यस्तो छ झापाको चुनावी प्रतिस्पर्धा

0
249

सुरेन्द्र भण्डारी /झापा।

राजनीतिक विद्रोहको आधारभूमि झापा पछिल्लो समय केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित भएको छ ।
समकालीन राजनीतिमा झापाबाट प्रतिनिधित्व गर्ने नेताहरूले छिट्फुटबाहेक देशको केन्द्रीय राजनीतिमा बर्चस्व जमाउँदै आएका छन् । २००७देखि २०६२÷०६३ को राजनीतिक परिवर्तनसम्म झापाको भूमिका अग्रणी रहेको छ ।
झापा विद्रोहको कर्मभूमि हो । यही कर्मभूमिबाट उदाएका नेता र नेतृत्वले अहिलेसम्म आफ्नो राजनीतिक कौशललाई कायमै राखेको देखिन्छ । २००७ सालमा राणा आन्दोलनदेखि पञ्चायतको किसान र दुईवटा जनआन्दोलनमा झापा केन्द्रमा नै रह्यो ।

आगामी मंसीर ४मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्बाचनको मिति नजिकिँदै जाँदा अहिले झापामा चुनावी सरगर्मी बढेको छ । दलका नेता तथा कार्यकर्ताहरुको सक्रियता समेत बढेको छ । केन्द्रीय राजनीतिमा स्थापित केही नेता अहिले मतदाताको घर–घरमा छन् ।

मुख्यगरी सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले एउटा गठबन्धन बनाएको छ भने प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय प्रजातन्त्र पार्टीसंग मिलेर छुट्टै गठबन्धन खडा गर्दै चुनावी मैदानमा होमिएको छ ।
राजनीतिक नेतृत्वका शीर्ष नेता केपी शर्मा ओली, कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मा, राजेन्द्रकुमार लिङ्देन, अग्नि खरेल जस्ता नेताको प्रतिनिधिसभाका लागि उम्मेदवारी रहेकाले झापामा चुनावी प्रतिष्पर्धा रोचक छ नै यहाँको चुनावी प्रतिष्पर्धालाई देशभरबाट नियालिनुले पनि झापामा नेताले चुनावी सरगर्मी बढाएका छन् ।

यस्तो छ झापाको चुनावी तथ्यांक
झापा क्षेत्र नम्वर १
प्रतिनिधिसभातर्फ मनोनयनदर्ताः २१ जना
मुख्य प्रतिष्पर्धा गर्ने दल र उम्मेदवार

प्रतिनिधिसभा सदस्यतर्फको निर्बाचनका लागि झापा क्षेत्र नम्वर १मा २१ जनाले मनोनयन दर्ता गरेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीचमा नै मुख्य प्रतिष्पर्धा हुने देखिए पनि स्वतन्त्र र अन्य दल गरी २१ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

सत्ता साझेदार दल नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)का तर्फबाट साझा उम्मेदवारका रुपमा विश्वप्रकाश शर्मा चुनावी मैदानमा छन् । दुईपटकको निर्वाचनमा नेकपा (एमाले)का उम्मेद्वारसंग पराजित उनी तेस्रोपटक चुनाव लड्दैछन् ।
२०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रवीन कोइरालासँग पराजित उनी २०७४मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का सुरेन्द्रकुमार कार्कीसंग पराजित भएका थिए ।

यसपटक उनी नेकपा (एमाले) नेता अग्नि खरेलसँग प्रतिष्पर्धा गर्दैछन् । एमाले नेता खरेल पार्टीभित्र ‘ह्याव्वी बेट’ का नेताका रुपमा परिचित छन् । झापा क्षेत्र नम्वर २ बाट निर्वाचनको तयारी गरिरहेका उनलाई पार्टीले १ नम्वर क्षेत्रमा टिकट दिएसँगै उनको भेट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग भएको हो ।

