इटहरीमा सडक मानवमुक्त बनाउने अभियान,मध्यरातमा १२ जनाको उद्धार

0
321

इटहरी।

इटहरीलाई सडक मानवमुक्त शहर बनाउने उद्देश्यले अभियान थालिएको छ । सडक मानवमुक्त शहर बनाउन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा सडक मानवको उद्धार गरिएको छ । रातको समयमा इटहरी चोक तथा गल्लीहरुमा बस्दै आएका १२ जनाको मध्यरातमा सुतिरहेकै ठाँउबाट उद्धार गरिएको हो।

इटहरीको मुख्य बजारमा दिनहुँ बिहानदेखि बालबालिका युवा तथा बृद्धसम्मका मानिस सडकमा कष्टकर जीवन यापन गरिरहेका थिए । उनीहरुलाई मेयर पौडेलले आफैँ रातभर इटहरीको गल्ली गल्लीमा पुगेर उद्धार गरेका हुन् । सडक मानवहरूलाई निरन्तर उद्धार गरिने र परिवारसँग पुनस्र्थापना गर्ने गरी अभियान थालिएको मेयर पौडेलले बताए ।

इटहरीलाई ‘सडक मानवमुक्त शहर ‘बनाउने मुख्य उद्देश्यका साथ गए राति मध्यरातसम्म इटहरीको विभिन्न स्थानबाट १२ पुरुषसहित एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । उद्धार गरिएकी महिलालाई माया घर इटहरी र पुरुषहरुलाई मानव आश्रम बिराटनगरमा पठाइएको छ ।

बालबालिकासहित सडक मानवहरु लागूऔषध सेवन गर्ने र चोरी डकैतीका घटनामा संलग्न हुने र कष्टकर जीवन यापन गर्दै आएका कारण उनीहरुलाई सुतिरहेकै ठाउँबाट उठाइएको डीएसपी खड्काले बताए । राति ८ बजेदेखि शुरु भएको अप्रेसन मध्यराति साढे १२ बजे सम्म चलेको थियो । अप्रेसनमा मेयर पौडेलसहित इटहरी–९का वडाध्यक्ष जीतेन थापा, नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, इलाका प्रहरी कार्यालय, माया घर नेपालका प्रतिनिधि, बालबालिका खोज तथा उद्धार केन्द्रका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।

यस्ता जोखिमपूर्ण तरिकाले सडकमा रहेका मानवहरू असुरक्षित त छँदैछन् आपराधिक गतिविधिमा संलग्न नहुन र बालबालिका पनि रहेकाले उनीहरूको भविष्य सुरक्षित हुन सकोस् भनेर यो अभियान अन्तर्गत उद्धार गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here