना कति मिठो गरी आयो क्या बाबा । बाबुले भन्यो– नयाँ लुगाको बासना आएर के भो त ? तेरो पुरानो लुगाको पनि अमिलो गन्ध त आएकै छ त । त्यही सुँघेर बस् न, कि नाक थुनेर बस् । बाबु–छोरीको कुरा सुनेर आमा चाहिँ रुन्चे हाँसो हाँस्छे ।

सानी भन्छे– हे बाबा पनि के भन्छौ हौ, मलाई दशैंको लुगा कहिले किनिदिन्छौ ? भनेको क्या बाबा । बाबु भन्छ– अनि हाम्रै लुगाको पसल थियो त । सानी भन्छे– हो त बाबा हाम्रो लुगाको पसल थियो हो कि ? बाबु भक्कानिएको स्वरमा भन्छ– थियो नाई, हाम्रो टिनको बेराबारा गरेको सानो लुगाको पसल बडेमानको डोजर लाएर भत्कायो । पसलको सबै लुगा लगेर गयो । सानीले सोधी– हाम्रो पसल किन लगेका होलान् बाबा ? बाबु भन्छ– लगेको होइन छोरी लुटेको । लुट्न पल्केकाहरुले ती लुगा आफै लगाउँदा होलान् र बाँकी बेचेर रक्सी खाँदा होलान् । नाकको सिंगान स्वाँक्क पार्दै सानीकी आमा बोली, चोरेर लगे हाम्रा पसल । दशैंमा अर्कालाई बिल्लीबाठ पारेर भोकै–तिर्खै पारेर भएको थोरै धनको पसल भत्काएर डाका शैलीमा लुटेर लगे । तिनीहरुलाई चोरेर र लुटेरै खान पुगोस् असत्ती पापीहरुलाई । सानीले सोधी– असत्ती पापी भनेको के हो आमा ?

आमा चाहिँ बोल्न सकिन र बाबुले भन्यो– दुःखजिलो गरी अर्काको पेट पाल्ने रोजीरोटी, धनमाल, मन र मान बिनासित्तीमा बर्बाद पार्नेलाई असत्ती, पापी, डाका, राक्षस अनि अरु के–के हो के–के भन्छन् छोरी । सानीले सोधी– हाम्रो पसल किन भत्काका त बाबा ? बाबु भन्छ– हाम्रो टिनको बेराबारा भएको पसलको नक्सा पास ले भन्यो । महानगरले अहिलेसम्म कुनै पनि टिनको टहराको नक्सा बनाएको थाह छैन त भनेको त राक्षसी शैलीमा रिसाउँदै डोजर लाएर भत्काइदियो र सामान लुटेर लग्यो । सानीले सोधी– महानगर भनेको के हो बाबा ? वडा सदस्य, अध्यक्ष, उपमेयर र मेयर भन्छन् नि हो उनीहरुको अफिस हो ।

त्यसले घरहरुको नक्सा पास गर्ने काम पनि गर्छ तर अहिलेसम्म टिनको टहरा, छाप्राको नक्सा पास गरेको छैन । महानगर आफै नक्सा नबनाउने अनि उल्टै नभएको नक्साले भन्दै निजी जग्गाको घर–टहरा भत्काउने गर्दैछ । सानीले सोधी– अनि त्यस्तो गर्न पाइँछ त ? बाबुले भन्यो– खै पाइँदो र’छ त । सानीले फेरि सोधी– कसरी बाबा ? बीचैमा आमा चाहिँ बोली, भस्मासुरलाई चुनेपछि पाइँछ । जनताहरुले कहिले काहिँ भस्मासुरलाई चुन्न पुग्छन् क्या । सानीले सोधी– भस्मासुर भनेको के हो आमा ? आमाले भनि, गुण नदेख्ने, गुन गर्नेहरुलाई नै बैगुन गर्ने बज्रस्वाँठलाई भस्मासुर भन्छन् क्यार । जसले मान्छे त के देउता समेतका टाउकैमा टेक्छ ।

सानीले जिद्दी गरी, लु कुरो जेसुकै होस् मलाई चैँ नयाँ नाना चाहियो । चाहियो भनेपछि चाहियो चाहियो । बाबु र आमा दुबैले एकै स्वरमा भने– इस् पाइस् नयाँ नाना । यहाँ मान्छेलाई भात खाने चामल छैन, नुन, भुटुन छैन, बस्ने बास छैन, लगाउने लुगा छैन, कमाई खाने पसल भत्काइदियो, बेच्ने लुगा लुटेर लग्यो । अब इ लाइस् नयाँ नाना भन्दै आमा–बाबु दुबैले सानीलाई नाकै दुख्ने गरी लोपारी दिन्छन् । सानी सडकमा लडिबुडी गर्दै रुन थाल्छे । महानगरको रिस फेर्न सानी माथि खनिन्छन् आमा–बाबु दुबैजना । सानीलाई भकुर्नु भकुर्छन् । मनको धित मरुञ्जेल छोरी कुट्छन् र अन्त्यमा आफैं रुन थाल्छन् बुढाबुढी जोरै ।

सानीहरुलाई चिन्ने उनीहरुकै जस्तो हालतका मानिस आएर भन्छन्– खै यसको नक्सा पास देखा भन्दै मेरो पनि घुम्ती पसल सिङ्गै लुटेर लगे, कमिलाका ताँतीले गोबरको डल्लो बोकेर लगे जसरी । त्यहीँ मेरो परिवारको बास पनि थियो । घुम्ती लुटिएपछि विष्णुमतीको पुलमुनी आश्रय लिन थालेको त्यहाँ पनि महानगर आइपुग्यो र भन्यो यहाँ पनि तिमीहरु बस्न पाउन्नउ, यो महानगरको जग्गा पर्छ । मेरो नानीको कापी–किताब, डे«स सबै घुम्तीसँगै उठाएर लग्यो । जाँचको बेला नानीले पढ्न पनि पाइन । नानीले स्कूलको फिस तिरिदिनु भनेको भनेइ छे ।

कमाई गर्ने घुम्ती नै बोकेर लगेपछि के बेचेर त्यसको फिस तिर्नु ? रिजल्ट दिँदैनन्् भनेर रोइरहेकी छे । अब दशैं के गरी मान्नु होला ? विष्णुमतीको फोहोर पानी पिएर र घाटमा फालिएका कपडा लाएर दशैं मनाउनुपर्ला । तर, हेर ! हाम्रो मात्र यो गति पारेको होइन । हजारौंको उठिबास पारेको छ महानगरले । दशैंको मुखमा किन यसो गरेको होला ? महानगर दशैं बिरोधी, धर्म–संस्कृति बिरोधी र’छ ? महानगरको कामले यस्तै बेहोरा देखायो त । के उल्का दिन आयो बाबै । कलि युग भनेको यस्तै हुनुलाई भन्छ कि क्या हो ? मान्छेहरु देउता जस्तै नेता चुन्यौं भन्दै थिए, तर परेछन् राक्षस्, हा…हा…हा… भन्दै ती मानिस हातमा टोपी हल्लाउँदै बाटो लाग्छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here