नेपाली कांग्रेस यसअघि गुमेको क्षेत्र फर्काउने दाउमा रहेको छ भने नेकपा (एमाले) विरासत जोगाउने दाउमा देखिएको छ । पार्टीभित्र दुवै नेता ह्याब्बी वेटका रहेकाले झापा क्षेत्र नम्वर १ मा प्रतिष्पर्धा रोचक हुने निश्चित छ । एमाले नेता खरेलका लागि झापा क्षेत्र नम्वर १को भूगोल नयाँ भएपनि शर्माका लागि पुरानै मैदान र भूगोल हो ।

झापा क्षेत्र नम्वर–२
प्रतिनिधिसभातर्फ मनोनयन दर्ता – १२ जना
मुख्य प्रतिष्पर्धा गर्ने दल र उम्मेदवार

सहकर्मी नै प्रतिष्पर्धी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी) मा रहेर रानजीति गर्दा छुट्टै छवि बनाएका व्यक्ति हुन््– देवराज घिमिरे र हरिकुमार राना । घिमिरे नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा १ नम्वर प्रदेश इञ्चार्ज हुन् भने राना प्रदेश कमिटी सदस्य हुन् । तर, प्रतिनिधिसभाको निर्वाचन २०७९को मनोनयन दर्ताको अघिल्लो दिनबाट उनै घिमिरे र राना सहकर्मी नभई मुख्य प्रतिष्पर्धीका रुपमा देखा परेका छन् । किनकि राना नेकपा (एमाले)बाट अलग भई उम्मेदवार बनेका छन् ।

पार्टीमा रहँदा शालिन, भद्र र प्रभावशाली नेताका रुपमा आफ्नो परिचय बनाएका दुवै जना यसपटकको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मैदानमा उत्रिएका हुन् । झापा क्षेत्र नम्वर २मा घिमिरे नेकपा (एमाले)कातर्फबाट उम्मेदवार बनेका छन् भने राना सत्तारुढ गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार बनेका छन् । राना यसअघि स्थानीय तहको जनप्रतिनिधि भएर नागरिकको सेवामा सर्मपित भएका व्यक्ति हुन् भने घिमिरे पहिलोपटक जनप्रतिनिधिका लागि मैदान उत्रिएका छन् । राना नेकपा (एमाले)का तर्फबाट २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा अर्जुनधारा नगरपालिकाको प्रमुखको रुपमा निर्वाचित भएका थिए ।

प्रतिनिधिसभाको निर्बाचनमा उम्मेदवारको दावी गर्दै आएका राना पार्टी अध्यक्ष ओलीको नजरमा यसअघि नै विझाएका थिए । तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसबिरुद्ध रहेका एमालेका प्रभावशाली नेताहरुलाई साथ दिएको भन्दै उनी ओलीको वक्रदृष्टिमा परेका थिए ।

ओलीका कदमबिरुद्ध आवाज उठाउने देशभरका नेता तथा कार्यकर्ताहरुमध्ये तत्कालीन अर्जुनधारा नगर प्रमुख रानामाथि १० बुँदेको आरोप लागेको थियो । उनीसँगै एमाले नेता रवीन कोइराला, पबित्रा निरौला खरेल, चन्द्रा श्रेष्ठ लगायतको नाम समेत जोडिएको थियो । ओलीको दश बुँदेमा पर्नेमध्ये झापा क्षेत्र नम्वर १का लागि प्रतिनिधिसभा सदस्यका लागि रवीन कोइरालाको मात्रै सिफारिस गरिए पनि अहिले उनको नाम हटाएर ओलीले अग्नि खरेललाई टिकट दिएका छन् । अध्यक्ष ओली निकट मानिने खरेललाई यसअघि ओलीले नै महान्यायाधिवक्तामा नियुक्ति गरेका थिए ।

