यी दुई कारणले पोखरेलले एमाले छोडे

0
241

सुरुङ्गा ।

नेकपा एमालेका कनकाई वडा नं. १ का इञ्चार्ज दधिराम पोखरेलले पार्टी परित्याग गरेका छन् ।

२०४७ सालदेखि एमालेको पार्टी राजनीतिमा सक्रिय रहेका ६० वर्षीय पोखरेलले एमाले पार्टीमा गुटबन्दी झाँगिदै गएको र लोकतन्त्रविरोधी शक्तिसँग पार्टीको गठजोड गरेको आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् ।

उनले जामुनखाडी सिमसारस्थित सांस्कृतिक भवनमा पत्रकार भेटघाटको आयोजना गरी पार्टीमा विचार, नीति, विधि भन्दा गुटको राजनीति हावी भएकाले पार्टी छाडेको बताए । ‘कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने बन्नका लागि पार्टी त्यागेको हुुँ’, उनले भने, ‘पार्टीले सेतोलाई कालोभन्दा कालै भन्नुपर्ने अवस्था विद्यमान छ ।’ उनले आफू पदको भोको नभएको तर नीति र पद्धतिको पक्षमा रहेको बताए ।

एमालेमा असल कार्यकर्ताको मूल्याङ्कन नहुने, आर्थिक अवस्था कमजोर भएका कार्यकर्तालाई नगन्ने, नेतृत्व गर्न सक्नेलाई लखेट्ने र नवप्रवेशीलाई मात्र मौका दिने भएकाले पार्टीमा बस्न र काम गर्न नसक्ने अवस्था भएकाले पार्टी त्यागेको पोखरेलको भनाइ छ ।

विगतमा निर्वाचित जनप्रतिनिधिसमेत रहेका पोखरेल यस अघि २०५४ सालमा एमाले विभाजनका बेला वामदेव गौतम र सीपी मैनालीले नेतृत्व गरेको नेकपा मालेतर्फ लागेका थिए । एमाले र मालेमा रहँदा पार्टीको एक असल सङ्गठकको रूपमा सदैव पार्टी विस्तारमा लागेको उनले बताए । गत स्थानीय चुनावदेखि नै पोखरेल एमाले स्थानीय नेतृत्वसँग असन्तुष्ट थिए ।

अब कुन दलमा प्रवेश गर्ने भन्ने प्रश्नमा पोखरेलले भने, ‘आफू कुनै दलमा प्रवेश गरेको नभई एमाले त्यागेर स्वतन्त्र मात्र भएको हुँ ।’ १८ वर्षको उमेरदेखि वामपन्थी रुझान आफूमा विकास भएको बताउँदै आफ्नो परिवार र वातावरण कम्युनिष्ट भएको उनको भनाइ छ । आफूले एमाले छोडे पनि वामपन्थी विचार नत्यागेको भन्दै जनताको पक्षमा काम गर्ने र सुशासनको पक्षमा उभिने दल तथा उम्मेदवारलाई आफ्नो समर्थन रहने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here