हेमलताको एउटा प्रश्न

१९ कार्तिक २०७९, शनिबार मा प्रकाशित

नेपाली साहित्याकाशमा लघुकथा एक महत्पूर्ण विधा रहिआएको छ । यसै मेसोमा एउटा चोटिलो र रोचक लघुकथा सिर्जना भएको छ । त्यो हो ‘हेमलता उप्रेती’को सिर्जना ‘एउटा प्रश्न’ लघुकथा संग्रह । प्रस्तुत लघुकथाका विशेषताबारे विभिन्न विद्वान साहित्यकारहरुका विचारबाट जानौ ।

‘हेमलता उप्रेती लघुकथा सिर्जनाको माध्यमबाट नेपाली साहित्यमा छिटै उज्यालो बनेर छिटै अस्ताएकी स्रष्टा हुन् । नश्वर शरीरले यस धरामा नरहे पनि साहित्य संसारमा कहिले नअस्ताउने बनेका छन् । स्रष्टा बाँच्ने भनेकै सिर्जनामा हो । शरीरले, सम्पत्तिले, पदले र प्रतिष्ठाले बाँच्ने भनेको जीवनभरि मात्र हो । लघुकथाकार हेमलता उप्रेतीले लघुकथा क्षेत्रमा जे कमाएका छन् त्यो कहिले नघट्ने र नहराउने प्राप्ति हो । उनका दुईवटा लघुकथा संग्रह प्रकाशनमा आए । जुन उनी आफैले हेर्न पाइनन् । उनकै स्मृतिमा दुईवटा पुरस्कार सम्मानको स्थापना भएका छन् । आफ्नै नामका कृति र सम्मानलाई पनि उनले प्रत्यक्ष अनुभव गर्न पाइनन् । आफू नभएपछिका दिनहरुमा अक्षरले र प्रतिष्ठाले बाँच्नु सानो कमाइ होइन जीवनको । बाँच्नुको सार्थकता भने कैै यस्तै हो सायद ।’ –श्रीओम ‘श्रेष्ठ रोदन’ ।

‘हेमलता उप्रेती आफ्नो जीवनको कमै समयमा लघुकथा लेखनमा स्थापित भइन् । उनका रचनामा मानिसका चिन्तनगत प्रवृत्तिको प्रस्तुतिका साथै समकालीन समाजका विकृत परिवेशप्रति आलोचना एवम् व्यंग्य पाइन्छ । उनका लघुकथामा समाजमा रहेका गलत चिन्तन एवम् प्रवृत्तिका कारण असल पक्ष अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरिएको छ । नारी पुरुष सम्बन्धले पारेको सामाजिक प्रभाव, पारिवारिक जीवनका घटना, मानिसमा रहेको संवेदनाको प्रस्तुतिका कारण उनका लघुकथा पठनयोग्य छन् । मानवीय पात्रका साथै अमानवेत्तर पात्र एवम् वनस्पति पात्रका माध्यमबाट मानवीय विकृतिको आलोचना गरेकी छिन् । उनका लघुकथा कुशल संवाद संयोजनका दृष्टिले पठन योग्य छन् । नेपाली लघुकथामा उनको योगदान स्मरण योग्य छ ।’ – डा. पुस्करराज भट्ट ।

‘मान्छेले सिर्जना गरेको यो समाजमा तिमीले प्रश्नैप्रश्न देख्यौ । प्रश्नैप्रश्न भोग्यौ । प्रश्नै प्रश्न अनुभूत ग¥यौ । मनमनै उत्तरहरु खोजिरह्यौ । तिमी आफू शिक्षक थियौ र त नेपाली समाजको शैक्षिक जगतसँग सम्बन्धित प्रश्न देख्यौ । अदालतका प्रश्न, न्यायका प्रश्न, रोजगारीका प्रश्न, समाजभित्रका असङ्गतिका प्रश्न देख्यौ । भोग्यौ । संस्कृतिका नाममा आएको तिहारभित्र व्यापारका प्रश्न देख्यौ । कति प्रश्नहरु पात्रमान्छेको निर्माण गरेर अभिव्यक्त ग¥यौ । कति प्रश्नहरु भन्न स्वैर कल्पनालाई अघि सा¥यौ । लोग्ने–स्वास्नीका सम्बन्ध तथा समग्र परिवारका सम्बन्धका बारेमा प्रश्न उठायौ । सुखका प्रश्न, दुःखका प्रश्न, प्रश्न माथि फेरि प्रतिप्रश्न, अप्राप्तीका प्रश्न, प्राप्तिका प्रश्न, भगवानका प्रश्न, पाप पुण्यका प्रश्न, सामाजिक सांस्कृतिक प्रश्न जस्ता कैयौं प्रश्नैप्रश्नको भकारी बनाएर गयौ तर भन्यौ एउटा प्रश्न ।’ –खेमराज पोखरेल ।

‘आज हेमलताको दोस्रो कृति प्रकाशन भएको देख्ता मेरो एक्लो सन्तान अमर भएको अनुभूति भएको छ । हर्षका अश्रुधारा बगेका छन्, तर यो अपार हर्षको क्षणसँगै बसेर हाँस्न निष्ठुरी दैवले दिएन । जीवनका अनेक उकाली ओरालीहरुमा संघर्ष गर्दै वृद्ध अवस्थामा पुगेका हामीलाई साथ र सहयोगको आवश्यकता पर्ने बेलामा, आधा बाटो न छिचोल्दै ब्रम्हलोक बिराजमान हुँदा मुटु मिचेर बाँच्न विवश छौं ।

