डेंगुलाई ख्याल–ख्याल नठानौं

0
358

नेपालमा प्रकोपका रुपमा फैलिरहेको डेंगुको संक्रमण मंसीरसम्म रहनसक्ने विज्ञहरुले बताएका छन् । देश नै निर्वाचनमय भइरहेका बेला सरकार, स्वास्थ्य मन्त्रालय, सम्बद्ध निकाय प्रदेश तथा स्थानीय सरकारको ध्यान डेंगुले खिच्न सकेन भने डेंगुको चाप र त्रास अझै बढ्ने निश्चित छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग प्रमुख गोकर्ण दाहालले समेत मंसीरको मध्यसम्म डेंगु संक्रमणको जोखिम अझै बढ्न सक्ने भन्दै निगरानी र सतर्कता बढाउन अनुरोध गरेका छन् । महाशाखाकै प्रतिवेदनले पनि असोज मसान्तसम्ममा देशभरि ४१ हजार सात सय त्रिचालिस जना मानिस डेंगु संक्रमित रहेको देखाएको छ । त्यस अवधिमा उनन्पचास जनाको निधन भएको छ । तीन वर्षको अन्तरालमा फैलिएको डेंगुले हरेक उमेर समूहका मानिसको स्वास्थ्यमा असर पारेको विज्ञहरुको भनाइ छ । यस आधारमा पनि डेंगु नियन्त्रण हाम्रा लागि चुनौतिको विषय हो ।

विश्वव्यापी रुपमा गरिएको अध्ययनले विश्वका चालीस करोड मानिस प्रतिवर्ष डेंगुबाट संक्रमित हुन्छन् । एडीज एजीप्टी जातको लामखुट्टेको टोकाइबाट हुने डेंगु भाइरसको जोखिमयुक्त क्षेत्रमा विश्वको आधा मानिस बस्छन् । यही लामखुट्टेले एलो फिबर, जीका भाइरस लगायत पनि सार्ने भएकाले डेंगु नियन्त्रण नै सबै जोखिमबाट जोगिने सरल उपाय हो । प्रतिरोधात्मक क्षमता कम हुने कारणले बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी डेंगुको उच्च जोखिममा रहने हुँदा उनीहरुको हेरचाह, सुरक्षा र उपचारमा विशेष ध्यान दिन विज्ञहरुले सुझाएका छन् । यसका लागि घरपरिवार मात्र होइन स्थानीय, प्रदेश तथा संघ सरकारले नै लामखुट्टे नियन्त्रणका लागि अभियान नै चलाउनु पर्दछ । सामान्यतया गर्मी मौसममा लामखुट्टेले फुल पार्ने र सोही फुलबाट बच्चा निस्किएर फैलिने र महामारीको रुप लिने विज्ञहरुको आंकलनका बीच जाडो शुरु भइसक्दा पनि संक्रमण बढ्दै गएको छ ।

यतिबेला चाडपर्वको माहोल छ । यही बीचमा आमनिर्वाचन पनि हुँदैछ । यी दुबै कारणले मानिसको भीडभाड हुन्छ, सामुहिक भेटघाट तथा आवागमन हुन्छ । त्यसै पनि शहर बजार क्षेत्रमा जनघनत्व धेरै नै हुन्छ, त्यसमाथि मानिसको बदलिएको खानपिनका शैलीले तयारी खानेकुराका खोल, प्लाष्टिकजन्य वस्तु, बिस्कुट, चाउचाउका खोल, टायर, टिनका बट्टा र फोहरले लामखुट्टेको वृद्धिमा अनुकूल वातावरण बनाइदिएको छ । त्यसका कारण पनि जाडोमा समेत लामखुट्टेको वृद्धि भइरहने र डेंगु संक्रमणको जोखिम कायम रहने तथ्यले देखाएको छ । सरकारको सम्पूर्ण ध्यान निर्वाचन केन्द्रीत हुन थालेका कारण मन्त्रालय र सम्बद्ध निकाय तथा स्थानीय सरकार समेत निर्वाचनमै रमाउन थालेका छन् । यस्तोमा स्वयम्को सचेतताले मात्र डेंगुको जोखिमबाट जोगिन सकिन्छ भन्ने बिर्सनु हुँदैन । त्यसैले चाडपर्व र निर्वाचनभन्दा पनि ‘जिउ रहे घिउ खाउँला’ भन्ने सोचेर सुरक्षित रहनेतिर ध्यान दिनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here