महोत्तरी क्षेत्र नं ३: निर्वाचनको माहोल बढ्यो

0
328

जलेश्वर, 

महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर समेटिएको निर्वाचन क्षेत्र नं ३ मा मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पुनः महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनुभएपछि सो क्षेत्रमा निर्वाचनको माहोल ह्वात्तै बढेको छ । उहाँ यसअघि विसं २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव जित्नुभएको थियो । नेपाली कांग्रेस पार्टीमा लामो समय आवद्ध हुनुभएका हुँदा पछिल्लो समय विशेष गरी मधेस केन्द्रित राजनीतिमा लाग्नुभएको थियो ।

तत्कालीन समयमा उहाँले कांग्रेस परित्याग गर्दै आफ्नै नेतृत्वमा तराई–मधेस लोकतान्त्रिक पार्टी गठन गर्नुभएको थियो भने साविकको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगै दोस्रो मधेस आन्दोलनको नेतृत्व गर्नुभएको थियो । आठ बुँदे सम्झौतापछि विसं २०६४ को पहिलो संविधानसभा चुनावमा भने उहाँ सर्लाहीबाट पराजित हुनुभएको थियो ।

त्यस्तै २०७० को दोस्रो संविधानसभा चुनावमा पनि सर्लाही–४ बाट उहाँ पराजित हुनुभएको थियो । विसं २०७४ को निर्वाचनमा उहाँ महोत्तरी–३ बाट निर्वाचनमा होमिनुभएको थियो भने २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उहाँले १८ हजार एक सय ६९ मतको फराकिलो अन्तरले निर्वाचित हुनुभएको थियो । २६ हजार आठ सय ४५ मत ल्याएर उहाँ निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०का विजयकुमार चौधरीले आठ हजार छ सय ७६ मत तथा स्वतन्त्र उम्मेदवार चन्देश्वर झाले चार हजार २० मत मात्र ल्याउनुभएको थियो ।

उहाँलाई यसपटक जनता समाजवादी पार्टीका तर्फबाट पूर्व कृषिमन्त्री हरिनारायण यादव र एमालेबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिनुभएका रामआधार कापरले निर्वाचनमा चुनौती थप्नु भएको छ ।क्षेत्र नं ३ बाटै लोसपा नेपालका अध्यक्ष ठाकुरका सहयात्री तथा तत्कालीन तमलोपा पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका वृषेशचन्द्र लालले उम्मेदवारी दिनुभएको छ ।

महोत्तरी क्षेत्र न ३ मा ९९ हजार ९३० मतदाता छन् । स्थानीय तहको परिणामले पनि लोसपाभन्दा जसपा नै बलियो अवस्थामा रहेको देखिन्छ । यस क्षेत्रमा पाँच वटा स्थानीय तह छन् ।जलेश्वर, मनराशिसवा र मटिहानी नगरपालिका, एकडारा र पिपरा गाउँपालिकाका केही वडालाई समेटेर क्षेत्र विभाजन गरिएको छ । विसं २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ती पाँच पालिकामध्ये मटिहानीमा मात्र लोसपाले जीत हात पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here