आज दोस्रो कृतिका लागि केही लेख्न पाउँदा र ममता (मेरा लागि पुष्पलता)लाई प्रेरणाको रुपमा, काखमा पाउँदा पीडामा मलम लागेको छ । हेमलता, मेरालागि एक्लो सन्तान मात्र नभएर, प्रेरणाको स्रोत, आदर्श गुरु र कुशल मार्ग निर्देशकसम्म थिइन् । उनैको आग्रहले म आज साहित्यका क, ख सिक्ने क्रममा छु । तर, विधिको बिडम्बना, एउटा फूल झर्नासाथ अर्को खुश्बुदार फूल फक्रिएको पाउँदा भगवानलाई आभार व्यक्त गर्दछु । हेमलताका अधुरा इच्छा र आकांक्षाहरुलाई मूर्तरुप दिन कान्छी छोरी ममताबाट जुन सक्रियता र प्रयास भइरहेको छ, त्यसका लागि ममता मृदुललाई कृतज्ञता अर्पण गर्दछु ।’ – विष्णुप्रसाद उप्रेती ।

यस कृतिभित्र नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुल र राजेन्द्र कुँवरका विचारहरु पनि समेटिएका छन् । अक्कल, आमाको लौरो, एउटा प्रश्न, कहिले जाने ? छाता, डमी, तित्रो, परिणती, पुरानो साथी, बुझाई, मरेको सहर, मृत्यु सन्देश, ल्यापटप, सासूआमा, स्वस्थानीको किताबसहित ८८ वटा लघुकथा समेटिएका छन् यस कृतिमा ।

ल्यापटप शीर्षकको लघुकथा पढौं, ‘ल कुरा पक्का भयो है त । आजदेखि स्कूलबाट आएर पहिला होमवर्क सकाउने । अनि म ल्यापटप दिन्छु । १० बजेपछि मलाई ल्यापटप फिर्ता गरेर सुत्ने । हुन्छ अबदेखि त्यसै गर्ने । हामी आमा छोराको सहमति भयो । छोरो सहमत भएकोमा दंग थिएँ । कम्तीमा उसलाई होमवर्क गर्ने र रातभर ल्यापटपमा गेम खेलेर बस्न नदिने योजनामा सफल भएको अनुभूति भएको थियो । आठ कक्षामा पढ्ने छोरो घरमा भएको ल्यापटपमा गेम खेल्नमा दिनदिनै लागू भएर रातभर सुत्न र होमवर्क समेत गर्न छोडेपछि उसको र मेरो बीचमा शुरु भएको द्वन्द्व समाधानको त्यही उपाय सर्वोत्तम ठानेको थिएँ मैले । सहमति अनुसार काम हुन थाल्यो । दश बसे रातिसम्म पर्खेर बस्नु परे पनि म पर्खन थालेँ । १० बजेपछि ऊ ल्यापटप व्यागमा हालेर मलाई ल्याएर दिन्थ्यो । म त्यसलाई दराजमा राखेर चाबी लगाएर सुत्ने गर्थेँ । ऊ पनि आफ्नो कोठामा गई सुत्थ्यो ।

यस प्रकार रुटिङ लागू भएको तीन हप्ता जति भएको थियो । एकदिन राति १२ बजेतिर मलाई शौच जानुपर्ने भयो । बाहिर निस्कँदा छोराको बन्द कोठामा झ्यालको च्यापबाट मधुरो बत्ती बलेको देखेँ । विचार गरेँ । कान थापेर सुनेँ । मधुरो प्रकाश साथै मधुरो आवाज पनि आएको थियो । मलाई शंका लाग्यो । आफ्नो कोठामा फर्केर आई अघि उसले राख्न दिएको ल्यापटपको ब्याग दराजबाट निकालेँ । अनि च्यान खोली हेरेको त ब्यागमा ठ्याक्कै ल्यापटप जत्रै साइजको काठको टुक्रो पो राखेको रहेछ ।’ हेमलताका कृति यस्तै–यस्तै लघुकथाले भरिएका छन् ।
लघु कथाकार हेमलताको पहिलो प्रकाशित लेखः यसरी गर्न सकिन्छ गोडमेल, शिक्षक मासिक २०६८ । पहिलो लघुकथा ः कोरोना आइरहोस् लघुकथा २०७६, कमलको फूल, लघुकथा २०७८ । पुरस्कार ः अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता, तृतीय स्थान, २०७७ ।

नारी स्रष्टा समाज बिराटनगरद्वारा २०७९ मा प्रकाशित यस ‘एउटा प्रश्न’ कृतिका लघुकथाहरु साह्रै उत्कृष्ट र घत लाग्दा छन् र छन् समाजका लागि मागदर्शक । लघुकथाकार हेमलता उप्रेतीले के प्रश्न गरिन् ? त्यो पढ्ने जिम्मा पाठक वर्गमा ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here