झापामा साना दलबाटै अल्पसंख्यक उम्मेदवार बढी

0
277

पार्थ मण्डल,
झापा ।

शीर्ष नेताहरु उम्मेदवार बनेको झापा जिल्लामा ठूला राजनीतिक दलहरुबाट अल्पसंख्यक उम्मेदवारको संख्या अत्यन्त न्यून रहेको पाइएको छ ।

शीर्ष नेताहरु नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार बनेको जिल्लामा २४ जना मात्र अल्पसंख्यक उम्मेदवार रहेका छन् ।

सत्तारुढ गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रबाट एक÷एक जना मात्र अल्पसंख्यक उम्मेदवार रहेका छन् । नेकपा (एमाले) र राप्रपाबाट अल्पसंख्यक उम्मेदवार नै छैनन् । साना दलबाट अल्पसंख्यक उम्मेदवार बढी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

जिल्लामा १९२ जना उम्मेदवारमध्ये प्रतिनिधिसभा सदस्यतर्फ ८ जना र प्रदेशसभा सदस्यतर्फ १६ जना गरी २४ जना मात्र अल्पसंख्यक उम्मेदवार रहेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ झापा १मा कुनै दलबाट अल्पसंख्यक उम्मेदवार नै छैन । झापा २मा लोकतान्त्रिक समाजवादी पार्टीका श्रीनारायण राजवंशी, झापा ३ मा जनमत पार्टीका भोटलाल राजवंशी र स्वतन्त्र मनोरथ राजवंशीले उम्मेदवारी दिएका छन् ।

झापा ४मा मंगोल नेशनल अर्गनाइजेशनका दिलीप धिमाल र जनमत पार्टीका सत्यनारायण राजवंशीले उम्मेदवारी दिएका छन् । झापा ५मा लोकतान्त्रिक समाजवादी पार्टीका चन्द्रप्रसाद राजवंशी, जनमत पार्टीका भीम राजवंशी र मंगोल नेशनल अर्गनाइजेशनका सानबहादुर मेचेले उम्मेदवारी दिएका छन् ।

त्यस्तै प्रदेशसभा सदस्यतर्फ झापा १ (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका गंगालाल राजवंशी र १ (२) मा सोही पार्टीका रमा मेचेले उम्मेदवारी दिएका छन् । झापा २ (१) मंगोल नेशनल अर्गनाइजेशनका देवनारायण धिमाल, हाम्रो नेपाली पार्टीका भक्तबहादुर भुजेल र २ (२) मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनबहादुर भुजेल उम्मेदवार बनेका छन् । झापा ३ (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी, नेपाली कांग्रेस (बीपी)का अनुप राय र ३ (२) मा माओवादी केन्द्रका पूर्णसिंह राजवंशी, जनमत पार्टीका प्रदीप राजवंशी, राष्ट्रिय जनमुक्ति पार्टीका सकेन्द्र राजवंशी, लोकतान्त्रिक समाजवादी पार्टीका बैजनाथ गणेशले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी झापा ४ (१) जनमत पार्टीका गोन्धा ताजपुरिया र ४ (२) मा लोकतान्त्रिक समाजवादी पार्टीका राजकुमार राजवंशीले उम्मेदवारी दिएका छन् । झापा ५ (१)मा जनमत पार्टीका दुन्नीलाल राजवंशी, लोकतान्त्रिक समाजवादी पार्टीका सत्याकुमारी राजवंशी र ५ (२) मा लोकतान्त्रिक समाजवादी पार्टीका महेशलाल राजवंशीले उम्मेदवारी दिएका छन् ।

सरकारले सार्वजनिक गरेको अल्पसंख्यक जातिको सूचीमा शेर्पा, सोनार, घर्ती (भुजेल), कलवार, कुमाल, हजाम (ठाकुर), कानू, राजवंशी, सुनुवार, सुढी, लोहार, तत्मा (तत्वा), खत्वे, धोबी, माझी, नुनिया, कम्हार, दनुवार, चेपाङ (प्रजा), हलुवाई, राजपुत, कायस्थ, बढई, मारवाडी, सतार (सन्थाल) छन् ।

त्यसैगरी, झाँगड (धागर), बाँतर (सरदार), बरई, कहर, गनगाई, लोध, राजभर, थामी, धिमाल, भोटे, बिन, गडेरी (भेडियार), नुराङ, याक्खा, दराई, ताजपुरिया, थकाली, चिडिमार, पहरी, माली, बंगाली, छन्त्याल, डोम, कमर, बोटे, ब्रह्मु (बरामो), गाइने, जिरेल, दुरा, बादी, मेचे, लेप्चा, हलखोर लगायत अल्पसंख्यक जातिको सूचीमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here