२०७० सालमा भएको संविधानसभा सदस्यको निर्वाचनमा कोइराला कांग्रेस नेता विश्वप्रकाश शर्मालाई हराउँदै नेकपा (एमाले) कातर्फबाट निर्बाचित बनेका थिए । एमालेका नेतामध्येमा झापामा प्रभावशाली नेताका रुपमा स्थापित कोइराला झापा क्षेत्र नम्वर १ मा बलियो पकड राख्ने नेतामध्येमा पर्छन् । तर, अहिले प्रतिनिधिसभाको निर्वाचनमा उनको ठाउँमा खरेल र उनलाई प्रदेशसभा सदस्यका रुपमा मात्रै स्थान दिइएको छ ।

झापा क्षेत्र नम्वर २मा प्रतिनिधिसभाको टिकट पाउने घिमिरे ओली निकट नेता हुन् । पार्टीको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष ओलीले घिमिरेलाई क्षेत्र नं. २मा टिकट दिएका हुन् । संगठनमा घिमिरेको प्रभाव राम्रो मानिए पनि जनस्तरमा भने उनको खासै प्रभाव नरहेको बताइन्छ । अर्जुनधारा नगरपालिकास्थित सालवारीमा सुखानी शहीद स्मृति प्रतिष्ठान बनाउन महत्वपूर्ण भूमिका भएका नेता घिमिरे सो प्रतिष्ठानका अध्यक्ष हुन् ।

प्रतिष्ठान निर्माणका क्रममा राना र घिमिरेको योगदान उत्तिकै रहेको बताइन्छ । स्थानीयस्तरमा रहेर रानाले प्रतिष्ठानको श्रीवृद्धिका लागि काम गरेको र घिमिरेले बजेट भित्र्याउन महत्वपूर्ण योगदान गरेका थिए । जसका कारण पनि घिमिरे र राना नेकपा (एमाले)मा रहँदा एकअर्काका परिपूरक थिए । तर, नेकपा (एमाले)मा प्रतिनिधिसभाका लागि रानाले टिकट नपाएपछि दल बदलेर एकीकृत नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाट उनी चुनाब लड्दैछन् ।

जिल्लामा रहेका पाँच निर्बाचन क्षेत्रमध्ये यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको निर्बाचनका लागि घिमिरे र राना नयाँ अनुहार हुन् । अन्य निर्वाचन क्षेत्रका लागि दलको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा होमिएका नेतामध्ये कोही दोहोरिएका छन् भने कसैले सातौं पटकसम्म अवसर पाएका छन् ।

झापा क्षेत्र नम्वर–३
प्रतिनिधिसभातर्फ मनोनयन दर्ता– १८ जना
मुख्य प्रतिष्पर्धा गर्ने दल र उम्मेदवार

सातौंपटक चुनाब लड्दै सिटौला,
लिङ्देनसगको दोस्रो भेट

२०४८ साल यता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट ६ पटक निर्चाचनमा भाग लिए । त्यसमध्ये उनले दुईपटक मात्रै जित हासिल गरे ।

सिटौलाले २०५१ सालमा भएको उपनिर्वाचन र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा जित हासिल गरेका थिए । चार वटा निर्वाचनमा हार व्यहोरेका सिटौला सातौंपटक निर्वाचनमा सहभागी हुँदैछन् ।

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देनसँग सिटौला पराजित भएका थिए । नेकपा गठबन्धनका उम्मेदवारको रुपमा मैदानमा उत्रिएका लिङ्देनले कांग्रेस नेता सिटौलालाई भारी मतान्तर (१३ हजार ४ सय ४३ मत) ले पराजित गरेका थिए ।

नेता सिटौलाले २०७४मा भएको प्रतिनिधिसभाको निर्वाचनमा ३१ हजार १ सय ७१ मत प्राप्त गर्दा राप्रपा नेता लिङ्देनले ४४ हजार ६ सय १४ मत प्राप्त गरेका थिए । यसपटकको निर्वाचनमा पनि एमालेसँग चुनावी तालमेल गर्दै राप्रपा अध्यक्ष समेत रहेका लिङ्देन मैदानमा छन् । उनी आफ्नो बिरासत कायम राख्न प्रयासरत् छन् भने कांग्रेस नेता सिटौला बदला लिने दाउमा छन् । यद्यपि झापा ३मा राप्रपा र नेकपा (एमाले) बीचमा गठबन्धन भए पनि एमाले नेता डम्बर गिरीको स्वतन्त्र उम्मेदवारी परेको छ ।

