वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुर्नएकीकरण

0
320

कमल ।

वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको सामाजिक तथा आर्थिक पुनर्एकीकरण कार्यक्रम अन्तर्गत विहीवार कमल गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले रोजगारीका क्रममा आर्जन गरेको पुँजी, सिप, प्रविधि र अनुभव नेपालमै उद्यमशिलताको विकास तथा सिपको प्रवद्र्धनमा उपयोग गराइ सामाजिक तथा आर्थिक विकास गर्न जनप्रतिनिधि तथा सरोकारवालाबीच सहकार्य र समन्वय गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक पौरखी नेपालले जनाएको छ ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र प्रदेश नम्वर १ को आयोजना तथा पौरखी नेपालको आर्थिक सहयोगमा कमल गाउँपालिकाका जनप्रतिनिधि तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय तहसँगको सहकार्यमा सञ्चालन हुने पुनर्एकीकरण कार्यक्रम अन्तर्गत आवश्यकताका आधारमा मनोसामाजिक परामर्शसहितको सुरक्षित आवास सेवा, उद्यमशीलता तालिम, आवश्यकताका आधारमा सिप तालिम, निःशुल्क सिप परीक्षण, वित्तीय साक्षरता, सहुलियतपूर्ण कर्जा तथा बजारीकरणका लागि सहजीकरण, व्यवसाय सञ्चालनका लागि शुरुवाती रुपमा तोकिए बमोजिमको वीऊ पूँजी वा जिन्सी सहायता प्रदान गरिने छ ।

बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले आर्जन गरेको रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । घर बनाउनमा होडवाजी चलेको छ तर कुनै उद्योग कलकारखाना खोल्नमा त्यो रकम खर्च भएको छैन । यसका लागि राज्यले नीति बनाएर त्यो पुँजीलाई परिचालन गर्दै विदेशबाट फर्किएका व्यक्तिलाई नेपाली सरह काम गर्ने वातावरण बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र प्रदेश नम्वर १का अध्यक्ष लेअनाथ खतिवडाले बताए ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिसंग भएको, कमाएको पुँजी, ज्ञान, सिपलाई स्थानीय सरकारले सहजीकरण हुने खालको नीति बनाउनुपर्छ । विदेश बाट फर्किएका युवासँग थुप्रै अनुभव हुन्छ, त्यसलाई सही रुपमा परिचालन गर्न सक्ने खालको नीति निर्माण गर्न सके पुँजीको सदुपयोग हुनुका साथै स्थानीयले रोजगार समेत पाउने उद्योगी गोपाल खनालले बताए ।

बैदेशिक रोजगारीमा जानुनै पर्छ भन्ने छैन, गाउँपालिकाले युवाहरुका लागि प्रशस्तै कार्यक्रम ल्याएको छ । गाउँपालिकामा भएका युवाहरुलाई व्यवसायिक बनाउन गाउँपालिका लागीपरेको छ– पालिका अध्यक्ष हुकुमसिंह राईले भने ।

विदेशबाट फर्किएका युवालाई गाउँपालिकाले नीति बनाएर विभिन्न कार्यक्रममा समावेश गर्नेछ । त्यसैगरी उद्योग सञ्चालन गर्न चाहने युवालाई सहज वातावरणमा उद्योग सञ्चालन गर्नका लागि वातावरण बनाउँदै उहाँँहरुसँग भएको पुँजी, सिप र ज्ञानको सम्मान गर्दै आगामी दिनमा अझ सहज बनाइने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताइन् ।

बैदेशिक रोजगारीमा जाँदा शुरुमा कुनै गुनासो नआउने तर जब समस्या पर्छ अनि गुनासो आउने गरेको छ । यसका लागि स्थानीय तहले कानून बनाएर आगामी दिनमा यसलाई नीति तथा कार्यक्रममा समावेस गरेर अगाडि बढ्ने प्रमुख प्रसाशकीय अधिकृत राजकुमार शाक्याले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here