राजेन्द्र लिङ्देनलाई जिताउन एमाले कार्यकर्तालाई ओलीको निर्देशन

0
277

झापा,
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई एमालेले आफ्नो इज्जतका लागि पनि चुनावमा जिताउनुपर्ने बताएका छन् ।
नेकपा (एमाले) र राप्रपाले शुक्रबार भद्रपुरमा संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने– ‘चुनावमा समर्थन गरेको पार्टीले जित्दैन भने एमालेको के काम ? चुनावमा उठेको उम्मेदवारले चुनाव जित्दैन भने एमालेको के काम ? त्यसैले एमालेले राप्रपा अध्यक्ष लिङ्देनलाई जिताउनुपर्छ ।’
एमाले एकथोक भन्ने अर्को थोक गर्ने पार्टी नभएको बताउँदै अध्यक्ष ओलीले भने– ‘राप्रपाको हलोलाई कसरी भोट दिने जिज्ञासा मन नराख्नुहोला ? हलोमा भोट दिएनन् भने देशद्रोहीहरू आउँछन्, उनीहरूलाई छेक्न कहिले काहीँ हलोमा पनि भोट हाल्नुपर्छ ।’ मुख्य कुरा गठबन्धनका उम्मेदवार हराउने हो । देशप्रति माया नभएका, विकासको कुनै वास्ता नभएको गठबन्धनलाई चुनावमा पराजित गर्नुपर्ने उनको भनाइ छ ।
मंसीर ४ गतेको चुनावपछि देशमा एमालेको बहुमतको सरकार बन्छ । ‘बहुमत आयो भन्दैमा एक्लै एमालेको सरकार बन्दैन’– उनले भने– ‘एमालेको साथमा राप्रपा र जसपा समेतको सरकार बन्छ ।’ त्यसपछिको सरकारमा राजेन्द्र लिङ्देन गएपछि विकास खोइ भनेर तपाईँहरूले हिसाबकिताब माग्नुहोस् । ‘सरकारमै नभएको राजेन्द्र लिङ्देनसँग तपाईँहरूले विकास खोइ भनेर के हिसाब किताब माग्नुहुन्छ, अहिलेसम्म निर्णय गरेको ठाउँमा उहाँ जानै पाउनुभएको छैन ?’– उनले भने ।
देशको विकास गर्न, देशको शान्ति सुव्यवस्था कायम गर्न, देशलाई समृद्धि र जनतालाई सुखी बनाउन सरकारमा जाने हो । ‘नत्र भने त्यहाँ निदाउन, झकाउनु जाने हो र सरकारमा, हामी त्यहाँ चनाखो भएर देशको रक्षा गर्न जाने हो’– उनले भने ।
त्यसैगरी राप्रपाका अध्यक्ष लिङ्देनले राजनीतिलाई अपराधीकरण गर्ने, रुपैयाँ र पैसाले सबैथोक गराउने, विदेशीको आशीर्वाद प्राप्त गरेपछि सबै थोक पूरा हुन्छ भन्ने जुन प्रवृत्ति छ, त्यसलाई पनि अन्तिम चोटी यस क्षेत्रमा घुँडा टेकाउनु पर्ने बताए ।
‘आज केही मानिसहरू राजेन्द्र लिङ्देनले चुनाव जितेर गएपछि यस क्षेत्रमा केही काम गरेन्, मतदाताको मत खेर गयो भन्दै मेरो दाइले गरेको भनेर ७५ वर्षको बुढो मान्छेलाई डो¥याएर हिँडिरहेका छन्’– लिङ्देनले भने– ‘२०७४ सालको निर्वाचनको बेला छापेको कागज, अहिले फेरि त्यही कागज छापेर हिँडिरहेका छन्, पाँच वर्षमा यस क्षेत्रमा गरेको विकास निर्माणको काम हार्नेले गरेको हो कि जित्नेले ?’ म चुनौतिको भाषामा भन्न चाहन्छु आमाको दूध खाएको कोही बहादुर छोरा छ । ‘र त्यो २०७४ सालभन्दा अगाडिको योजना हो भनेर प्रमाणित गर्न सक्छ भने म त्यसको झोला बोकेर हिँड्न तयार छु’– उनले भने । यहाँ त हार्नेले यस क्षेत्रमा काम गरेको भन्दै हिँडिरहेका छन् । ‘हार्नेले काम गरेको रहेछ भने १४ हजार मतले अघिल्लो चोटी हराएकोलाई यसपल्ट ४० हजार मतले हराउँछु’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here