झापा क्षेत्र नम्वर–४
प्रतिनिधिसभातर्फ मनोनयन दर्ता– १८ जना
मुख्य प्रतिष्पर्धा गर्ने दल र उम्मेदवार

सभापति थेवे र सावाको दोस्रो भेट

प्रतिनिधिसभाको निर्बाचनका लागि नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेबे र नेकपा(एमाले) नेता लालप्रसाद साँवाबीच दोस्रो भेट हुँदैछ । साँवा २०७४मा भएको प्रतिनिधिसभा सदस्यमा झापा ४बाटै निर्वाचित भएका थिए । यद्यपि दुबैको राजनीतिक भूगोल (स्थायी वासिन्दा) एउटै हो ।

साँवा २०७० सालमा संविधानसभा निर्बाचनमा सहभागी भएर नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीसंग पराजित भएका थिए । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता साँवाले कांग्रेस नेता थेबेलाई पराजित गरेका थिए । २०७४ मा भएको निर्वाचनमा एमाले नेता साँवाले ४३ हजार ५ सय १५ मत प्राप्त गर्दा कांग्रेस नेता थेबेले २६ हजार ८ सय २२ मत प्राप्त गरेका थिए । यसपटक पुनः उनै नेताबीच प्रतिष्पर्धा हुँदैछ । नेकपा (एमाले) र राप्रपाबीचमा गठबन्धन भएपनि राप्रपा नेतृ खुश्बू ओलीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । जसका कारण एमालेका उम्मेदवारको मत काटिने आँकलन गरिएको छ ।

झापा क्षेत्र नम्वर–५
प्रतिनिधिसभातर्फ मनोनयन दर्ता– २५ जना
मुख्य प्रतिष्पर्धा गर्ने दल र उम्मेदवार

ओली सातौंपटक मैदानमा

संविधानसभा निर्वाचन २०६४ बाहेक २०४८ साल यता भएका कुनै पनि निर्वाचनमा खड्गप्रसाद ओलीले पराजय व्यहोरेका छैनन् । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका ओली योसहित सातौंपटक चुनावी मैदानमा छन् । उनी २०४८ सालमा भएको आम निर्बाचनमा निर्वाचित बने यता २०६४ बाहेक पाँचपटक लगातार जनप्रतिनिधिका रुपमा चुनिएर दुई÷दुईपटक प्रधानमन्त्री समेत बन्न भ्याए

२०५१ सालमा भएको आम निर्वाचनमा साविक झापा क्षेत्र नम्वर ६ बाट ओलीले नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीलाई पराजित गरेका थिए । २०५६मा भएको आम निर्वाचनमा उनी झापाका दुई वटा निर्वाचन क्षेत्रबाट चुनाव लडे । झापा २ र ६बाट एक साथ चुनाव लडेका उनले दुबै क्षेत्रबाट जित हासिल गरे । झापा २मा गिरिराजकुमारी प्रसाई र झापा ६मा काँशीलाल ताजपुरियालाई उनले पराजित गरेका थिए ।

तर, २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा एकीकृत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विश्वदीप लिङ्देनले ओलीलाई हराएका थिए । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा ओलीले कांग्रेसका उम्मेदवार सुरेन्द्रकुमार योङ्या र २०७४मा खगेन्द्र अधिकारीलाई हराएका थिए ।

