बर्षाले छेकेन मिलडाँडावासीलाई , छाता ओढेर कार्यक्रममा सहभागी

१९ आश्विन २०७९, बुधबार मा प्रकाशित

 

अर्जुनधारा , यसपटक सरदरभन्दा ढिलो मनसुन बाहिरिने भएको हुँदा नवमीको दिनदेखि देशभर प्रभाव देखिने र मनसुनी वर्षा सक्रिय हुने समाचारहरु केही दिनअघि सञ्चारमाध्यमहरुबाट थाहा पाएपछि झसङ्ग र अन्यौल मुद्रामा भए झापा अर्जुनधारा–११स्थित सालबारी मिलडाँडा युवा परिवारका पदाधिकारी तथा सदस्यहरु ।


समाजमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएका उक्त संस्थाका पदाधिकारी तथा सदस्यहरु झसङ्ग र अन्यौल मुद्रामा हुनुको कारण थियो राष्ट्रिय कलाकार, स्थानीय ब्यान्ड र स्थानीय कलाकारहरुको सहभागितामा विजया दशमी, शुभ दीपावली र छव पर्वको पावन अवसरमा आयोजना हुन लागेको वृहत सांस्कृतिक कार्यक्रमलाई वर्षाले प्रभावित गर्ने हो कि भनेर ?
विजया दशमीको घटस्थापनादेखि सञ्चालन भइरहेको दुर्गा पूजासँगै नवमीको दिन हुने भनिएको उक्त सांस्कृतिक कार्यक्रम हालसम्मको वृहत कार्यक्रम भएको हुँदा पनि त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न संस्थालाई चुनौती भएको सल्लाहकार सनम राईले प्रतिक्रिया दिइरहेका थिए ।


झापाली माटोले जन्माएको चर्चित राष्ट्रिय कलाकार वील्सनविक्रम राईको छिमेकी देश भारतको दार्जीलिङमा रहेको कार्यक्रमलाई समेत अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको समन्वयमा स्थगित गर्दै उक्त वृहत सांस्कृतिक कार्यक्रम गर्न आयोजक सालबारी मिलडाँडा युवा परिवारले कम्मर कसेका थिए ।

“तक्मे बुढा” उपनामले परिचित राष्ट्रिय कलाकार राईसँगै स्थानीय भित्तेपात्रो ब्याण्ड, स्थानीय कलाकार अनुमा राईको आइटम सङमा बेजोड प्रस्तुति रहने भन्दै व्यापक प्रचार प्रसारमा जुटेका आयोजक र सहभागीहरु त्यसबेला खुसी भए जब वर्षाका कारण निर्धारीत समय ५ बजे भन्दा दुई घण्टा २४ मिनेटपछी कार्यक्रमका सञ्चालक सञ्चारकर्मी सरोज पौडेल माइक्रोफोनसँगै स्टेजमा उक्लिए ।

पूर्व–पश्चिम लोकमार्गसँग जोडिने कालीझोडा–सालबारी सडक खण्डको चौबाटोको नजिक निर्माण गरिएको भव्य स्टेज अगाडि भने छाता ओड्ने र नओड्ने सबै उमेर समूहका दर्शकहरुको बाक्लो सहभागिता भइसकेको थियो । त्यसपछी विजया दशमी आगमनको महिना अघि देखि नै गाँउघरमा सुनिने चलचित्र ‘मुग्लान’को कोदो फूल्यो बारीमा बरी लै धानको बाला झुल्यो खेतैमा….भन्ने गीतमा नृत्य प्रस्तुत गर्दै सुरु भयो सांस्कृतिक कार्यक्रमको सांगीतिक धुम ।

त्यसपछि भ्वाइस अफ किड्सकी फाइनलिस्ट रुकसाना लिम्बूको प्रस्तुतीमा रमाइरहेको दर्शकहरुमाझ कार्यक्रम सञ्चालक पौडेलले तक्मे बुढालाई स्टेजमा आमन्त्रण गरेपछि सांगीतिक धुमले त्यस क्षेत्रको वातावरणलाई एकाएक ततायो । घडीले ९ः१० को समय बजाइरहँदा स्टेज उक्लिएका राष्ट्रिय कलाकार राईले आई लभ यू सेन्तेरेम सेन्तेरेम सेन्तेरेम….बाट प्रस्तुती सुरु गर्दै, ह्याप्पी डेजको चेप्टे चेप्टे पेरेङगो पेरेङगोमा लसुन… गीतलगायतमा नृत्य पनि गरेका थिए ।

अभिनय, गायन र नृत्यको पूर्ण प्याकेजकारुपमा रहेको तक्मे बुढाले आफ्नो अनुमानित डेढ घण्टाको प्रस्तुती दिइरहँदा वर्षासँगै मौसममा आउने चिसोपनलाई पनि उपस्थित सबैले पचाई दिए । त्यसैगरी भित्तेपात्रो ब्याण्ड र अनुमा राईको आइटम सङको नृत्यले पनि वातावरणलाई थप मनोरञ्जनात्मक र रोमाञ्चक बनाएको थियो ।

आयोजक सालबारी मिलडाँडा युवा परिवारका अध्यक्ष ओम मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख तामाङले गरेका थिए । परिवारका पूर्व अध्यक्ष किरण जवेगुले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी पौडेल र अर्का सञ्चारकर्मी हरि बरालले संयुक्तरुपमा गरेका थिए ।

प्रस्तुति : अमित खम्बू

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here