झापा । 
मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्बाचनका लागि आइतवार प्रत्यक्षतर्फको मनोनयन दर्ता गरिएको छ ।
प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिएको हो ।
प्रतिनिधिसभा सदस्यका लागि देशभरबाट दुई हजार एक सय २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा सदस्यका लागि दुई हजार आठ सय ४५ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उनकी पत्नी डा. आरजु राणा देउवाले प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएकी थिइन् ।
वारिसनामामार्फत डा.आरजुले प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कार्यालय डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।


























