वातावरण संरक्षण र पर्यटन प्रबर्द्धन गर्न नेपाली सेनाद्वारा साइकल राइड

१५ आश्विन २०७९, शनिबार मा प्रकाशित

बिर्तामोड ।

वडा दशैंको अवसर पारेर नेपाली सेनाले झापामा पहिलो पटक साइक्लिङ गराएको छ । ‘राइड फर फन’ नारा दिइएको प्रथम झापा साइकल राइडमा पूर्वी नेपालका साइक्लिस्टहरुले उत्साहजनक सहभागिता रहेको थियो ।

नेपाली सेनाको श्री नयाँ श्रीनाथ गण चारआलीले यो वर्षदेखि साइकल राइड शुरु गरेको हो । २१ नम्बर बाहिनीपति सहायकरथी कृष्णप्रसाद भण्डारीको विशेष पहल र परिकल्पनामा ‘जनता सँगसँगै नेपाली सेना’ भन्ने वाक्यलाई मनन गर्दै राइडको सुरुवात गरिएको नेपाली सेनाले जनाएको छ ।

वातावरण संरक्षण तथा पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन, झापाका महत्वपूर्ण तथा धार्मिक स्थलहरुको पहिचान दिलाउन, खेलकुद क्षेत्रको विकासको साथै सैनिक– नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने उद्देश्यले राइडको आयोजना गरिएको श्री नयाँ श्रीनाथ गणका प्रमुखसेनानी फणिन्द्र थापाले बताए ।

कचनकवल गाउँपालिकामा रहेको नेपालकै होचो स्थान कचनकवल स्तम्भबाट शुरु भएको राइड चारआलीमा आएर टुंगिएको थियो । राइडरहरुले ५३ किलोमिटर यात्रा तय गरेका थिए ।

सहायकरथी भण्डारीको नेतृत्वमा शुरु भएको राइडमा झापासहित मोरङ र सुनसरीका १४४ जना राइडरले सहभागिता जनाएका थिए । राइडमा १५ वर्षदेखि ६० वर्षसम्मका राइडरले यात्रा सफलतापूर्वक सम्पन्न गरेका थिए ।

कचनकवल स्तम्भबाट शुरु भएको साइकल राइड भद्रपुर, बिर्तामोड, अर्जुनधाराधाम, हुँदै मेचीनगरको चारआलीसम्म भएको नेपाली सेनाले जनाएको छ । त्यस्तै साइकल राइडसँगै सालबारीबाट चारआलीसम्म विद्यार्थीलाई सहभागी गराई पाँच किलोमिटर रन फर फन कार्यक्रम समेत सम्पन्न गरिएको जनाइएको छ ।

गणमा आयोजित एक कार्यक्रमका बीच सहभागीहरुलाई कदरपत्र दिएर राइडको समापन गरिएको थियो । पूर्वी पृतनाका प्रमुख उपरथी सहदेव खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिर्तामोड, अर्जुनधारा, मेचीनगर, भद्रपुर नगरपालिका तथा कचनकल गाउँपालिकाका प्रमुख–उपप्रमुखको आतिथ्य रहेको थियो । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजाललगायतको शुभकामाना व्यक्त गरेका थिए ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारीहरुको पनि सहभागिता रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

यसैबीच नेपाली सेनाले नेपालीहरुको महा पर्व बडा दशैं, शुभदिपावली, नेपाल सम्बत् तथा छठ पर्वको शुभकामना समेत दिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here