झापा ५ मा गठबन्धन उम्मेदवारको प्रतिबद्धता–पत्र सार्वजनिक

0
271

दमक ।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर ५का उम्मेदवारहरुले आगामी निर्वाचनका लागि आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।

दमक–६ सिद्धीमार्केटस्थित गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारी, कांग्रेस समानुपातिक उम्मेदवार अईन्द्र बिक्रम केरुङ, प्रदेशसभा उम्मेदवार गगन पुरी, निवर्तमान सांसद तथा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतसहितले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्दै प्रतिधिनिसभाका उम्मेदवार डा.अधिकारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ४० वुँदे प्रतिवद्धता–पत्र सार्वजनिक गरिएको बताए । यस क्षेत्रमा रहेका समुदायिक बिद्यालयहरुको गुणस्तर सुधारका साथै यसै क्षेत्रमा मेडिकल कलेज सञ्चालन गर्ने उनले बताए । त्यसैगरी कृषिलाई आधुनिकीकरण गर्दै कृषकले उत्पादन गरेका उपजको बजारीकरण गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

त्यस्तै प्रदेशसभा (ख) का उम्मेदवार पुरीले झापाको कमल गाउँपालिकामा रहेको आदिवासी रंगशालालाई अत्याधुनिक रुपमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । त्यस ठाउँमा आदिबासी समुदायको पितृहरुको चिहान हटाइएकाले आदिवासीकै नाउँमा रंगशाला निर्माण गर्ने उनले दावी गरे ।

त्यस्तै आफ्नै अगुवाईमा भइरहेको फाल्गुनन्द मार्गको निर्माणको कामलाई पनि सम्पन्न गर्नका लागि आफूहरुलाई जिताउन उनले आग्रह गरे । यस क्षेत्रका भूमिहीनहरुको समस्या समाधानका लागि स्थानीय सरकारमा गठबन्धन निर्वाचित भएपछि काम शुरु भएको भन्दै पुरीले धनीपुर्जा वितरणको चरणमा पुगेकाले अरु ठाउँका भूमिहीनहरुको समस्या समाधानका लागि पनि आफूहरु निर्वाचित हुनै पर्ने जिकिर गरे ।

सुकुम्बासीहरुलाई सुतिरहेका ठाउँबाट कुटेर लखेट्ने, घरमा डोजर लगाउने, आदिवासीको नामै सुन्न नचाहनेहरु अहिले सुकुम्बासीलाई र आदिबासीलाई अधिकार दिन्छौं भन्दै आएको तर उनीहरुलाई जनताले चिनिसकेको भन्दै पुरीले अब नागरिकहरुले परिवर्तनका पक्षधरलाई भोट दिने उल्लेख गरे ।

कार्यक्रममा निवर्तमान सांसद महेन्द्रकुमारी लिम्बूले लोकतन्त्र जोगाउन र मुलुकको बिकासका लागि गठबन्धन गर्नु परेको बताउँदै गठबन्धनमा मतदान गर्न सबै नागरिकहरुलाई आग्रह गरिन् । आदिवासी जनजातिको अधिकार स्थापित गर्नका साथै यस क्षेत्रको समतामूलक बिकासका लागि गठबन्धनले जित्नैपर्ने उनले जोड दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here