मंसीर ४मा हुने निर्वाचनमा यसपटक पनि एमाले अध्यक्ष ओली र कांग्रेस नेता अधिकारीबीच प्रतिष्पर्धा हुने भएको छ । स्वतन्त्रसहित २५ जनाको उम्मेदवारी रहे पनि मुख्य प्रतिष्पर्धा सत्तारुढ गठबन्धन र एमालेबीच नै हुने निश्चित छ ।
स्थानीय तहको निर्वाचनमा झापा ५मा नेपाली कांग्रेसले राप्रपासँग गठबन्धन गरे पनि प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि राप्रपाले (नेकपा) एमालेसँग नै गठबन्धन गरेको छ । जसका कारण ओलीलाई जित्न सहज हुने आकलन गरिएको छ । त्यसो त झापा ५मा राप्रपा निर्णायक दलका रुपमा स्थापित छ । स्थानीय तहमा नेपाली कांग्रेससँग गठबन्धन गरेको राप्रपाले दमक नगरको नेतृत्व गरिरहेको छ । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्बाचनमा समेत राप्रपा र एमाले बीच नै चुनावी तालमेल भएको थियो ।

२०४८ सालपछि भएका निर्वाचनको मत
परिणामको अवस्था यस्तो छ ।

स्थानीयमा नेकपा (एमाले) नै बलियो

झापा क्षेत्र नम्वर ५मा गत स्थानीय तहको निर्बाचनमा नेकपा(एमाले) का ेउपस्थिति बलियो छ । क्षेत्र नम्बर ५मा पर्ने चार वटा पालिकाका २९ वटा वडामा नेकपा एमाले बलियो देखिएको हो ।

गौरादह नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र वडा र गौरीगञ्ज गाउँपालिकाको ३, ४, ५, ६ वडा झापा ५मा पर्छन् । दमकका १० वटा वडामध्ये ७ वटा वडा एमालले जितेको छ । दुई वटा कांग्रेसले जित्दा राप्रपाले एउटा वडाध्यक्ष जितेको छ ।

कमल गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । १२ हजार ८ सय ६८ मत ल्याएर कांग्रेसका हुकुमसिंह राई विजयी हुँदा उपाध्यक्षमा भने एमालेकी प्रमिला न्यौपाने १० हजार ८४५ मत ल्याएर बिजयी भएकी थिइन् ।

एमालेले कमल गाउँपालिकामा ३, ४, ६ र ७ नम्बर वडा अध्यक्षमा बिजय हासिल गरेको छ भने कांग्रेसले वडा नम्बर १ माओवादीले ५ नम्बर र एकीकृत समाजवादीले वडा नम्बर ५को वडाध्यक्ष जितेको छ ।

झापा क्षेत्र नम्बर ५मा पर्ने गौरादह नगरपालिकाको मेयर र उपमेयर नै एमालेले जितेको छ । यो क्षेत्रमा पर्ने सात वटा वडाका अध्यक्षमध्ये एमालेले ४ वटा वडाध्यक्ष जितेको छ । कांग्रेसले २ वटा वडाध्यक्ष जितेको छ भने वडा नम्बर ३को वडा अध्यक्षमा स्वतन्त्र बिजयी भएका थिए ।

गौरीगञ्ज गाउँपालिकामा पनि एमालेले अध्यक्ष÷उपाध्यक्ष नै जितेको छ । झापा क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने ४ वटा वडा मध्ये एमालेले ३ वटा वडाअध्यक्ष जितेको छ । एउटा वडाध्यक्ष भने कांग्रेसले जितेको छ । स्थानीय तहको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५मा एमालेले वडामा पाएको मत हेर्दा सबैभन्दा अगाडि छ ।

त्यहाँ एमालेको वडागत मत ४१ हजार ६ सय १९ रहेको छ । कांग्रेसले २२ हजार, माओवादीले १० हजार ७८८, राप्रपाले ८ हजार ३५९ र एकीकृत समाजवादीले १ हजार ९८८ मत पाएको छ । सो क्षेत्रमा राप्रपालाई समेत वडामा आएको मत जोड्ने हो भने एमाले राप्रपा गठबन्धनको मत ४९ हजार ९७८ हुन आउँछ भने सत्ता गठबन्धनको मत ३४ हजार ७७६ मात्रै देखिन्छ । यस हिसाबले पनि झापा ५मा नेकपा (एमाले)÷ राप्रपा गठबन्धन बलियो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here