विर्तामोड , नेपाल माछा ब्यापार श्रमिक संघ झापाले भारतबाट आयातीत माछा विक्री गर्न नपाउने विर्तामोड नगर कार्यपालिकाको निर्णय फिर्ता लिन माग गरेको छ ।
संघले आज विर्तामोडमा पत्रकार भेटघाट गर्दै गत असोज ६ गते विर्तामोड नगर कार्यपालिकाको बैठकले भारतबाट आयात गरिएका माछा बेच्न नपाउने भनी गरेको निर्णय फिर्ता लिएर गरिखाने वातावरण बनाइदिन आग्रह गरेको हो ।
नेपाल सरकारको निर्णय बमोजिम एल।सी। खोलेर निश्चित रकम जम्मा गरेको ७ दिनभित्र माछा ल्याइसक्नुपर्ने र पशु क्वारेन्टाइनले प्रमाणित गरी भन्सार प्रकृया पूरा गरेर ल्याइएको माछा कोल्ड चैन ९आइस०–मा राखेपछि नविग्रिएसम्म बेच्न पाइने कानुनी प्रावधान रहेको विज्ञप्तिमा उल्लेख छ । उक्त कानुनी प्रावधानबारे पशु क्वारेन्टाइन विरगञ्जले पत्रसमेत दिएको छ ।
संघका अध्यक्ष सोनालाल साहसहित सम्पूर्ण कार्यसमितिले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा नगरपालिकाको निर्णयले माछा ब्यवसायीहरु सडकमा पुग्ने अवस्था आएको र एल।सी।मार्फत जम्मा गरिएको करोडौ रकम गुम्ने खतरा बढेकोप्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षण गराइएको छ ।
‘नगरपालिकाको यस निर्णयले ब्यवसाय गर्न पाउने नागरिकको अधिकार कुण्ठित गरेको साथै माछा ब्यवसायीहरुको पेटमा लात मारेको हाम्रो ठहर छ ।’– विज्ञप्तिमा भनिएको छ– ‘तत्काल यो निर्णय फिर्ता लिएर ब्यवसाय गर्ने वातावरण सिर्जना गर्न विर्तामोड नगरपालिकासँग हार्दिक अपिल गर्दछौं । ब्यवसायीहरुको मागलाई बेवास्ता गर्दै माछा पालन वा ब्यापारमा संलग्न कसैको उक्साहटमा नलागी आम किसान र ब्यवसायीको हितमा कार्य गर्न नगरपालिकालाई आग्रह पनि गर्न चाहन्छौं ।’
नगरपालिकाले उक्त निर्णय नसच्याइए ब्यवसायीहरु आन्दोलनमा उत्रन बाध्य हुने जनाउँदै विज्ञप्तिमा त्यसपछि उत्पन्न असहज परिस्थितिको जिम्मेवार नगरपालिका स्वयं हुने चुनौति पनि दिइएको छ ।
पत्रकार भेटघाटमा बोल्दै संघका उपाध्यक्ष धिमरज महम्मदले पशु क्वारेन्टाइनबाट प्रमाणित नगरी विना भन्सार र कर छली ल्याइएका माछाहरु संघले नै नष्ट गर्दै आएको बताउनुभयो ।
पत्रकारले सोधेको एक जिज्ञाशामा पारी र वारी क्वारेन्टाइन प्रमाणित गरेर आएका माछाहरुमा मानव स्वास्थ्यका लागि हानीकारक मानिने फर्मालिन तत्व हुन्छ या हुँदैन रु भन्ने विषयमा आफूहरु जानकार नरहेको बताउनुभयो । उहाँका अनुसार झापाको विर्तामोडमा मात्रै दैनिक १५ क्वीन्टल माछा विक्री हुने गरेको छ ।
ब्यवसायीका अनुसार झापामा ४० प्रतिशत तम्घास र ६० प्रतिशत रहु, कमन कार्प , इलिस , ब्वालीजातको माछा विक्री हुने गरेपनि अधिकतम किसानहरुले तम्घास माछा मात्रै पालन गर्दै आएको बताइन्छ । झापाको वातावरण र पानीमा अन्य जातको माछा नफस्टाउने पनि ब्यवसायी बताउँछन् । झापामा उत्पादित माछाले कुल खपतको २० प्रतिशत मात्रै माग धान्ने ब्यवसायीको भनाइ छ । २०६४÷०६५ मा स्थापना भएको संघमा १०० सय बढी ब्यवसायी आबद्ध छन् ।




























