एउटा युगको अन्त्य

0
333

नेपाली भाषा, साहित्य, संस्कृति, लोक कला तथा खोज अनुसन्धानका क्षेत्रमा सदा सक्रिय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । संस्कृतिविद् तथा वाङ्गमय शताब्दी पुरुषको समेत परिचय बनाएका जोशीले आफू जन्मिएको युगलाई मात्र होइन नेपाल तथा नेपाली भाषालाई समेत समृद्ध तुल्याएका छन् । त्यसबाहेक कला, इतिहास, नाटक तथा रंगमञ्चका क्षेत्रमा समेत अविश्रान्त साधक युगपुरुष जोशीको योगदान अनुपम छ र अतुलनीय पनि । यति लामो आयु पाउनु आफैंमा लोभलाग्दो उदाहरण हो भने त्यो भन्दा ठूलो कुरा हो स्वस्थ र सक्रिय जीवन भोगाइ । वाङ्गमय शताब्दी पुरुष जोशीले यी सबै अद्भूत क्षमता राखे जसको कारण उनी नेपाली जनमानसमा जीवन्त रहने छन् । कलाकार अरनिकोको विषयमा अध्ययन र खोज गरेका उनकै योगदानका कारण नेपालीको गौरवमा कलाकार अरनिको समेत जोडिन पुगेका छन् ।

नेपाली जनता र सरकारको समान सम्मान प्राप्त गर्न सक्ने एकमात्र स्रष्टा जोशीले नेपालको नोबेल पुरस्कार भनिने मदन पुरस्कार तीन पटक फरक–फरक कृति र विधाका लागि प्राप्त गरेका थिए । एउटै व्यक्तिले तीन पटक उही पुरस्कार प्राप्त गरेको ‘रेकर्ड’ बनाएका जोशी राजा महेन्द्रका समयमा स्थापित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवसम्म भएका थिए । नागरिक स्तरबाट शताब्दी पुरुषका रुपमा सम्मान प्राप्त गरेका जोशी त्यस्ता एक भाग्यमानी व्यक्ति थिए जसको सम्मानमा तस्विरसहितको मुद्रा र हुलाक टिकट प्रकाशन भएको थियो । यी सबै सम्मान र पुरस्कार उनका बहुमुखी प्रतिभा, योगदान र क्रियाशीलताको परिणाम हो । जीवनकालमा फरक–फरक राजनीतिक प्रणालीलाई नजिकबाट अनुभूत गरेका र भोगेका जोशी कहिल्यै कुनै दल विशेषको भएनन् र दलीय संकीर्णताबाट सधैँ अछुतो रहे ।

नेपाल भाषा, नेपाली भाषा, साहित्य, संस्कृति तथा लोक कलाको उन्नयनमा समर्पित स्रष्टा जोशी अब भौतिक रुपले यस संसारमा छैनन् । अर्थात् अब उनी कुनै बौद्धिक, साहित्यिक एवम् सांस्कृतिक सभा–समारोहमा भेटिने छैनन् । तर, हिजोपर्यन्त उनले गरेका सत्कार्य र योगदानले उनी धु्रवतारा सरह जाज्वल्यमान रहने छन् । उनको कर्म आउने पुस्ताका लागि समेत उदाहरणीय, अनुकरणीय र स्मरणीय हुने छन् । उनको सामाजिक योगदानको अथक, अविश्रान्त र अविच्छिन्न यात्रा हाम्रा लागि ऊर्जा र प्रेरणा बन्न सकोस् भन्दै हार्दिक श्रद्धा प्रकट गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here