तटस्थतामा ध्यान देऊ

0
332

नयाँ संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचन नै अहिलेको सर्वाधिक चासो र छलफलको विषय हो । अझ आचारसंहिता लागू भइसकेकोले सरकार स्वतः चुनावी सरकारमात्रै बनिएपछि आमजनताको आशा र अपेक्षा पनि योग्य उम्मेदवार छनौटमै केन्द्रीत हुन थालेको छ । विगतका थुप्रै निर्वाचनहरुको अनुभव लिइसकेका मतदाताहरु पनि सचेत र जागरुक भइसकेका छन्, त्यसैले अबका जनप्रतिनिधिहरु गुण–दोष, योग्यता र क्षमताको कसीबाट जाँचिएर आउने अनुमान गरिँदैछ । बहुदलीय शासन प्रणालीको स्थापना भइसकेपछि पटक–पटकका निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले यसपटकदेखि जनविश्वास गुमाउने आंकलन गर्न थालिएको छ । मतदाताहरु पनि नयाँ र युवा छन्, सचेत छन् । जसका कारण उम्मेदवारहरुका चिल्ला कुरा, आश्वासन र प्रलोभन अबको निर्वाचनको निर्णायक आधार हुने छैन ।

विगतमा प्रत्येक व्यक्ति कुनै न कुनै दलको कार्यकर्ता हुने अवस्था थियो । तर, क्रमिकरुपले विकास भएको चेतनाका कारण मतदाता मात्र होइन सर्वसाधारण समेत निरपेक्ष रहन रुचाउने भएका छन् । पेशागत संघ–संगठन हुन् वा सामाजिक, गैरसरकारी अथवा व्यावसायिक संस्थाहरु कुनै न कुनै दलको छाताभित्र बस्न इच्छुक हुन्थे । त्यस्ता संघ–संगठन दलको झण्डामुनि बसेर सुरक्षित र गौरवान्वित महशुस गर्थे । जसका कारण राजनीतिक दलहरुलाई पनि राजनीति गर्न सहज हुन्थ्यो, तर आज परिस्थिति फेरिएको छ । अनि निर्वाचन आयोगले समेत निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भय एवम् धाँधलीरहीत बनाउन हरसम्भव प्रयास गरिरहेको छ । आयोगको अग्रसरता पनि भनेजस्तै स्वतन्त्र र निरपेक्ष रह्यो भने आसन्न निर्वाचन समय, देश र मतदाताले खोजे जस्तै योग्य व्यक्ति छनौट गर्न सफल हुनेछ ।

यहीबीचमा राज्यको चौथो अङ्ग भनिने पत्रकारिता जगतको अभिभावक संस्था नेपाल पत्रकार महासंघ र त्यस अन्तर्गतको झापा शाखाले सञ्चारकर्मको गौरव जोगाउन सञ्चारकर्मी, संस्था र माध्यमहरुलाई तटस्थ रहन आह्वान गरेको छ । सञ्चारकर्म आफैंमा पक्ष–विपक्ष होइन बरु बोली नभएकाहरुको बोली, दृष्टिविहीनहरुको दृष्टि र राज्य सञ्चालकहरुका गतिविधिलाई नजिकबाट हेर्ने ‘वाच डग’ हो । अतः चौथो अङ्गभित्र रहेका सबैले स्वनियमनको ‘लक्ष्मण रेखा’ उल्लंघन गर्नुहुँदैन । अहिले त सञ्चारमाध्यम र सञ्चारकर्मीभन्दा प्रभावकारी बन्दै गएको सामाजिक सञ्जाल पनि राज्यको अनुगमनमा प¥यो र दोषका आधारमा कारवाहीको दायरामा ल्याउन सकियो भने निर्वाचनको महत्व अझै बढ्ने थियो । त्यसका लागि आयोगको भूमिका त्यत्तिकै आवश्यक छ । यो सँगै हरेक परिवर्तन र सुधारका वाहक भनिने सञ्चारकर्मीको गरिमा बढाउन होस् वा योग्य, सक्षम र परिवर्तनकारी चेत भएका व्यक्ति नै राज्य सञ्चालनको जिम्मेवारीमा पु¥याउन होस् सञ्चारकर्मीले तटस्थता, निष्पक्षता र स्वतन्त्र भूमिका, निर्वाह गर्नैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here