राख्नु परेन निधार रित्तो

0
182

टङ्कीसिनवारी,

दिदीबहिनीको हातबाट भाइटीका लगाउन नपाएका दाजुभाइले निधार रित्तो राख्नु परेन । बुढीगङ्गा गाउँपालिका–३ को बाँसबारीमा रहेको ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रले खाली निधारका कारण हुन सक्ने नैराश्यतालाई न्यून गर्न भाइटीकाको अवसरमा बिहीबार त्यहाँ पुग्ने जोकोहीलाई भाइटीका लगाइदिने व्यवस्था मिलाएको थियो । दिदीबहिनी र दाजुभाइ नहुनेले पनि निधारमा भाइटीका थाप्न पाएका थिए ।

पुरूष मात्र नभई उल्लेख्य सङ्ख्यामा महिला पनि टीका थाप्न उप–सेवा केन्द्र पुगेका थिए । उप–सेवा केन्द्रकी सञ्चालक ब्रह्मकुमारी सत्यभामा, जुनु र रेणु दिदीले टीका थाप्न आउनेलाई सप्तरङ्गी टीका र सयपत्रीको माला लगाइ दिनुभएको थियो ।

सत्यभामा दिदीको हातबाट टीका र माला ग्रहण गर्दा कतिपय भावुक बन्नुभएको थियो । बुढीगङ्गा–१ बस्ने पर्शुराम कार्कीले आफ्नो दिदी बहिनी नहुँदा उपसेवा केन्द्रमा ब्रह्मकुमारी दिदीको हातबाट भाइटीका थाप्न वर्षमा एकपटक आउने गरेको बताउनुभयो । उहाँले विगत १० वर्षदेखि टीका थाप्न आउने गरेको र दिदी बहिनी नभएकै कारणले भने निधार रित्तो राख्नु नपरेको बताउनुुभयो ।

कार्कीले आफ्नो दिदीबहिनी नहुँदा पनि आफन्त झैँ गरेर उप–सेवा केन्द्रका दिदीको हातबाट भाइटीका लगाउन पाउँदा हर्षले विभोर हुने गरेको र नारीप्रतिको सम्मान अझै प्रगाढ बन्ने गरेको बताउनुभयो ।

ग्रामथान–२ झोराहाटका प्रशान्त राजवंशीले आफू विगत तीन वर्षदेखि ब्रह्मकुमारी दिदीको हातबाट भाइटीका ग्रहण गर्दै आएको बताउनुभयो । उहाँले भाइटीकामा टीका लगाइदिने दिदी बहिनी नहुँदा आफू निराश बन्ने गरेको बताउनु भयो । राजवंशीले ब्रह्मकुमार दिदीले भाइटीकाको दिन टीका लगाइदिने गरेको सुनेपछि टीका लगाउन यहाँ आउने गरेको बताउनुभयो ।

बुढीगङ्गा–३ बाँसबारी बस्ने अन्जना ओझाले आपूm महिला भए पनि ब्रम्हाकुमारी दिदीप्रतिको श्रद्धाका कारण भाइटीकामा पनि सप्तरङ्गी टीका लगाइ माग्न आउने गरेको बताउनुभयो । उहाँले भाइटीका खुशी, उमङ्ग र सौहर्दताको उत्सव भएकोले बीनाकुनै भेदभाव उप–सेवा केन्द्रका दिदीले टीका लगाइदिने गरेको बताउनुभयो ।

ब्रह्मकुमारी दिदी सत्यभामाले भाइटीकालाई कुनै एक जाति र धर्म विशेषसम्ममा सीमित राख्न नहुने बताउनुभयो । उहाँले दिदीबहिनी वा दाजुभाइ भएका वा नभएका जोकोहिलाई पनि आफूले भाइटीका लगाइदिने गरेको बताउनुभयो ।

दिदी सत्यभामाले आध्यात्मिक नाताले दाजुभाइ र जोकोही आउनेलाई टीका र माला लगाएर उहाँहरूको मनोकांक्षा पूरा होस् र जीवनमा सफलता प्राप्त गर्नुहोस् भनेर कामना गर्ने बताउनुभयो । वर्षदिनको अन्तरालमा सङ्घर्ष गरेर जीवनलाई अगाडि बढाउँदै गएका दाजुभाइ र दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाएर र माला पहिराएर विजयीको कामना गर्ने गरेको ब्रह्मकुमारी दिदी सत्याभामाले बताउनुभयो ।

उहाँले उप–सेवा केन्द्र परमात्माको दरबार भएकोले कसैलाई पनि यहाँ आउनबाट बन्देज नलगाइएको बताउनुभयो । दिदी सत्यभामाले भाइटीकाको दिन टीका र माला थाप्न हिन्दूमात्र नभइ अन्य धर्मावलम्बी, समूदायका महिला र पुरूष आउने गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here