स्थानीय कलाकारहरुको उत्कृष्ट प्रस्तुतीमा झुम्यो ज्योती बस्तीवासी

0
341

अर्जुनधारा ।

नेपालीहरुको साझा चाडपर्व शुभ दीपावलीको विदाइ र छठ पर्वको आगमनसँगै झापाको अर्जुनधारा–७स्थित ज्योती बस्तीमा शनिबार रातीको वातावरण संगीतमय भएको थियो ।

सांस्कृतिक कार्यक्रमहरुमा अनिवार्य जस्तो हुने राष्ट्रिय तथा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती विना आयोजक सिर्जना बाल युवा क्लब, अर्जुनधारा–४स्थित सूर्यज्योती अङग्रेजी आवासिय विद्यालयलगायतका स्थानीय कलाकारहरुले त्यस कार्यक्रमलाई सफल बनाउन उत्कृष्ट प्रस्तुती दिएका थिए ।

कात्तिक महिनाको चिसो सिरेटोलाई बेवास्ता गर्दै मञ्चको अग्रभागमा रहेको खुल्ला चौरमा ओछ्याइएको त्रिपालमा बसेका र उभिएका गरि सयौंको संख्यामा उपस्थित भएका बालकदेखि ज्येष्ठ सम्मका सहभागीहरुले कार्यक्रमलाई रोमाञ्चक बनाएको थियो । निर्धारीत समय ६ः३० भन्दा आधा घण्टा ढिलो सुरु भएको उक्त कार्यक्रमले समापन सम्म प्रमुख अतिथि, विशेष अतिथि, अतिथि र सहभागीहरुलाई बाँध्न सफल भएको थियो ।

गीत र नृत्यसँगै कार्यक्रम सञ्चालक सञ्चारकर्मी दीपक ढुंगानाबाट प्रस्तुत हुने गजल र क्यारीकेचरले पनि थप मनोरञ्जन दिएको थियो । माथि उल्लेख गरिएको वर्णन सिर्जना बाल युवा क्लबको आयोजनामा सम्पन्न भएको देउसीभैलो समापन एवम् सांस्कृतिक कार्यक्रमको हो ।

अन्य पनि कार्यक्रम भएको जानकारी गराउँदै एक घण्टाको लागि मात्र समय निकालेर कार्यक्रम स्थलमा पुगेका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले सोचेको भन्दा राम्रो कार्यक्रम भएको हुँदा आफूले कार्यक्रम स्थल छोड्न नसकेको प्रतिक्रिया दिए । बालबालिका र युवाहरुको संयुक्तरुपमा हित गर्ने उद्देश्यले २०७३ सालमा स्थापना भएको उक्त क्लबको विकासको लागि आफूले सधैं पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका उनले आफ्नो एक महिनाको पारिश्रमिक क्लबलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

त्यसैगरी अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, निवर्तमान वडाध्यक्ष नवराम ढुंगाना “नविन”, क्लबका सल्लाहकार केदारनाथ पराजुलीलगायतले क्लबलाई आवश्यक परेको विषयमा पहल गर्ने बताएका छन् ।

संस्था स्थापनादेखि हालसम्म बालबालिका र युवाहरुको विकासमा कार्य गर्दै आएको क्लबलाई सबैको सहयोग आवश्यक भएको क्लबकी अध्यक्ष शर्मिला न्यौपानेले बताइन् । उनले क्लबलाई बालबालिकाहरुको विभिन्न क्रियाक्लापहरु सञ्चालन गर्न मञ्च र शौचालय अति आवश्यक भएको जानकारी गराएकी थिइन् ।

अध्यक्ष न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको औचित्य सल्लाहकार सीता भट्टराईले र स्वागत मन्तव्य सहसचिव आदर्श पोखरेलले राखेका थिए । कार्यक्रममा वडा सदस्य देवकुमार राई, सामाजिक अगुवा केदारनाथ पराजुलीलगायतले मन्तव्य राखेका थिए । प्रस्तुतीः अमित खम्बू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here