झापा ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्नि खरेलसहित झापाका १९ जना उम्मेदवारले आफैंलाई मतदान गर्न नपाउने भएका छन् ।
आफ्नो मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवारी रहेकाले उनीहरुले आफूलाई मतदान गर्न नपाउने भएका हुन् । आगामी मंसीर ४मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा आफैंलाई मतदान गर्न नपाउने उम्मेदवारहरुमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतासहित अक्कलबहादुर तामाङ, महेन्द्र खायामली, राजन चुडाल, रामसुफल कामती, रेश्मा चेम्जोङ, त्रिनारायण राजवंशी, युग पाठक, कृष्णगोपाल छुस्यावाग, त्रिनारायण राजवंशी, श्यामबहादुर लिम्बू, दिलीप धिमाल, राजकुमार लामा, गजेन्द्र लिम्बू, नन्दराज राई, मनोरथ राजवंशी, विक्रम कासिछवाले आफंैलाई मतदान गर्न नपाउने भएका हुन् ।
निर्वाचन आयोगले मतदाता नामावली रहेको क्षेत्रबाट मात्र मतदान गर्न पाउने व्यवस्था गरेसँगै उम्मेदवार स्वयम् आफूलाई मतदान गर्नबाट वञ्चित भएका हुन् । झापा क्षेत्र नम्वर १बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नेकपा (एमाले)का स्थायी कमिटी सदस्य खरेलको मतदाता नामावली झापा क्षेत्र नम्वर २मा छ । त्यस्तै झापा क्षेत्र नम्वर ५मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेकपा (एमाले) का अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर क्षेत्र नम्बर २मा छ । उनीहरु दुवै जनाले आफूलाई मतदान गर्न नपाउने भएका हुन् ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सिटौलाको मतदाता नामावली झापा क्षेत्र नम्वर १मा पर्ने भएकाले सिटौला आफैंले समेत आफूलाई मतदान गर्न नपाउने भएका हुन् । सिटौलाको उम्मेदवारी प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्वर ३मा रहेको छ । यस्तै झापा ५बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका युग पाठकले पनि आफूलाई मतदान गर्न पाउनेछैन् । उनको मतदाता नामावली काठमाडौं–७मा रहेको छ ।
यता प्रतिनिधिसभातर्फ झापा २ बाट उम्मेदवारी दिएका मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार अक्कलबहादुर तामाङ, झापा २बाटै उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका महेन्द्र खायामली, झापा ५बाट उम्मेदवारी दिएका पिपुल्स पार्टीका राजन चुडालले पनि आफूलाई मतदान गर्न पाउँदैनन् । तामाङको मतदाता नामावली झापा क्षेत्र नम्वर १मा छ, खायामलीको मतदाता नामावली भक्तपुर १मा र चुडालको मतदाता नामावली झापा २मा रहेको छ ।
यता प्रतिनिधिसभातर्फ नै झापा २बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा)का रामसुफल कामती, झापा–२ बाटै उम्मेदवारी दिएकी राष्ट्रिय मञ्चकी रेश्मा चेम्जोङले समेत आफूलाई मतदान गर्न पाउँदैनन् । किनकि कामतीको मतदाता नामावली झापा क्षेत्र नम्वर १मा छ भने चेम्जोङको झापा क्षेत्र नम्वर ५मा रहेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि नै झापा क्षेत्र नम्वर २बाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का त्रिनारायण राजवंशीले समेत आफूलाई मतदान गर्न नपाउने भएका छन् । उनको मतदाता नामावली झापा ४मा छ भने झापा क्षेत्र नम्वर २ बाटै स्वतन्त्र उम्मेदवार भएका राजकुमार लामाको मतदाता नामावली काठमाडौंमा रहेकाले उनले समेत आफूलाई मतदान गर्न नपाउने भएका हुन् ।
प्रतिनिधिसभातर्फ झापा क्षेत्र नम्वर ३ बाट उम्मेदवार बनेका नेपाल मजदुर किसान पार्टीका कृष्णगोपाल छुस्यावागले समेत आफूलाई मतदान गर्न पाउँदैनन् । उनको मतदाता नामावली भक्तपुर क्षेत्र नम्वर १ मा रहेको छ । यता झापा क्षेत्र नम्वर ३ बाटै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका जनमुक्तिका गजेन्द्र लिम्बूको मतदाता नामावली ताप्लेजुङमा रहेकाले उनले समेत आफूलाई मतदान गर्न पाउँदैनन् भने सोही क्षेत्रबाट उम्मेदवार रहेका जनमुक्तिकै मनोरथ राजवंशीको मतदाता नामावली झापा २मा रहेकाले उनले पनि आफूलाई मतदान गर्न नपाउने भएका हुन् ।
यता झापा क्षेत्र नम्वर ३ बाटै उम्मेदवारी दिएका मंगोल नेशनल अर्गनाइजेशनका श्यामबहादुर लिम्बूले झापा ४बाट उम्मेदवारी दिएकाले उनले पनि आफूलाई मतदान गर्न नपाउने भएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका विक्रम कासिछवा, मंगोल नेशनल अर्गनाइजेशनका दिलीप धिमालले पनि आफूलाई मतदान गर्न पाउँदैनन् । लिम्बूको मतदाता नामावली झापा १मा छ भने कासिछवालेको नामावली भक्तपुर १मा र धिमालको झापा १मा छ ।
झापा ४बाट स्वतन्त्र उम्मेदवारी दिएका नन्दराज राईले पनि आफूलाई मतदान गर्न पाउँदैनन् । उनको मतदाता नामावली सुनसरी ४ रहेको छ । पाँच निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभाका लागि ९४ जना र प्रदेशसभा सदस्यका लागि ९८ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् ।



























