मोरङकी शेर्पाले मकाउमा देउसी खेलेको भेटीले कैलालीमा सहयोग

0
199

विनोद सापकोटा,
झापा ।

वैदेशिक रोजगारका क्रममा चीनको मकाउमा रहेकी एकजना पूर्वेली चेलीले सुदूरपश्चिम प्रदेशको कैलालीका फरक क्षमता भएका मानिसलाई जाडोमा न्यानो कपडा दिएकी छन् ।

असहायको लागि सहयोगी हात ‘साहारा घर’ मा रहेका सडक मानिसलाई मकाउमा रहेमी गीता मगर शेर्पाले जाडोका न्यानो लुगा प्रदान गरेकी हुन् । साहारा घर कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा पर्छ ।

साहारा घरमा कैलालीलगायत आसपासका जिल्लामा रहेका फरक क्षमता भएका व्यक्तिलाई राखिने गरिएको छ । स्थानीय सामाजिक अभियन्ता लक्ष्मी बोगटीका अनुसार पारिवारिक कलह, मानसिक सन्तुलन गुमाएका, असहाय, एकल भएका व्यक्तिलाई साहारा घरमा ल्याएर राखिने गरिएको छ ।

यस्तै सडकमा भेटिएका बेवारिसे पनि साहारा घरमा राखिने गरिएको छ । उनीहरूका आफन्तहरू सम्पर्कमा आए जिम्मा लगाइने नआए साहारा घरले नै उनीहरूको भरणपोषण गर्ने घरका संचालक डाक्टर दलबहादुर विष्टले जानकारी दिए । ‘उनीहरूको सहारा भनेकै असहायको लागि सहयोगी हात ‘सहारा घर’ हो,’ अभियन्ता डाक्टर विष्टले भने ।

साहारा–घर २०७२ सालदेखि सामाजिक अभियन्ता डा. दलबहादुर विष्टले संचालनमा ल्याएका हुन् । समाजका बेवारिसे अबस्थामा भेटिएका व्यक्तिहरु, फरक क्षमताका कारण समाजमा अपहेलित बृद्धदेखि बालबालिकाहरुको स्याहार र संरक्षण गर्दै आएको कैलालीको साहारा–घर हाम्रो समाजमा रहेका महामानवहरुको सहयोगले चल्दै आएको डा विष्टले बताएका छन् ।

साहारा घरमा बसेका अधिकांशको आङ छोप्नको लागि लुगाफाटो र पेटभरी खान दाताले दिएको आर्थिक सहयोग र अन्नपात नै मुख्य श्रोत हो । दाताको सहयोग नभए साहारा घरले धान्न नसक्ने स्थानीय सामाजिक अभियन्ता लक्ष्मी बोगटीले जानकारी दिएकी छन् । ।

मोरङको रतुवामाई नगरपालिकाबाट करिब १० वर्षअघि वैदेशिक रोजगारका लागि मकाउ पुगेकी गीता मगर शेर्पा नेतृत्वको टिमले देउसी खेलेर संकलन गरेको भेटीले साहाराको घरमा रहेका फरक क्षमताका ८० व्यक्तिलाई जाडोमा लगाउने ज्याकेट प्रदान गरेकी हुन् । उनी लगायत ३५ जनाको टिमले ५० हजार संकलन गरेको थियो । कैलालीकी सामाजिक अभियन्ता बोगटी मार्फत साहारा घरका मानिसले जाडोमा लगाउने ज्याकेट पाएका हुन् ।

साहारा घरमा ११३ जना असमान्य क्षमता भएका व्यक्ति आश्रित छन् । उनीहरुलाई सामूहिक भोजन समेत गराइएको थियो । यसअघि पनि गीता मगर शेर्पाले झापा, मोरङ, संखुवासभा, सुनसरी लगायतका जिल्लामा रहेका अति विपन्न परिवारलाई उपचारका लागि आर्थिक सहयोग गरेकी थिइन् ।

विभिन्न चाडपर्व, आफू लगायत आफ्ना परिवारको जन्मदिन, आफन्तहरूको दिवंगत भएको दिनलाई स्मरण गर्दै समाजमा रहेका अतिविपन्न वर्गका नागरिक, फरक क्षमता भएका व्यक्तिलाई आर्थिक लगायत विभिन्न प्रकारका सहयोगहरु उनले गर्दै आएकी छन् ।

बैदेशिक रोजगारको क्रममा रहँदा आर्जन गरेको रकम मध्येको केहि प्रतिशत मातृभुमीका अति विपन्न, गरिवी र विपत्तमा परेका परिवारलाई सहयोग गर्ने ईच्छा पहिल्यै देखिको भएको उनले शेर्पाले बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here