‘निर्वाचनका बेला पत्रकार सबैभन्दा संवेदनशिल बन्नुपर्छ’

0
229

विराटनगर ।

निर्वाचनको समयमा समाचार सम्प्रेषण गर्दा पत्रकार सबैभन्दा संवेदनशिल हुनुपर्नेमा जोड दिइएको छ ।

मोरङको विराटनगरमा मंगलबार भएको ‘फेयर मिडिया कभरेज अफ इलेक्सन्स’ विषयक कार्यशालामा मिडिया एक्सन नेपालका अध्यक्ष एवम् सञ्चार विज्ञ लक्ष्मणदत्त पन्तले पत्रकारले गलत समाचार सम्प्रेषण गर्दा समाजमा नकारात्मक असर पर्ने हुँदा यस्तो बेला पत्रकार संवेदनशील हुन जरुरी रहेको बताएका छन् ।

मिडिया एक्सन नेपालले आयोजना गरेको प्रदेशस्तरीय कार्यशालामा बोल्दै अध्यक्ष पन्तले निर्वाचनको बेला पत्रकारले निष्पक्ष र स्वतन्त्र भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताएका हुन् । प्रमुख प्रशिक्षकका रुपमा रहेका अध्यक्ष पन्तले निर्वाचनका बेला उम्मेदवार तथा राजनीतिक दलले पत्रकारलाई माध्यम बनाएर आफ्नो प्रचार गर्नसक्ने भएकाले यस्ता गतिविधिबाट बच्न पत्रकार चनाखो बन्नुपर्नेमा जोड दिए ।

उनले पत्रकारले दलको पक्ष वा विपक्षामा भन्दा पनि आफ्नो अधिकारलाई मतदान गर्नमा सिमित राख्दै पत्रकारिता पेशालाई स्वतन्त्र र निष्पक्षरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रिंयका झाले लैगिक रुपमा गरिने विभेदका बारेमा प्रकाश पार्दै सञ्चार माध्यमले महिला, बालबालिका तथा फरक क्षमता भएका ब्यक्तिको विषयलाई निर्वाचनको समयमा कस्तो स्थान दिएको छ भन्दै प्रश्न गरेकी थिइन् । उनले सञ्चार माध्यममा प्रयोग गरिने कतिपय भाषाले महिलाको अपमान गरिरहेको भन्दै त्यस्ता विषयमा चनाखो बन्न सुझाव दिइन् ।

प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहितालाई पालना गर्न आग्रह गर्दै काउन्सिलले गर्ने दण्ड र जरिवाना तथा पत्रकारमा हुनुपर्ने गोपनियताका विषयमा प्रशिक्षार्थीहरुलाई सहजिकरण गरेका थिए । उनले निर्वाचनको समयमा पत्रकार तथा सञ्चार माध्यमले आचारसंहिताको उल्लघन गर्न सक्ने भन्दै सजग गराएका थिए ।

मानव अधिकार विज्ञ यामबहादुर दुराले निर्वाचन र मानव अधिकार एक अर्काको परिपुरक भएकाले यस्तो अवस्थामा समाचार सम्प्रेषण गर्दा पत्रकार जिम्मेवार बन्नु पर्नेमा जोड दिए । उनले पत्रकारले गलत सुचना दिदाँ समाजमा नकारात्मक असर पर्ने भएकाले पत्रकार स्वयम जिम्मेवार बन्नु पर्नेमा जोड दिए । निर्वाचनका बेला मतदान स्थल अपाङ्गमैत्री भए नभएको, गर्भवती, सुत्केरी वृद्धवृद्धाका लागि सहज भए नभएको, मतदाता अपेक्षा अनुसार सहभागी भए नभएकोलगायतका विषयमा निगरानी गर्नुपर्नेमा प्रशिक्षकहरुले जोड दिएका थिए ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकाको सञ्चार शाखाकी कमला निरौलाले पत्रकारहरुलाई जिम्मेवार बनाउँदै सत्य समाचारका लागि अभिप्रेरित गरेको भन्दै मिडिया एक्सन नेपाल प्रति आभार ब्यक्त गरिन् । उनले मिडिया एक्सन नेपालका हरेक कामका लागि सञ्चार शाखाले सहजिकरण गर्ने प्रतिबद्धता समेत जनाएकी छन् ।

कार्यक्रममा प्रदेश नं.१ का झापा, मोरङ र सुनसरीका पत्रकारकको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मिडिया एक्सन नेपाल प्रदेश नं.१ का संयोजक नरेन्द्र ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here